महिलाको नाममा जग्गा नामसारी गर्ने बढे

महिलाको नाममा जग्गा नामसारी गर्ने बढे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्लामा महिलाको नाममा जग्गा नामसारी गर्नेको सङ्ख्या बढेको छ । मालपोत कार्यालय जुम्लाका अनुसार गत आर्थिक वर्षमा २६३ जना महिलाको नाममा जग्गा नामसारी भएको कार्यालय प्रमुख नरेन्द्रबहादुर रोकायाले बताउनुभयो । सो नाममा रु १३ लाख ३८ हजार ९९९ राजश्वमा छुट दिइएको छ । चन्दननाथ नगरपालिकाभित्रका ११८ महिलालाई २५ प्रतिशत र स्थानीय तहका १४५ महिलालाई ५० प्रतिशत रकम राजस्वमा छुट दिएको कार्यालय प्रमुख रोकायाले बताउनुभयो । राजस्व कम लाग्ने भएकाले महिलाको नाममा जग्गा नामसारी गर्नेको सङ्ख्या बढेको छ ।

दलितले जग्गा नामसारी गर्दा २५ प्रतिशत राजस्वमा छुट दिइएको छ । अपाङ्गता भएका व्यक्ति र वृद्धलाई २५ प्रतिशत राजस्वमा छुट दिएको कार्यालय प्रमुख रोकायाले बताउनुभयो । सो कार्यालयमा हुने भीडलाई मध्यनजर गर्दे टोकन प्रणाली लागू गरेबाट सेवा प्रवाहमा सहज भएको कार्यालयले जनाएको छ । टोकन प्रणालीबाट सेवा उपलब्ध हुने दिन तोकिएको हुनाले काम नहुने दिनमा सेवाग्राहीलाई आउन नपर्ने कार्यालयले जनाएको छ । टोकन प्रणाली लागू भएबाट जग्गा नामसारी प्राविधिक समस्या नभएमा एकै दिनमा लालपूर्जा दिने गरिएको छ । मालपोत कार्यालय भनेको समयमै सेवा पाइदैन र काममा ढिल्लासुस्ती हुन्छ भन्ने भ्रमलाई चिर्नको लागि टोकन प्रणाली लागू गरिएको मालपोत कार्यालय जुम्लाले जनाएको छ ।

मालपोत कार्यालय जुम्लाले गएको आर्थिक वर्ष २०७७÷७८ मा रु एक करोड ९१ लाख ९६ हजार २३५ राजस्व सङ्कलन गरेको छ । जग्गा नामसारी, संशोधन, रोक्का, अंशवण्डालगायतका विभिन्न शीर्षकमा राजस्व सङ्कलन भएको कार्यालयले गरेको छ । सङ्कलन भएको राजस्वमध्ये ४० प्रतिशत प्रदेशमा र ६० प्रतिशत राजस्व कारोवार भएको स्थानीय तहको खातामा जम्मा हुने गरेको मालपोत कार्यालय जुम्लाले जनाएको छ ।

आलुखेतीमा आकर्षण

यहाँको कनकासुन्दरी गाउँपालिकाका महिला पछिल्लो समयमा आलुखेतीप्रति आकार्षित हुँदै गएका छन् । सो गाउँपालिका– ७ की जुना कार्की पछिल्लो समय आलुखेतीमा निकै हौसिएकी छिन । आलु पहिलेदेखि लगाउने भए पनि परम्परागतविधि अनुसारको खेती हुने भएकोले खासै फाइदा थिएन । रोगकीराबाट जोगाउनु र उत्पादित आलु बजारसम्म लैजानु मुख्य चुनौती रहेकोमा अहिले बजार वृद्धि भएसँगै आलुले राम्रो स्थान पाएको बताइएको छ ।

सोही गाउँकी मुना कार्की आलुखेती आम्दानीको राम्रो स्रोत भएको बताउनुहुन्छ । कारितास जर्मनी र कारितास नेपालको आर्थिक सहयोगमा पेस नेपालको साँझेदारीमा गाउँमै आलुबाली किसान पाठशाला सञ्चालन भएपछि यहाँका स्थानीयवासी आलुखेतीमा आकर्षित भएका छन् । एकीकृत खाद्य सुरक्षा विपद् जोखिम न्यूनीकरण जलवायु अनुकूलन परियोजनाले महादेव आलुबाली किसान पाठशाला चलाएर किसानलाई आलु खेतीको महत्व र आवश्यकताका विषयमा कक्षा सञ्चालन गरेको पेश नेपालले जनाएको छ । पाँच वर्गमिटर जग्गामा आलुखेती गरेर अनुसन्धान गरिएको पेश नेपाल जुम्लाले जनाएको छ । –––रासस