–धु्रबसागर शर्मा,म्याग्दीमा रहेका तामा, स्लेट, खरि, चुनढुङ्गा र फलामखानी उपभोग र संरक्षणको अभावमा पुरिन थालेका छन् ।वर्षौंदेखि अलपत्र अवस्थामा रहेका म्याग्दीको जिल्लाको पश्चिमी तथा उत्तरी भेगका लेखाली क्षेत्र स्थित ती बहुमूल्य खानीहरु उत्खनन्को अनुमति नपाउँदा जङ्गलमै पुरिन थालेका हो ।सङ्घीय सरकारको मातहतमा रहेका खानी तथा भूगर्भ विभागले खानी सञ्चालनको अनुमति नदिँदा स्थानीय तहको बलियो आयस्रोत बन्न सक्ने दर्जनौं खानीहरु जङ्गलका भीर पहरामा त्यतिकै अलपत्र परेका छन् । सम्बन्धित स्थानीय तह र सरोकारवालाले खानी सञ्चालनका विषयमा पटकपटक नेपाल सरकार र सम्बन्धित निकायसँग उत्खनन्को अनुमति माग गर्दा पनि प्राप्त नभएपछि यी खानीहरु ‘भिल्लाका देशका मणी’ जस्तै प्रयोग र महत्वविहीन बनेका छन् ।
जिल्लाका पश्चिमी तथा उत्तरी क्षेत्रमा तामादेखि लिएर नुनसम्मका खानीहरु रहेको पुष्टि भएपनि सम्वन्धित निकायको मौनताले र उत्खनन् सम्बन्धी प्रष्ट नीतिगत व्यवस्थाको अभावमा खानीहरु अलपत्र परेका सरोकारवालाले बताएका छन् । म्याग्दीको मालिका गाउँपालिका–५ ओखरबोटस्थित नेपालकै उत्कृष्ट मानिएको तामाखानी पनि स्पष्ट नीतिको अभावका कारण उत्खनन् गर्न नसकिएको खानीका पूर्वठेकेदार तथा मालिका गाउँपालिका–५ ओखरबोटका वडाध्यक्ष दिलीप शेरचनले बताउनुभयो । उहाँका अनुसार जिल्लामा रहेका तामा, स्लेट (घर छाउने ढुङ्गा), सिलाजित, खरी, चुनढुङ्गाका खानी वर्षाँैदेखि उत्खनन हुन नसक्दा अलपत्र अवस्थामा छन् भने संरक्षण हुन नसकेपछि पुरिँदै गएका छन् ।
खानीहरूको सम्भाव्यता अध्ययन गर्न सम्बन्धित निकायले चासो देखाएका छैनन् । स्थानीय बूढापाकाका अनुसार ओखरबोट, भकिम्ली, गौश्वारालगायतका ठाउँमा रहेका तामाखानी २०२८ सालसम्म सञ्चालनमा थिए । तत्कालीन सरकारले खानी उत्खनन् गरेबापत लिने कर (भेजा) तिर्न नसकेपछि सो कार्य बन्द भएको थियो । “तत्कालीन सरकारको कर नीतिका कारण हाम्रा पूर्खाले उत्खनन् गर्न छाडेका हुन” मल्कावाङका ७१ वर्षीय दलबहादुर छन्त्यालले बताउनुभयो । साविकका गुर्जा, ताकम, कुइनेमङ्गले, ओखरबोट, मल्कवाङ, भकिम्लीलगायतका गाविसमा करिब २० वटा तामा खानी रहेका छन् । त्यतिखेर उत्खनन्का लागि छन्त्याल समुदायलाई जिम्मेवारी दिइएको थियो । विसं २०६८ को जनगणनाअनुसार नेपालमा छन्त्याल जातीको जनसङ्ख्या एघार हजार रहेको छ ।
जङ्गलका बीचमा पहाडभित्र रहेका खानीमा बाहिरबाट ढुङ्गा, हिलो र भल गएर थुप्रिएर पुरिन लागेकामा छन्त्याल समुदाय चिन्तित भएका छन् । खानी खनेर जीविकोपार्जन गर्दै आएका म्याग्दीका विभिन्न ठाउँमा बसोवास गर्ने छन्त्याल समुदाय परम्परागत पेशाबाट विस्थापित भएका छन् । परम्परागत पेसाबाट विस्थापित भएका उनीहरू पछिल्लो समय वैदेशिक रोजगारी र अन्य पेसामा आवद्ध भएका छन् । म्याग्दी र बागलुङको बुर्तिवाङ क्षेत्र छन्त्याल समुदायको परम्परागत थातथलो हो । छन्त्याल समुदायले उत्खनन गरेका धातु दलित समुदायले प्रशोधन गरेपछि थकाली समुदायले देशका विभिन्न स्थानमा लगेर बिक्री गर्ने गर्दथे । त्यतिबेला छन्त्याल समुदायले माटो सुघेर पनि खानी पत्ता लगाउने गरेको बूढापाकाहरुको भनाइ छ । खानी रहेका ठाउँ अहिले पुरिँदै गएका छन् ।
खानी उत्खनन गर्न खनिएका पाँच सय मिटरसम्मका सुरुङहरु ओखरबोटमा अझै भेटिने स्थानीयवासी नविन पुनले बताउनुभयो । उहाँका अनुसार ती सुरुङमा अहिले पानी भरिएर ताल बनेको छ भने सुरुङ भित्र तामाका धाउहरु असरल्ल अवस्थामा रहेका छन् । प्रशोधनपछि काम नलाग्ने भएर फालिएका धातुका टुक्रा यत्रतत्र छरिएर रहेका अझै भेट्टिन्छन् । तत्कालीन अवस्थामा छिना, मार्तल, गल, घन, कुटो, कोदालोको प्रयोग गरेर खानी उत्खनन् गर्ने चलन थियो । खानी उत्खनन् गर्ने अधिकार सङ्घीय सरकारले स्थानीय तहलाई दिनुपर्ने आवाज म्याग्दीमा तीव्ररुपमा उठ्ने गरेको छ । यसका लागि कतिपय जनप्रतिनिधिहरु सम्वन्धित मन्त्रालय र खानी तथा पुरातत्व विभागमा डेलिगेशन समेत गएका छन् । रुम र लुलाङमा रहेका स्लेट खानीबाट परम्परागत रूपमा उत्खनन् भने भइरहेको छ ।
प्रतिक्रिया