सप्तरी, २१ साउन । सप्तरीको कञ्चनरुप नगरपालिकाले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । विश्व स्तनपान सप्ताहको अवसरमा नगरपालिका बहुक्षेत्रीय पोषण इकाइद्वारा आधारभूत विद्यालय बरमझियामा आयोजित ‘सुनौलो हजार दिनको आमाहरुलाई पोषण झोला वितरण’ समारोहमा नगर प्रमुख वसन्तकुमार मिश्रले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गर्नुभएको हो । सप्तरी जिल्लाको पहिलो खुला दिशामुक्त र पूर्ण खोप सुनिश्चित नगर घोषित कञ्चनरुप नगरपालिका जिल्लाको एक मात्र तथा प्रदेश नं २ को पहिलो र नेपालको तेस्रो बालमैत्री नगरपालिका हो । नगर प्रमुख मिश्रले कञ्चनरुपलाई अब कुपोषणमुक्त नगर घोषणा गर्ने ढङ्गले काम अगाडि बढाइएको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य शाखा कञ्चनरुपले गर्भवती र सुत्केरी महिलालाई क्याल्सियम र फोलिक एसिड चक्की वितरण गरेको छ । गर्भावस्थामा स्वास्थ्य चेकजाँच, आइरन चक्कीदेखि क्याल्सियम र फोलिक एसिड चक्की निःशुल्क वितरण भइरहेकोमा अबदेखि गर्भवतीलाई कुनै पनि स्वास्थ्य संस्थामा जानु पर्दाको एम्बुलेन्स भाडा नलाग्ने नगरप्रमुख मिश्रले घोषणा गर्नुभयो । यसका लागि एउटा एम्बुलेन्स नियमित रुपमा बरमझियामा रहने पनि उहाँले बताउनुभयो । पोषणयुक्त खानपिनको अभावले हुने कुपोषण नियन्त्रण गर्न बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत नगरपालिकाले बेलाबेलामा पोषण सामाग्री उपलब्ध गराउँदै आएको छ । कार्यक्रमकी सहजकर्ता सुशीला चौधरीले कुपोषणमुक्त नगर घोषणा गर्ने उद्देश्यका साथ नगरपालिकाले कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगेको उहाँले बताउनुभयो ।
सप्ताहव्यापी कार्यक्रमका अवसरमा नगरपालिकाले सबै वडामा गरेर ३६० जना सुनौलो हजार दिनका आमाहरुलाई पोषण झोला वितरण गर्ने बहुक्षेत्रीय पोषण इकाइले जानकारी दिएको छ । झोलामा एक किलो घ्यु, एक क्यारेट अण्डा, एक किलो हरियो भटमास, दुई किलो पोषिलो पिठो, नौ किसिमका गेडागुडीेको प्याकेट, ४ प्याकेट स्यानिटरी प्याड, ह्याण्ड सेनिटाइजर, सर्जिकल मास्क, टुथब्रस, टुथपेष्ट, साबुनको बट्टा, मग, क्याल्सियम चक्की रहेको छ ।
कार्यक्रममा कञ्चनरुप नगरपालिकाका पोषण कार्यक्रमकी सहजकर्ता सुशीला चौधरी, पशुपक्षी विकास शाखाका प्रमुख दिवाकान्त चौधरी, स्वास्थ्य शाखा प्रमुख रामसेवक यादव, सह–संयोजक डम्बरप्रसाद गुप्ताले गर्भवती र सुत्केरीले ध्यान दिनुपर्ने कुरा र पोषणको महत्वबारे जानकारी दिनुभएको थियो । रासस
यो पनि –अझै सम्पन्न भएन अस्पताल भवन
ठेकेदारले कार्ययोजना अनुसार काम गरेको भए बेनी अस्पतालको सुविधा सम्पन्न भवन सञ्चालन भइसकेको हुन्थ्यो । अस्थायी र पुराना भवनका साँघुरा कोठामा काम चलाउ हिसाबले बिरामीको उपचार गर्नुपर्ने समस्या हट्थ्यो । बीस महिना अघिनै सम्पन्न गर्ने सम्झौता गरेका निर्माण व्यवसायीको विवाद अदालत पुगेपछि अधुरो भवन निर्माण पनि अन्र्योलमा परेको छ ।
