लगातारको वर्षाले तुम्कोट गाउँमा पहिरो

लगातारको वर्षाले तुम्कोट गाउँमा पहिरो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

केही दिनदेखि परेको अविरल वर्षाले हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ स्थित तुम्कोट गाउँमा पहिरो गएको छ । तुम्कोटमा गाउँमाथि आएको पहिरोले सिँचाइ, खानेपानी र होटेल बगाएको छ । मङ्गलबार राति २ बजे आएको आएको भीषण वर्षापछिको बाढी पहिरोले तुम्कोट गाउँमा नजिकैको खेतबारी, होटेल, सिँचाइ कुलो र खानेपानीको पाइप बगाएको हो ।

भीषण वर्षाले माथिबाट पहिरो आउँदा ५०० मिटर लामो खोलामा बनाइएको कुलो बगाएको छ भने अन्य ठाउँमा कुलो क्षतविक्षत बनाएको छ । पहिरोले कुलो बगाउँदा ५०० रोपनी खेतबारी र बाँझो जग्गासमेत नरहेको तुम्कोट गाउँ निवासी छेम्जोक दोर्जे लामा जानकारी दिनुभयो । उहाँका अनुसार धेरै समय अगाडि बनाएको सिँचाइ कुलो अहिलेसम्म केही पनि भएको थिएन । एक्कासि ठूलो पानीसँगै पहिरो आउँदा मुहानमा रहेको पाइपसमेत बगाउँदा खानेपानीको समस्या भएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकका लागि खोलिएको होटलसमेत बाढीपहिरोले बगाएको स्थानीयवासी लेण्डो मिग्युर लामा बताउनुभयो । खेतबारीमा लगाएको अन्नबाली बगाएको तुम्कोट गाउँका हिसे पाल्मो लामाले बताउनुभयो । गाउँनै भोकमरी पर्ने सक्ने भन्दै त्यसका लागि सक्दो पहल गरिने नेपाल रेडक्रस शाखा हुम्लाका मन्त्री तथा नेपाल अस्ट्रिया साझेदारी संस्थाका संयोजनक छेपाल दोर्जे लामाले बताउनुभयो ।

यो पनि – बैतडीमा जङ्गली बँदेलका लागि छाडिएको करेन्ट करेन्ट लागेर दाजुभाइको मृत्यु

बैतडी, २१ साउन (रासस) : जङ्गली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् ।

बुधबार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जङ्गली बँदेलका लागि छाडिएको बिजुलीको तारबाट करेन्ट लागेर दुवैको मृत्यु भएको बैतडीका प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जङ्गली बँदेल मार्नका लागि मकैबारीमा करेन्ट छाडिएको रहेछ, उनीहरु बँदेल धपाउन मकैबारी गएका बेला करेन्ट लागेको भन्ने बुझिएको छ ।” करेन्ट लाग्ने बित्तिकै दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवै सहोदर दाजुभाइ हुन् ।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घटनास्थलतर्फ खटाइएको छ । जिल्लाका सबैजसो स्थानमा लगाइएको मकैबाली जङ्गली जनावरले नष्ट गर्न थालेकाले किसानलाई मकैबाली जोगाउन धौधौ परेको छ ।

यो पनि – वन्यजन्तुको संरक्षण हुँदा कृषि उत्पादनमा कमी

डडेल्धुरा, २१ साउन (रासस) : डडेल्धुरा जिल्ला वन्यजन्तु चोरी शिकारी कम भएर वन्यजन्तुको संरक्षण भए पनि कृषि उत्पादन भने घट्दै गएको छ । नजिकैको संरक्षण क्षेत्रबाट आउने जङ्गली जनावरले खेतीपाती नष्ट गर्न थालेपछि किसान कृषि पेशाबाट विस्थापित हुँदै गएका हुन् । जिल्लाको अमरगढी नगरपालिका–१ र जिल्ला सदरमुकामका विभिन्न वडामा फैलिएको ऋषि खोला सामुदायिक वन संरक्षण भएसँगै वन्यजन्तुको सङ्ख्यामा पनि वृद्धि हुँदै गएपछि यस क्षेत्रका स्थानीय बासिन्दाले कृषिजन्य उत्पादनलाई छोड्दै गएका हुन् ।

जिल्लाको अजयमेरु गाउँपालिका, नवदुर्गा गाउँपालिका तथा भागेश्वर गाउँपालिका किसानले खेतीपातीभन्दा पनि अन्य कााम गर्ने थालेको स्थानीयवासी दिलबहादुर ताम्राकारले बताउनुभयो । “खेतीपाती लगाएर के गर्नु, आफूले त्यसको उपभोग गर्न पाउँदैनौँ”, उहाँले भन्नुभयो । वन्यजन्तुले खेतबारीमा लाएको अन्न तथा तरकारी सबै नष्ट गर्न थालेपछि अहिले धेरै किसान कृषिखेतीबाट विस्थापित हुँदै गएको उहाँले बताउनुभयो ।

पछिल्लो समय वन्यजन्तु संरक्षण हुँदै गएपछि बँदेललगायतका अन्य जनावरको बथानले बालीनाली सखाप पार्न थालेको अजयमेरु–१ का रमेश दमाईले बताउनुभयो । जङ्गली जनावरले क्षति नहुने अवस्थाको अध्ययन र पहिचान गरी उक्त कृषि बाली लगाउने योजनामा अगाडि बढिरहेको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले बताउनुभयो । यस्तै वन्यजन्तुले खेतीपाती सखाप पार्ने थालेपछि तारबार लगाइएको अमरगढी–६ का वडाध्यक्ष गोविन्दराजन भट्टले बताउनुभयो ।