लोकप्रिय बन्दैछ छोरी बचत खाता कार्यक्रम

लोकप्रिय बन्दैछ छोरी बचत खाता कार्यक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम(पूर्व), २१ साउन । रुकुम (पूर्व)को सिस्ने गाउँपलिकाले गत आर्थिक वर्षमा ८१ छोरीका ‘छोरी बचत खाता’ खोलेको छ । गत आवदेखि कार्यान्वयनमा ल्याइएको सो कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्र जन्मेका ती छोरीको खाता सञ्चालनमा ल्याइएको हो । गाउँपालिकाले सिस्ने –५ मा अवस्थित कृषि विकास बैंकमा खाता खोलिदिएको छ । गाउँपालिकाले गत साउनदेखि जन्मिएका छोरीको खाता खोलेर रु पाँच हजार जम्मा गरिदिँदै आएको छ । गाउँपालिकाले तोकेको मापदण्ड पूरा गरी जन्मिएका सबै छोरीको खाता खोलिदिएको अध्यक्ष कुमारी बरालले जानकारी दिनुभयो । छोरी बचत खाताका लागि अनिवार्यरूपमा चारपटक गर्भजाँच गराएको हुनुपर्ने छ । यस्तै स्वास्थ्य संस्थामै सुत्केरी भएको हुनुपर्ने र छोरी जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएको हुनुपर्ने उहाँले बताउनुभयो ।

सबै प्रक्रिया पूरा भएपछि वडाको सिफारिश लिएर गाउँपालिकामा पुगे गाउँपालिकाले नै छोरी बचत खाता खोलिदिने गरेको छ । सोही क्रममा कार्यक्रम शुरुआत गरेको पहिलो वर्ष अर्थात् गत आवमा ती छोरीको खाता खोलिएको गाउँपालिकाले जनाएको छ । चालु आवको खाता भने अगामी भदौबाट खोल्न शुरु गरिने गाउँपलिकाले जनाएको छ । उहाँकाअनुसार छोरी बचत खाता कार्यक्रमको रकम छोरी २० वर्ष पुगेपछि मात्रै निकाल्न पाइने छ । यसका लागि २० वर्ष नपुगी विवाह नगरेको र पढाइ निरन्तरता हुनुपर्ने छ । बीस वर्षपछि उक्त रकम छोरीले निकालेर आफैँ चलाउन पाउने गरी गाउँपालिकाले कार्यविधि तयार पारेको छ । बीस वर्ष नपुगी छोरीले विवाह गरेमा सो रकम गाउँपालिकाको खातामा फिर्ता हुने गाउँपालिकाले जनाएको छ ।

बालविवाह रोक्ने, बीस वर्षसम्म निरन्तर छोरीलाई पढाउने, उच्च शिक्षा अध्ययन गर्न चाहेमा पनि २० वर्षपछि उक्त रकम निकालेर अध्यन गर्न मिलोस् भन्ने उद्देश्यले छोरी बचत कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष बरालले बताउनुभयो ।  बचत कार्यक्रमबाट छोरीको सुरक्षालाई प्राथमिकतामा राखिएको छ । यस कार्यक्रम गाउँपालिकामा निकै नै प्रभावकाराी भएको पाइएको गाउँपलिकाले जनाएको छ । रासस

यो पनि -गर्भवतीलाई एम्बुलेन्स सेवा निःशुल्क

सप्तरी, २१ साउन । सप्तरीको कञ्चनरुप नगरपालिकाले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । विश्व स्तनपान सप्ताहको अवसरमा नगरपालिका बहुक्षेत्रीय पोषण इकाइद्वारा आधारभूत विद्यालय बरमझियामा आयोजित ‘सुनौलो हजार दिनको आमाहरुलाई पोषण झोला वितरण’ समारोहमा नगर प्रमुख वसन्तकुमार मिश्रले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गर्नुभएको हो । सप्तरी जिल्लाको पहिलो खुला दिशामुक्त र पूर्ण खोप सुनिश्चित नगर घोषित कञ्चनरुप नगरपालिका जिल्लाको एक मात्र तथा प्रदेश नं २ को पहिलो र नेपालको तेस्रो बालमैत्री नगरपालिका हो । नगर प्रमुख मिश्रले कञ्चनरुपलाई अब कुपोषणमुक्त नगर घोषणा गर्ने ढङ्गले काम अगाडि बढाइएको बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य शाखा कञ्चनरुपले गर्भवती र सुत्केरी महिलालाई क्याल्सियम र फोलिक एसिड चक्की वितरण गरेको छ । गर्भावस्थामा स्वास्थ्य चेकजाँच, आइरन चक्कीदेखि क्याल्सियम र फोलिक एसिड चक्की निःशुल्क वितरण भइरहेकोमा अबदेखि गर्भवतीलाई कुनै पनि स्वास्थ्य संस्थामा जानु पर्दाको एम्बुलेन्स भाडा नलाग्ने नगरप्रमुख मिश्रले घोषणा गर्नुभयो । यसका लागि एउटा एम्बुलेन्स नियमित रुपमा बरमझियामा रहने पनि उहाँले बताउनुभयो । पोषणयुक्त खानपिनको अभावले हुने कुपोषण नियन्त्रण गर्न बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत नगरपालिकाले बेलाबेलामा पोषण सामाग्री उपलब्ध गराउँदै आएको छ । कार्यक्रमकी सहजकर्ता सुशीला चौधरीले कुपोषणमुक्त नगर घोषणा गर्ने उद्देश्यका साथ नगरपालिकाले कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगेको उहाँले बताउनुभयो ।

सप्ताहव्यापी कार्यक्रमका अवसरमा नगरपालिकाले सबै वडामा गरेर ३६० जना सुनौलो हजार दिनका आमाहरुलाई पोषण झोला वितरण गर्ने बहुक्षेत्रीय पोषण इकाइले जानकारी दिएको छ । झोलामा एक किलो घ्यु, एक क्यारेट अण्डा, एक किलो हरियो भटमास, दुई किलो पोषिलो पिठो, नौ किसिमका गेडागुडीेको प्याकेट, ४ प्याकेट स्यानिटरी प्याड, ह्याण्ड सेनिटाइजर, सर्जिकल मास्क, टुथब्रस, टुथपेष्ट, साबुनको बट्टा, मग, क्याल्सियम चक्की रहेको छ ।

कार्यक्रममा कञ्चनरुप नगरपालिकाका पोषण कार्यक्रमकी सहजकर्ता सुशीला चौधरी, पशुपक्षी विकास शाखाका प्रमुख दिवाकान्त चौधरी, स्वास्थ्य शाखा प्रमुख रामसेवक यादव, सह–संयोजक डम्बरप्रसाद गुप्ताले गर्भवती र सुत्केरीले ध्यान दिनुपर्ने कुरा र पोषणको महत्वबारे जानकारी दिनुभएको थियो । रासस