दमक, २० साउन । झापाको दमक र पूर्वी मोरङको पथरी शनिश्चरेका शिविरमा बस्दैआएका करीब तीन हजार भुटानी शरणार्थीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । स्थानीय स्वास्थ्य शाखामार्फत दुई शिविरका १८ वर्ष माथिका करीब तीन हजार शरणार्थीलाई जोन्सन खोप दिइएको हो । नेपाल सरकार र शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायोग (यूएनएचसिआर) को समन्वय तथा त्यहाँका शरणार्थी व्यवस्थापन समितिको व्यवस्थापनमा एकैसाथ खोप लगाइएको शनिश्चरेस्थित शिविर व्यवस्थापन समितिका सचिव चम्पासिंह राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार पथरी शिविरमा कूल एक हजार ५०० भुटानी शरणार्थीमध्ये ८५६ र दमकको बेलडाँगीस्थित शिविरका दुई हजार ३०७ शरणार्थीलाई खोप लगाइएको हो । खोपकार्यको अनुगमनमा दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी, दातृ संस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । चार महिनाअघि निकालिएको तथ्याङ्कअनुसार झापा र मोरङमा कूल छ हजार ५०० भुटानी शरणार्थी बसोबास गरिरहेका बेलडाँगी शिविर व्यवस्थान समितिका सहसचिव टिबी राईले बताउनुभयो ।
महामारी नियन्त्रणमा रु ४१ लाख सहयोग जुट्यो
दमक उद्योग वाणिज्य सङ्घले सञ्चालन गरेको कोरोना महामारी नियन्त्रण अभियानअन्तर्गत करीब रु ४१ लाख ७५ हजार सहयोग जुटाएको छ । सङ्घको अगुवाइमा सञ्चालन गरिएको महामारी नियन्त्रण अभियानले अत्याधुनिक भेन्टिलेटरसहित विभिन्न स्वास्थ्य उपकरण खरीदका लागि सो सहयोग जुटाइएको अध्यक्ष गोकुल श्रेष्ठले बताउनुभयो ।
सङ्घले आज पत्रकार सम्मेलन गरी निजी क्षेत्रका सङ्घ संस्था र व्यक्तिको सहकार्यमा सहयोग जुटाएर विभिन्न स्वास्थ्य उपकरण खरीद गरी ल्याइसकिएको उहाँले बताउनुभयो । सहयोग जुटाउन सङ्घका पूर्व अध्यक्ष प्रकाश प्रसाइँको संयोजकत्वमा कोरोना महामारी नियन्त्रण अभियान गठन गरिएको थियो । अभियानका संयोजक प्रसाइँले दमकमा कोरोनाको महामारी नियन्त्रणका लागि निजी क्षेत्रका तर्पmबाट सहयोग पुगोस् भनेर विभिन्न व्यक्ति तथा संस्था, लायन्स क्लबसँगको सहकार्यमा सहयोग प्राप्त भएको थियो । रासस
यो पनि –भेरोसेलको दोस्रो मात्रा यही साउन २२ गते शुक्रबारदेखि
काठमाडौँ, २० साउन । सरकारले कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्रा आगामी शुक्रबार (यही साउन २२ गते) देखि सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलेको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी शुक्रबारदेखि लगाउने निर्णय गरेको हो । गत असार २९ गतेदेखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई लगाउन थालिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ । पहिलो मात्रा लगाएको २१ दिन पुगेका सबैलाई दोस्रो मात्राको खोप दिन थालिएको हो । आफूलाई पायक पर्ने काठमाडौँ जिल्लाका ४२ वटा खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरिएको छ । काठमाडौँ महानगरपालिकामा ३२ वडा र अन्य नगरपालिकाका १० खोप केन्द्र रहेका छन् । मन्त्रालयले खोप लगाउन बाँकी भएका व्यक्तिलाई मन्त्रालयको वेबसाइट धधध।खबअअष्लभ।mयजउ।नयख।लउ मा गएर दर्ता गर्नसमेत आग्रह गरेको छ । अहिलेसम्म नेपालमा करिब ९७ लाख खोप आइसकेको छ भने २० लाख दुई हजार ७०३ पूर्ण र ४२ लाख ५४ हजार ५४० पहिलो मात्रा खोप लगाइसकेका छन् । रासस
प्रतिक्रिया