कार्यदलद्वारा साझा कार्यक्रम र सरकार सञ्चालन कार्यविधि तयार

कार्यदलद्वारा साझा कार्यक्रम र सरकार सञ्चालन कार्यविधि तयार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ साउन (रासस) : सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि तयार गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको कार्यदलको बैठकले सो कार्यविधिको अन्तिम खाका तयार पारेको हो । उक्त कार्यविधि सत्ता साझेदार दलका शीर्ष नेतालाई छिट्टै बुझाइने छ । “चाँडै नै प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाउँछौँ”, कार्यदलका सदस्य सचिव केशवराज जोशीले भन्नुभयो । कार्यविधिलाई अन्तिम रुप दिन कार्यदलको आज बिहानैदेखि बैठक बसेको थियो । उक्त बैठकमा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहनुभएका कार्यदलका संयोजक पूर्णबहादुर खड्कासहित कांग्रेसका डा मिनेन्द्र रिजाल र रमेश लेखक, नेकपा (माओवादी केन्द्र) का देव गुरुङ र वर्षमान पुन तथा जनता समाजवादी पार्टी (जसपा) का राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव सहभागी हुनुहुन्छ ।

कार्यदलले गठबन्धन सरकारको प्राथमिकता, सरकारको नीति तथा कार्यक्रम, सङ्घीयताको कार्यान्वयनलगायत विषय समेटेर साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । सत्तारुढ शीर्ष नेतृत्वले छलफल गरी सो प्रतिवेदन सार्वजनिक गर्ने सदस्य सचिव जोशीले जानकारी दिनुभयो । न्यूनतम साझा कार्यक्रमको टुङ्गो लगाएपछि केही दिनभित्र सरकारले पूर्णता पाउने बताइएको छ ।

यो पनि – एमालेको नेपाल पक्षका केन्द्रीय सदस्यको बैठक जारी

काठमाडौँ, २१ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटीका सदस्यहरूको बैठक आजदेखि काठमाडौँमा शुरु भएको छ । बैठकले आफ्नो पक्षको आगामी रणनीति तय गर्ने जनाइएको छ । बैठक बस्नु अघि सोही पक्षीय स्थायी कमिटीका सदस्यहरूको बैठक पनि बसेको थियो । काठमाडौँको बुद्धनगरमा ७० भन्दा बढी सदस्य सहभागी बैठकमा अहिले केन्द्रीय सदस्यले पार्टीमा देखिएको समस्या र पार्टी एकताका विषयमा धारणा राखिरहेका बैठकमा सहभागी नेता झपटबहादुर रावलले जानकारी दिनुभयो ।

नेपाल समूहले पार्टीभित्रको एकता, अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समयमा गरेका निर्णय र सरकारमा सहभागिताका विषयमा छलफल गर्न बैठक बोलाएको जनाएको छ । उहाँका अनुसार बैठकको शुरुमा पार्टीका वरिष्ठ नेता नेपालले समसामयिक विषयमा भनाइ राख्नुभएको र त्यसपछि उपाध्यक्ष डा भीम रावलले पार्टी एकताका विषयमा आन्तरिक समस्या समाधानका लागि बनेको कार्यदलले गरेको सहमति र प्रयासबारे जानकारी गराउनुभएको थियो । त्यसपछि केन्द्रीय सदस्यबाट भनाइ राख्ने क्रम जारी छ ।

नेता झपटबहादुर रावलले एमालेलाई सुदृढ र सवल कसरी बनाउने भन्ने विषमया नै बैठक केन्द्रित भएको र पार्टी तथा कम्युनिष्ट आन्दोलन कमजोर बनाउनका लागि भइरहेका गतिविधिको कसरी मुकाविला गर्ने भन्ने सम्बन्धमा छलफल केन्द्रित रहेको जानकारी दिनुभयो ।

उहाँले एमालेको नवौँ महाधिवेशनले पारित गरेको राजनीतिक, साङ्गठनिक प्रतिवेदन र विधान अनुसार नै पार्टी अघि बढाउनुपर्ने आफूहरूको महत्वपूर्ण शर्त रहेको उल्लेख गर्नुभयो । नेतृत्वले पछिल्लो चरणमा गरेका कमीकमजोरीलाई सुधारेर विधानअनुसार नै पार्टी अघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै पार्टीलाई एकताबद्ध बनाउने कुरामा नै बैठक केन्द्रित रहेको तर आत्मसमर्पण गरेर भने एकता नहुने जिकिर गर्नुभयो । यसअघि पार्टीको स्थायी कमिटी बैठकले विधान अधिवेशन, पालिका तथा वडाधिवेशनको मिति तय गरेको थियो । बैठकको निर्णय अनुमोदनका लागि यही साउन २४ गते केन्द्रीय कमिटी बैठक बोलाइसकेको अवस्थामा नेपाल पक्षीय केन्द्रीय कमिटीका सदस्यहरूको बैठक बसेको हो । रासस