तत्कालीन शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले विसं २०७३ मङ्सिर २१ गते ५० श्यया क्षमताको अस्पताल भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभीसँग रु १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो । रु २४ करोड चार लाख २९ हजार ८६९ लागत अनुमान गरिएको थियो । सो निर्माण कम्पनीका सञ्चालक निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवी सिंह हुनुहुन्छ । यो भवन बनाउने जिम्मेवारी रवीन जोशीले लिनुभएको बताइको छ । विसं २०७६ मङ्सिर २० गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा बनाउन लागिएको चार तले तीन भवन निर्माणको हालसम्मको भौतिक प्रगति ६० प्रतिशत मात्र रहेको सो कार्यालयका प्रमुख प्रभाकरलाल कर्णले जानकारी दिनुभयो ।
“विभिन्न चरणमा भएको लिखित र मौखिक प्रतिबद्धता अनुसार भवन निर्माणलाई गति दिन नसकेपछि कालोसूचीमा राख्ने प्रक्रिया थालेका हांै,” उहाँले भन्नुभयो, “जमानी बसेको बैंकलाई पहिलो चरणको पत्र काटेका छौं । अब पत्रिकामा सार्वजनिक सूचना जारी गर्छौ ।” तीन तला ढलान र प्लास्टर भइसकेको भवनमा टायल राख्ने, रङगरोगन, विद्युत्, पानी र फर्निचर जडानलगायतका काम बाँकी छन् । सार्वजनिक खरिद ऐनको पछिल्लो संशोधन र कोरोनाका कारण थप भएको म्याद विसं २०७८ जेठ २० गते सकिएको छ ।
आर्थिक वर्ष २०७८÷०७९ को बजेट भाषणमार्फत सरकारले गरेको घोषणा अनुसार आगामी मङ्सिर २० गतेसम्म म्याद थप गर्न सकिन्छ । साझेदारीमा काम गरेका तीन निर्माण व्यवसायीको विवादले काम अघि बढ्ने आधार नदेखिएपछि कारवाही प्रक्रिया शुरुआत गरेको आयोजना प्रमुख कर्णले जानकारीदिनुभयो । साझेदारी गरेका तीन निर्माण कम्पनीको लेनदेन विवाद अदालत पुगेको बताइएको छ । अदालतको आदेश अनुसार कार्यालयले रु दुई करोड भुक्तानी रोकेर राखेको छ । दुई वर्ष शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाइ कास्कीलाई हस्तान्तरण गरिएको यो आयोजना आर्थिक वर्ष २०७७÷०७८ मा कार्यालयमा फिर्ता ल्याइएको थियो ।
भवन निर्माण अलपत्र बनेपछि सेवा प्रवाहमा असर परेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारीदिनुभयो । “पचास श्यया क्षमता भए पनि १५ श्ययाको संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य छौं” उहाँले भन्नुभयो, “पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ ।’’ पछिल्लो एक वर्षयता भवन निर्माणको काम सुस्त बनेको छ । नयाँ भवन बनाउन पुरानो भवन भत्काइएको थियो । बहिरङग कक्षको सेवा अस्थायी भवनबाट सञ्चालन गरिएको छ । आकस्मिक र अन्तरङग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयका भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ । सघन उपचार कक्ष (आइसीयु) र डायलाइसीस कक्ष पनि स्वास्थ्यकै भवनमा स्थापना भएको छ ।
पन्ध्र श्यया क्षमताको अस्पताल विसं २०७२ मा पचास श्ययामा स्तरोउन्नति भएको थियो । भूकम्प प्रतिरोधी क्षमत्ताको भवन अपाङ्ग मैत्रीसमेत हुनेछ । भूइँतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा सघन उपचार, कक्ष प्रयोगशाला, रेडियोलोजी, पहिलो तलामा शल्यक्रिया थियटर, बहिरङग सेवा र अन्तिम तलामा प्रशासन कक्ष बनाउन प्रस्ताव गरिएको छ ।
निर्माण कम्पनीका प्रतिनिधि जोशीले पुरानो भवन भत्काउन, रुख कटान र ढुवानीका लागि सडक बनाउन समयमै अनुमति पाउन ढिलाइ भएको बताउनुभयो । उहाँले सम्झौता गरेको एक वर्षपछि मात्र काम शुरु गर्न पाएको र काम नरोकिएको दाबी गर्नुभयो । भवन निर्माणमा खटिएका मजदूरले निर्माण व्यवसायीले ज्याला नदिएको र सामान बेचेका आपूर्तिकर्ताले करोडौं भुक्तानी नपाएको गुनासो समेत गरेका छन् ।
प्रतिक्रिया