प्रधानमन्त्रीसँग राष्ट्रसङ्घका आवासीय संयोजकको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग राष्ट्रसङ्घका आवासीय संयोजकको शिष्टाचार भेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री शेरबहादुर देउवासँग यहाँस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक सारा बेसोलो न्यान्तीले आज अपाराह्न प्रधानमन्त्री निवासमा शिष्टाचार भेट गर्नुभयो ।त्यस अवसरमा उहाँहरूबीच नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्ध तथा सहयोगबारे विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा राष्ट्रसङ्घले व्यक्त गरेको प्रतिबद्धताप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो ।

यसैबीच, यहीस्थित राष्ट्रसङ्घीय कार्यालयले प्रधानमन्त्रीसँगको भेटमा मानवाधिकारसम्बन्धी सर्वदेशीय आवधिक समीक्षाका क्रममा भएका सिफारिशको कार्यान्वयन, राष्ट्रसङ्घको सुदृढीकरण, नेपाल र राष्ट्रसङ्घबीचको साझेदारी, नेपालको अल्पविकसित राष्ट्रबाट स्तरोन्नति हुने लक्ष्य र दिगो विकास लक्ष्य प्राप्ति, कोभिड–१९ विरुद्धको सुदृढ प्रतिकार्यलगायत विषयमा अत्युत्तम छलफल भएको जनाएको छ ।

आजै प्रधानमन्त्रीसँग यहाँस्थित सङ्घीय गणतन्त्र जर्मनीका कार्यबाहक राजदूत स्टेफान रुस्सेकले पनि शिष्टाचार भेट गर्नुभयो । भेटका बखत उहाँहरूबीच नेपाल–जर्मनी सम्बन्धका साथै द्विपक्षीय व्यापार, लगानी र सांस्कृतिक सम्बन्ध प्रवद्र्धनबारे विचार आदानप्रदान भएको थियो । प्रधानमन्त्री देउवाले नेपालको सामाजिक–आर्थिक विकास तथा कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा जर्मनीले गरेको सहयोगका निम्ति धन्यवाद ज्ञापन गर्नुभएको उक्त मन्त्रालयले जनाएको छ ।

यो पनि – ‘कार्यतालिका छोट्याएर भए पनि महाधिवेशन गर्नुपर्छ’

नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् ।पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निजी निवास चाक्सिबारी ठमेलमा आज बसेको संस्थापन इतरको बैठकले आगामी भदौ २३ गतेपछि पार्टीको वैधानिकता समाप्त हुने भन्दै कार्यतालिका छोट्याएर भए पनि महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका हुन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचन समितिले प्रक्रिया छोट्याएर भए पनि समयमा नै महाधिवेशन सम्पन्न गर्नुपर्ने बताउनुभयो । “पार्टी महाधिवेशन नहुनुमा क्रियाशील सदस्यता विवाद हो, यसलाई चाँडो टुङ्ग्याउनतर्फ लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको र धेरै कार्यक्रममा जानुपर्ने भएका कारण पनि क्रियाशील सदस्यतालाई अन्तिम रुप दिन समस्या परेको उहाँको भनाइ थियो । बैठकमा महाधिवेशन कार्यतालिका छिटो सार्वजनिक गर्न नेतृत्वलाई दवाव दिनेबारेसमेत छलफल भएको छ ।

नेतृत्वले निर्वाचन समितिलाई चाँडो निर्देशन दिएर महाधिवेशन सुनिश्चित गर्न लाग्नुपर्ने वरिष्ठ नेता पौडेलले बताउनुभयो । भेटमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, पूर्व महामन्त्री सिंह, नेता अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा मिनेन्द्र रिजाललगायतको सहभागिता थियो ।

यो पनि – काङ्ग्रेस संसदीय दलद्वारा तिमिल्सिनाको निधनप्रति दुःख व्यक्त

नेपाली काङ्ग्रेस संसदीय दलले रौतहट क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमिल्सिनाका धर्मपत्नी रेणु तिमिल्सिनाको निधनप्रति दुुःख व्यक्त गरेको छ । उहाँको उपचारको क्रममा आज निधन भएको हो । संसदीय दलका सचेतक पुष्पा भुसाल गौतमले शोक विज्ञप्तिमार्फत रेणु तिमिल्सिनाको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । स्व तिमिल्सिना काङ्ग्रेसको सक्रिय सदस्य हुनुहुन्थ्यो । उहाँ काङ्ग्रेसले आह्वान गरेको हरेक लोकतान्त्रिक आन्दोलनहरूमा सदैव सहभागी हुँदै आउनुभएको उल्लेख गर्दै संसदीय दलले उहाँको निधनले काङ्ग्रेसलाई अपूरणीय क्षति पुगेको जनाएको छ ।