आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानविरुद्धको एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि बन्द प्रशिक्षण शुरु गरेको छ । आगामी सेप्टेम्बरमा ओमनमा हुने उक्त सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले बन्द प्रशिक्षणमा १९ खेलाडीलाई बोलाएको छ । टोलीको प्रशिक्षण कीर्तिपुरस्थित त्रिवि मैदानमा शुरु भएको क्यानले जनाएको छ ।
क्यानले बोलाएका १९ खेलाडीमध्ये गुलशन झा पहिलो पटक समावेश भएका हुन् । नेपाल पुलिस क्लबका खेलाडी गुलशनले मेयर्स कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । लिग–२ मा नेपालले अहिलेसम्म चार खेल खेलेको छ । त्यसमा नेपालले दुई खेलमा जित तथा दुई खेलमा हार व्यहोरेको छ । नेपाल चार अङ्क जोड्दै छैटौं स्थानमा छ । त्यसैगरी दश खेल खेलेको ओमान १६ अङ्कका साथ लिगको शीर्ष स्थानमा छ । बाह« खेलमा १२ अङ्क बटुलेको अमेरिका दोस्रो स्थानमा छ । बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी छन् । त्यसैगरी कमलसिंह ऐरी, अविनाश बोहरा, शाहब आलम, सुशन भारी, शरद भेषवाकर, विक्रम शोब, पवन सर्राफ र रोहितकुमार पौडेल छन् । रासस
यो पनि –कवड्डीको हब ‘भीमदत्त’
एउटै नगरपालिकामा एकै खेलको मात्रै एक सय भन्दा बढी अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरका खेलाडी छन् भन्दा पत्यार नलाग्न सक्छ । पछिल्लो समय कञ्चनपुरको भीमदत्त नगरपालिका कवड्डी खेलाडी बसोबास गर्ने नगरमा प्रसिद्ध भएको छ ।विसं २०४० का दशकमा मुलुककै कवड्डी खेलाडीले प्रख्यात जिल्ला अझै राष्ट्रियस्तरमा खेलाडी जन्माउने जिल्लाका रुपमा परिचित छ । जिल्ला खेलकूद विकास समितिका प्रशिक्षणमा उत्पादन भएका धेरै खेलाडी अहिले नेपाली सेना तथा नेपाल प्रहरीको विभागीय टिमबाट खेल यात्रामा सक्रिय छन् ।
“ भीमदत्त नगरपालिकाको मात्रै कुरो गर्दा पनि विभागीय टिममा ५० प्रतिशत खेलाडी सहभागी छन् ।” कवड्डीका मुख्य प्रशिक्षक विष्णुदत्त भट्टले भन्नुभयो,“ कवड्डीका हकमा विगत र वर्तमानमा पनि भीमदत्त हब नै हो ।”उहाँले भीमदत्त– ६, ७, ८ र १० खेलाडी अत्यधिक रहेको बताउनुभयो ।“यहाँबाट मात्रै अहिलेसम्म ३६ महिला तथा पुरुष खेलाडीले साफ, एशियन र ६० भन्दा बढीले राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।” उहाँले भन्नुभयो,“ दशकौंअघि पनि त्यो बेला महाकालीको कवड्डी टिम खेल क्षेत्रमै अब्बल थियो ।”
खेलाडी उत्पादन मात्रै होइन, नेपाली कवड्डीको नेतृत्व गर्ने जिम्मेवारी पनि कञ्चनपुर घर भएका प्रशिक्षकले पाउँदै आएका छन् । केही समयअघि मात्रै भीमदत्त घर भएका प्रशिक्षक भट्टले कवड्डीको मुख्य प्रशिक्षकको जिम्मेवारी पाउनुभएको छ । “ यति ठूलो जिम्मेवारी मेरा लागि अवसर र चुनौतीका रुपमा लिएको छु ।” अढाइ दशकयता प्रशिक्षणमा सक्रिय उहाँले भन्नुभयो,“ कोरोना कहरले खेल क्षेत्र र खेलाडी पनि नराम्ररी प्रभावित बने ।”आफू खेलाडी हुँदा मुख्य प्रशिक्षक भट्टले एघार अन्तर्राष्ट्रिय प्रतियोगितामा मुलुकको प्रतिनिधित्व गरिसक्नुभएको छ । विसं २०४२ मा कवड्डीमा प्रवेश गरेका हल्दुखालका भट्ट विसं २०६० को दशकयता यहाँ प्रशिक्षकको रुपमा कार्यरत रहनुभयो ।
प्रशिक्षकको सङ्ख्या नै न्यून रहेको जनाउँदै उहाँले सन् २०२२ मा हुने एशियाली खेलकूद प्रतियोगितामा महिला राष्ट्रिय टिम सहभागी हुने सम्भावना रहेको बताउनुभयो । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा यहाँ आधुनिक कवड्डी प्रशिक्षण केन्द्रसमेत निर्माण भएको छ ।यसअघि मुलुकको कवड्डी खेलको नेतृत्व भीमदत्त कै वरिष्ठ कवड्डी प्रशिक्षक तारासिंह भाटले सम्हाल्नु भएको थियो । मुख्य प्रशिक्षकबाट सेवा निवृत्त हुनुभएका मुख्य प्रशिक्षक उहाँले अझै पनि सुदूरपश्चिम खेलाडी उत्पादनको उर्वर भूमि भए पनि राज्यको ध्यान नपुगेको बताउनुहुन्छ ।
“ प्रतियोगिता हुँदा मात्रै थोरै समय बन्द प्रशिक्षण गराएर राम्रो नतिजाको आश गर्ने प्रवृति भयो ।” उहाँले भन्नुभयो, “राम्रो नतिजाका लागि दीर्घकालीन योजना बनाएर खेलाडी उत्पादनमा जोड दिनु आवश्यक छ ।” विसं २०५५ मा पहिलो पटक मुख्य प्रशिक्षक बनेका भाटले दोस्रो पटक पनि २०७३ सालमा सो भूमिकामा आउनुभएको थियो ।“ कवड्डी बाहेक अरु खेलले यहाँबाट अझैसम्म मुख्य प्रशिक्षक पाएको छैन ।” उहाँले भन्नुभयो,“ तर कवड्डीको नेतृत्व भने कञ्चनपुर वरिपरी नै छ ।”
कवड्डीका अन्तर्राष्ट्रिय निर्णायक रमेशचन्द्र ओझाले खेलाडीको रोजगारीको सुनिश्चितता नहुँदा पलायन हुनुपर्ने स्थिति रहेको बताउनुभयो । “ यहाँबाट चल्तीका पुराना खेलाडी अहिले भारतमा मजदूरी गर्नेदेखि व्यवसायमा लाग्नुपर्ने स्थिति छ ।” उहाँले भन्नुभयो,“ खेलाडीले राज्यका लागि मेहनत गर्ने तर राज्यले वास्ता नगरेसम्म खेलकूदको विकास हुनसक्दैन् ।” उहाँले राष्ट्रियस्तरमा प्रतियोगितामा अहिलेसम्म सुदूरपश्चिम प्रदेशले पदकविहीन हुने अवस्था नआएको जानकारी दिनुभयो । रासस
प्रतिक्रिया