बागलुङ बजारको एक दर्जन घर पहिराको जोखिममा

बागलुङ बजारको एक दर्जन घर पहिराको जोखिममा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–खेमराज गौतम, बागलुङ बजारको अदालत चौपारी, कम्पुटोल र नारायण चोकका एक दर्जनभन्दा बढी घर पहिराको जोखिममा परेका छन् । बागलुङ नगरपालिका–३ कैलाम पोखरीको वन हुँदै अदालत चौपारीसम्म पुग्ने सडकखण्ड पहिराले बगाएकाले २० दिनदेखि बन्द छ । तलबाट पहिरो खस्दै गएकाले सडकका साथै बजार छेउकै दर्जनभन्दा बढी घर जोखिममा परेको त्यहाँका बासिन्दा बताउछन् । निरन्तरको वर्षा र बस्तीमुनिको बगालुङ नगर खानेपानी लिफ्ट आयोजना निर्माणाकै अवस्थामा रहेकाले निरन्तर सडक भासिने र पहिरो जाने गरेको स्थानीयवासी पुष्पा केसीले बताउनुभयो ।

बागलुङ नगर खानेपानी उपभोक्ता संस्था र खानेपानी तथा ढल व्यवस्थापन विभागको संयुक्त लगानीमा तीन वर्षदेखि निर्माण भइरहेको सो आयोजना अपुरै रहँदा कम्पुटोल, देउराली चोक तथा नारायण चोकका घर गत वर्षदेखि पहिरोको जोखिममा पर्दै आएका हुन् । कम्पुटोलका नौ घर गतवर्ष नै बर्खाको समयमा विस्थापित भइसकेका थिए भने देउराली चोकका पाँच घरका बासिन्दा पनि घर छोडेर अन्यत्रै बस्न गएका छन् ।

अहिले पुनः अदालत चौपारीदेखि कम्पुटोल जाने पछाडितिरको सडक नै भासिएकाले पुनः एक दर्जन घर जुनसुकै बेला भत्कने अवस्थामा पुगेको छ । कमजोर भू बनोट भएका स्थानमा सचेतता र सुरक्षाबिना खानेपानी आयोजना निर्माण गरिएका कारण यस्तो भएको जनाइएको छ । रु ४५ करोडको लागतमा बगालुङ बजारमा २४ सै घण्टा पानी वितरण गर्न काठेखोलाको पानी कैलाम पोखरीमा प्रशोधन गरी वितरण गरिने योजना छ ।

आयोजनाकै कारण बस्ती जोखिममा परेको कैलाम पोखरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जयराम भारीले गुनासो गर्नुभयो । “नगरवासीलाई खानेपानी उपलब्ध गराउनाकै लागि भनेर वन मासेर आयोजना निर्माण गर्न दियौं” उहाँले भन्नुभयो, “ आयोजनाका कारण सडकमा पहिरो जाने र भासिने भएकाले एकातिर आयोजना नै के हुने हो भन्ने अन्योल छ भने अर्कोतिर दर्जनभन्दा बढी घर जोखिममा छन्” ।  मनसुन सक्रिय भएयता निरन्तरको झरीले कम्पुटोल हुँदै गाँैडाकोट जाने सडक बगाएर पैदल यात्रासमेत गर्न नसकिने भएकाले स्थानीयवासी देउराली चोकको सडक प्रयोग गर्न बाध्य भएका छन् । यसबारे वडा कार्यालय र नगरपालिकालाई ध्यानार्कषण गराउँदा पनि हालसम्म सुनुवाइ नभएको उनीहरूकोे गुनासो थियो ।

आयोजना र विभागसँग पहिराको विषयलाई लिएर निरन्तर छलफल भइरहेको नगरपालिकाको वडा नं ३ का अध्यक्ष लक्ष्मी बाँस्कोटाले जानकारी दिनुभयो । “ठूलो पहिरो छ, ग्याबिन चिनेर र पर्खाल लगाएर सडक बनाउदासमेत लाखौं खर्च लाग्ने अवस्था छ, थोरै खर्चको भए वडा कार्यालयले बनाउथ्यो” उहाँले भन्नुभयो, “नगरपालिकासँग छलफल गरेर आयोजना संरक्षण र पहिरो व्यवस्थापन गर्न भनेका छौँ तर नागरिकको अपेक्षानुसार सडक सञ्चालनमा ल्याउन र बस्ती सुरक्षित गर्न मुस्किल छ”। नगर प्रमुख जनकराज पौडेलका अनुसार अहिले पहिराको अनुगमन गरिएको र ठेक्का लिएको कम्पनीले पहिरो मर्मत नगरेपनि आयोजना संरक्षणका लागि छुट्टै बजेट ल्याएर काम गर्नुपर्ने देखिएको छ ।

पाँच महिनामै गुम्बा पुनःनिर्माण

भूकम्पले जीर्ण बनाएको केही धार्मिक संरचनाको निर्माण निर्माणमा ढिलाइ भइरहको अवस्थामा यहाँ भने एक गुम्बा पाँच महिनामै निर्माण गरिएकोे छ ।भूकम्पले क्षति पु¥याएको बागलुङ नगरपालिका–११ रायडाँडास्थित उक्त गुम्बा पुनःनिर्माण थालिएको पाँच महिनामै सकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजनाले जनाएको हो ।

प्राधिकरण र शान्ति बौद्व बिहारको साझेदारीमा पुनःनिर्माण गरिएको हलेस्थित उक्त गुम्बा विसं २०६२ मा स्थापना गरिएको थियो । आठ वर्षपछि गुम्बा सञ्चालनमा आए पनि २०७२ सालको भूकम्पले क्षति पु¥याएको थियो ।प्राधिकरणका जिल्ला आयोजना कार्यान्वयन एकाइ प्रमुख प्रमुख रेणुका पाण्डेका अनुसार रु ६१ लाखको लागतमा ८०० वर्गमिटर फराकिलो सो गुम्बा निर्माण भएको हो । कूल रू ६१ लाखमध्ये प्राधिकरणबाट रू ४० लाख र रू श्रमदानसहित रू २१ लाख स्थानीय गुम्बा व्यवस्थापन समितिबाट जुटाइएको थियो ।

एक भिक्षुले नियमित पाठपूजा गर्दै आएको उक्त गुम्बा भूकम्पले क्षति पु¥याएपछि भत्काएर भूकम्प प्रतिरोधी नयाँ गुम्बा निर्माण गरिएको बिहार निर्माण समितका अध्यक्ष रणबहादुर थापाले जानकारी दिनुभयो । रासस