छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित

छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोभिड–१९ को दोस्रो लहरको समयमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको छत्रपाटी कोभिड विशेष अस्पताल तथा नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगन गरिएको छ । बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ६७ औँ कार्यपालिका बैठकले कोभिड सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि गरिएका कार्यक्रम हालका लागि स्थगन गर्ने निर्णय गरेको हो । “अहिले अन्य अस्पतालमा बिरामीले सहजै उपचार गराउन पाउने भएकाले आइसोलेसनमा भर्ना हुन आउनेको सङ्ख्या कम छ, आगामी दिनमा आवश्यक परे सेवालाई निरन्तरता दिने गरी हाललाई सेवा स्थगन गरिएको छ”, कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले भन्नुभयो ।

उहाँका अनुसार राधास्वामी आइसोलेसन सेन्टरलाई अहिले भएका जनशक्तिमध्ये एकतिहाइले सञ्चालन गर्ने गरी निरन्तरता दिइएको छ । “सेवा बन्द होइन, स्थगन हो । आवश्यक परेका बेला यसलाई पुनः सञ्चालन गर्न सकिन्छ” उहाँले भन्नुभयो । दोस्रो लहरको उत्कर्षको समयमा कामपाले विभिन्न १२ अस्पतालसँग सम्झौता गरी सङ्क्रमित बिरामीको उपचारमा सहजिकरण गरेको थियो ।”

त्यसैगरी बैठकले बन्दाबन्दीका कारण समयमा सम्पन्न हुन नसकेका योजनाको म्याद थप गर्ने, वडा १२ मा रुद्र विनायक नाय्खिँ गणेश निर्माण गर्न जग्गा प्राप्तिका लागि नेपाल सरकारलाई सिफारिस गर्नेलगायत निर्णय गरेको छ । यसैगरी नेपाल भाषा प्रशिक्षण व्यवस्थासम्बन्धी कार्यविधि, २०७७ मा केही संशोधन गरेर नेपाल भाषाका सहायक प्रशिक्षकलाई प्राथमिक तह तृतीय श्रेणीसरह बनाएको छ । यस्तै बैठकले नेपाल भाषा सहजीकरण तथा अनुगमन समिति र नेपाल भाषा समन्वय समितिका पदाधिकारीलाई काम गरेका दिनमा खाना, खाजा र यातायातबापत रु एक हजार ५०० रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

यो पनि – प्रसूति सेवामा अब्बल पाँचथर अस्पताल, छिमेकी जिल्लावासीसमेत लिन्छन् सेवा

पाँचथर जिल्ला अस्पतालले प्रसूति सेवामा अब्बल सेवा प्रदान गर्दै आएको छ । विगतका तीन आर्थिक वर्षमा यस अस्पतालले बर्सेनि एक हजारभन्दा बढी महिलालाई सुत्केरी गराएको छ । यस अस्पतालले प्रसूति सेवा दिएका महिलाको सङ्ख्यामा बर्सेनि वृद्धिसमेत भइरहेको छ । यस्तै शल्यक्रियामार्फत सुत्केरी गराइएको सङ्ख्यासमेत वार्षिकरूपमा वृद्धि भइरहेको अस्पतालको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०७५/०७६ मा यस अस्पतालले एक हजार ९८ महिलालाई सुत्केरी गराएको थियो । तीमध्ये १४३ जनाको शल्यक्रिया गरिएको थियो । यस्तै आव २०७६/०७७ मा अस्पतालले एक हजार १७८ महिलालाई सुत्केरी गराएको थियो । तीमध्ये १८३ को शल्यक्रिया गर्नुपरेको थियो ।

कोभिड–१९ सङ्क्रमणको महामारी र अप्ठ्यारोका बाबजुद गत आव २०७७/०७८ मा यस अस्पतालमा सुत्केरी गराउने तथा शल्यक्रिया गर्नुपर्ने महिलाको सङ्ख्यामा झनै वृद्धि भएको देखिन्छ । गत आवमा यस अस्पतालमा एक हजार ३७४ महिलाको सुत्केरी गराइएको छ । तीमध्ये ३२० को शल्यक्रियामार्फत प्रसूति गराइएको पाँचथर जिल्ला अस्पतालका मेडिकल रेकर्ड अधिकृत नारायण जोशीले जानकारी दिनुभयो । प्रसूति सेवा तथा शल्यक्रियामार्फत प्रसूति सेवा लिने महिला पाँचथर जिल्लाका मात्रै छैनन् । अघिल्ला दुई आवको तथ्याङ्क प्राप्त नभए पनि गत आवमा शल्यक्रियामार्फत प्रसूति गराइएकामध्ये २२ प्रतिशत महिला जिल्ला बाहिरका छन् । गत आवमा ३२० आमाको शल्यक्रियामार्फत प्रसूति गराइएको थियो । तीमध्ये ५१ ताप्लेजुङका, १८ तेह्रथुमका र तीन जना इलामका थिए । यस्तै बिना शल्यक्रिया प्रसूति गराइएकामध्ये ताप्लेजुङका ८१ र तेह्रथुमका ७९ जना रहेको अस्पतालको तथ्याङ्कले देखाएको छ ।

विगत एक दशकदेखि प्रसूतिका लागि ख्याति कमाएको पाँचथर जिल्ला अस्पतालमा अहिले शल्यक्रियामार्फत प्रसूति गराउन सक्ने दुई जना विशेषज्ञ (एमजीडीपी) चिकित्सक छन् । यस्तै एक जना एड्भान्स एसपिए तालीम लिएका चिकित्सकसमेत सेवामा छन् । “अहिलेसम्म सहजरूपमै प्रसूतिको सेवा दिँदै आएका छौँ”, अस्पतालका सूचना अधिकारीसमेत रहनुभएका मेडिकल रेकर्ड अधिकृत जोशीले भन्नुभयो, “कोभिड–१९ का बिरामीको उपचारका लागि एचडियुसमेत अस्पतालमै सञ्चालनमा रहेकाले अहिले भने जनशक्तिको अभाव भएको छ ।”

प्रसूति सेवामा दशकभन्दा लामो समय अघिबाट पाँचथर अस्पतालले उत्कृष्ट सेवा दिँदै आएको छ । स्त्रीरोग विशेषज्ञ डा पवनजङ्ग रायमाझीले जिल्ला अस्पतालबाट सेवा दिएपछि पाँचथर अस्पताल प्रसूतिका लागि देशमै कहलाएको थियो । त्यसपछि पनि स्त्रीरोग विशेषज्ञ डा पवन शाह र अहिले डा बुद्धिबहादुर थापाले जिल्ला अस्पतालको नेतृत्व गरी सेवा दिँदै आउनुभएको छ । “पाँचथर अस्पतालले एउटा जिल्ला अस्पतालका रूपमा नभई क्षेत्रीय अस्पतालका रूपमा पाँचथरसहित इलाम, तेह्रथुम र ताप्लेजुङका जनतालाई सेवा दिँदै आएको छ”, अस्पताल सञ्चालक समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले भन्नुभयो, “त्यसैले पाँचथर अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा विकास गर्न निरन्तर प्रयासरत छौँ ।”

अस्पतालमा अहिले छ जना चिकित्सक सेवामा रहे पनि एक जना आउँदो भदौमा विदा हुँदैछन् । तत्कालै मेडिकल अधिकृत तीन जना र डेन्टल सेवामा एक जना स्वास्थ्यकर्मी आवश्यक रहेको जोशीको भनाइ छ । बिरामीले चाप हुने अस्पतालमा अहिले १४ वटा पद रिक्त रहेको सूचना अधिकारी जोशीले बताउनुभयो । प्राविधिक जनशक्ति अभावकै कारण जिल्ला अस्पतालमा प्राप्त भएको सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटर प्रयोगविहीन छ । कोभिडका बिरामीलाई समेत अस्पतालकै जनशक्तिले व्यवस्थापन गरी आकस्मिक, ओपिडी, प्रसूति सेवा नियमित सञ्चालन भइरहेको छ । पन्ध्र शय्या सञ्चालनको स्वीकृति पाएको भए पनि अहिले यो अस्पतालले ३५ शय्यामा बिरामीलाई सेवा दिइरहेको छ । बिरामीको चाप र क्षेत्रीय आवश्यकताका आधारमा अस्पतालको स्तरोन्नतिका लागि प्रदेश नं १ सरकारले चालु आवको नीति तथा कार्यक्रममा १०० शय्यामा विस्तार गर्ने उल्लेख गरेको छ । रासस