स्थलगत अध्ययन गर्न टोली भारतीय बाटो हुँदै गस्कु प्रस्थान

स्थलगत अध्ययन गर्न टोली भारतीय बाटो हुँदै गस्कु प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुला पुगेको गृहमन्त्रालयको छानबिन समितिको टोली स्थलगत अध्ययनका लागि भारतीय बाटो हुँदै गस्कु मालघाट गएको छ । मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली आज बिहान भारतीय बाटो हुँदै स्थलगत अध्ययनको लागि गएको हो ।

जयसिंह धामी बेपत्ता प्रकरणमा सूक्ष्म ढङ्गले अध्ययन गरेरै प्रतिवेदन आउने उल्लेख गर्नुभएका गौतमले घटनास्थल पुगेर त्यहाँको वस्तुस्थिति ल्याइने बताउनुभएको छ । यस्तै समितिले भारतीय एसएसबी र स्थानीयवासीले भारतीय प्रहरी थानामा दिएको उजुरीको सम्बन्धमा पनि जानकारी लिने जनाएको छ । गत साउन १५ गते व्यास गाउँपालिका–२ का मालका जयसिंह धामी सदरमुकाम खलङ्गामा महाकाली नदीमा बेपत्ता भएका थिए । भारतीय एसएसबीले तुइन तर्ने क्रममा तुइनको तार फुकालिदिँदा घटना घटेको समाचार आएसँगै घटनाबारे अध्ययन गर्न छानबिन समिति दार्चुला पुगेको हो । बेपत्ता धामी अझै फेला परेका छैनन् ।

बुधबार जिल्लास्थित पत्रकार, मानवअधिकारकर्मी, राजनीतिक दल र व्यास गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल गरेपछि टोली आज गस्कु गएको हो । नेपाल–भारत जोड्ने तुइन लगाएको स्थानीय क्षेत्रको टोलीले अवलोकन गर्नेछ । टोलीलाई १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउन भनिएको छ । समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट सदस्य हुनुहुन्छ । भारतीय प्रशासनले एसएसबीले गस्ती गरेको स्वीकार गरे पनि तुइन नकाटेको दाबी गरेको छ । छानबिन समितिको प्रतिवेदनअनुसार मात्रै सरकारले आवश्यक निर्णय लिने जनाएको छ ।

यो पनि – दार्चुला पुगेको छानबिन समितिले छलफल गर्दै

जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ । मङ्गलबार दार्चुला पुगेको समितिले साँझ जिल्लास्थित सुरक्षा निकाय र घटनास्थलमा खटिएको सुरक्षाकर्मीसँग छलफल गरेको हो । गृह मन्त्रालयले घटनाबारे छानबिन गर्न मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठन गरेको समिति दार्चुला पुगेर निरन्तर छलफलमा जुटेको छ । समितिले घटनास्थलमा खटिएका सुरक्षाकर्मी तथा जिल्लास्थित सुरक्षाकर्मीसँग छलफल सकेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट घटना सम्बन्धमा वास्तविक सत्यतथ्य छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल नं ४४ गणका प्रहरी नायब उपरीक्षक वीरसिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्द र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका विक्रमसिंह ढाँडसहितको टोली स्थलगत खटिएको थियो ।

यस्तै समितिले बुधबार जिल्लास्थित पत्रकार, मानवअधिकारकर्मी, राजनीतिक दल र जनप्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम रहेको सहसचिव गौतमले जानकारी दिनुभयो । यस्तै समितिले प्रत्यक्षदर्शीसँग सोधपुछ गरिरहेको छ ।टोलीलाई १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउन भनिएको छ । समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्नता भट्ट सदस्य रहनुभएको छ ।

नेपाली भूभागबाट भारत प्रवेश गर्न लागेका बेला भारतीय सीमा सुरक्षा बल एसएसबीका दुई जवानले तुइन फुकालिदिएको र धामी महाकाली नदीमा खसेको प्रत्यक्षदर्शीले बताउँदै आएका छन् । यद्यपि भारतीय प्रशासनले एसएसबीले गस्ती गरेको स्वीकार गरे पनि तुइन नकाटेको दाबी गरेको छ । छानबिन समितिको प्रतिवेदनअनुसार मात्रै सरकारले आवश्यक निर्णय लिने जनाएको छ ।उक्त टोलीले घटनाका प्रत्यक्षदर्शीहरू कल्यानसिंह धामी, अनिता धामी, विक्रम रङ्कोलीलाई खलङ्गा पु¥याएका छन् । प्रत्यक्षदर्शीलाई सोमबारदेखि प्रहरीको निगरानीमा राखिएको छ । उनीहरुलाई पत्रकारसँग भेटघाट गर्न दिइएको छैन । जयसिंह धामी साउन १५ गते गाउँबाट सदरमुकाम खलङ्गा आउने क्रममा एसएसबीले तुइन फुकालिदिँदा बेपत्ता भएको स्थानीयवासीको भनाइ छ । बेपत्ता धामीको शव अझै भेटिएको छैन ।

यो पनि – दार्चुला घटनाबारे छानबिन होस्–सांसद

प्रतिनिधिसभाका सांसदहरुले दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ मालघाटमा भएको घटनाबारे छानबिन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले दार्चुला घटनाका दोषी भारतीय एसएसबीलाई कारवाही गर्नुपर्ने र मृतकका आफन्तलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।

सांसद विमला नेपालीले भन्नुभयो, “दार्चुला जिल्लाको महाकाली नदी तर्ने क्रममा तुइन काटिदिँदा जयसिंह धामी बेपत्ता भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराउन चाहान्छु, घटनाबारे सत्यतथ्य छनबिन गर्न समेत माग गर्दछु ।” यही साउन १५ गते दार्चुलाको मालघाटमा महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको बताइएको छ ।सांसद विमला विकले बर्दिया जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोका कारण पुल भत्किएकोबारे सरकारको ध्यानाकषर्ण गराउँदै सो पुलको पुनःनिर्माणका लागि आग्रह गर्नुभयो । सांसद वृजेषकुमार गुप्ताले भैरहवादेखि कपिलवस्तुसम्मको बाटो निर्माण भएको ६ महिनामै भत्किएको बताउँदै ठेकेदारलाई कारवाही गर्नुपर्ने माग गर्नुभयो ।

सांसद भरतकुमार शाहले नागरिकतासम्बन्धी विधेयकलाई जतिसक्दो चाँडो अगाडि बढाउन अनुरोध गर्नुभयो । सांसद भीमसेनदास प्रधानले वैदेशिक रोजगारीमा जाने नेपालीलाई कोरोना खोपको व्यवस्था गर्न माग गर्नुभयो ।  सांसद भूमिप्रसाद त्रिपाठीले दार्चुला घटना अमानवीय घटना भएको जनाउँदै कारवाहीको माग गर्नुभयो । सांसद महेश बस्नेतले कोभिड विरुद्धको खोपलाई व्यवस्थित गर्नुपर्नेलगायत जनताका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद महेश्वर गहतराजले दार्चुलामा भारतीय सेनाद्वारा गरिएको अमानवीय व्यवहारको विरोध गर्नुभयो ।

सांसद मायादेवी न्यौपानेले मनाङ जिल्लामा बाढीपहिरोका कारण पीडित भएका स्थानीयवासीलाई राहतको व्यवस्था गर्न माग गर्नुभयो । सांसद मीनबहादुर विश्वकर्माले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको लापरवाही र अनियमितता रोक्न अनुरोध गर्नुभयो ।  सांसद मोहन बानियाँले जयसिंह धामीलाई महाकाली नदीमा खसालिएको घटनाको घोर भत्र्सना गर्दछु भन्नुभयो । उहाँले घटनाबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने पनि माग गर्नुभयो । सांसद योगेशकुमार भट्टराईले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन आग्रह गर्नुभयो ।

सांसद राजबहादुर बुढाक्षेत्रीले दार्चुला घटना पहिलो पटक नभएको भन्दै छानबिन गर्न आग्रह गर्नुभयो । सांसद राजेन्द्रकुमार राईले धनकुटा जिल्लामा कोरोना बढ्दै गएको बताउँदै खोपको व्यवस्था गर्न माग गर्नुभयो । सांसद राजेन्द्रप्रसाद गौतमले दार्चुलामा तुइन काटेर नदीका खसाल्नु अन्तर्राष्टिय फौजदारी अपराध हो भन्नुभयो ।
सांसद रामबहादुर विष्ट, रामवीर मानन्धर, रामेश्वर राययादव, मीना सुब्बा, रेनुका गुरुङ, मेखमणि चौधरी, रामकुमारी झाँक्री, यज्ञराज सुनुवारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस