मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । सदरमुकाममा रहेको जिल्ला अस्पताल र जिल्लाका अन्य स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्दै गएका हुन् । जिल्ला अस्पतालमा हाल दैनिक ६० भन्दा बढी बिरामी आउने गरेको अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केही दिनयता अस्पतालमा बिरामीको सङख्या बढ्दै गएको र उपचारका लागि आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरो र रुघाखोकीका छन् ।”
उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो ज्वरो र रुघाखोकी आउने श्रीकोट स्वास्थ्य चौकीका प्रमुख वीरसिंह भाटले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य चौकीमा आउने बिरामीमध्ये धेरै ज्वरो र रुघाखोकी आएका छन् ।” मौसममा आएको परिवर्तन र निषेधाज्ञा खुकुलो भएसँगै ज्वरोका बिरामी बढेका डा जोशीको भनाइ छ । “निषेधाज्ञा खुकुलो भएको छ, बजार क्षेत्रमा भीडभाड बढ्यो, मास्क लगाउनेको सङख्यामा कमी आएको छ, यसले पनि ज्वरोका बिरामी बढेका हुन्”, उहाँले भन्नुभयो, “मौसम परिवर्तन भएको छ, निरन्तर वर्षा भइरहेको छ, दुषित पानीको प्रयोगले पनि यो समस्या आएको हो ।”
वर्षातको समयमा पानीका मुहान दुषित हुने भएकाले पानी शुद्धिकरण गरेर मात्रै प्रयोग गर्न तथा पानी उमालेर पिउन डा जोशीको आग्रह रहेको छ । साथै निषेधाज्ञा खुकुलो भएसँगै भीडभाड बढेको, मास्क र अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न पनि आग्रह गरिएको छ । यस्तै व्यक्तिगत र वातावरणीय सरसफाइमा पनि विशेष ध्यान दिन स्वास्थ्यकर्मीले सुझाएका छन् ।
यो पनि – पछिल्लो २४ घन्टामा थप ३,९३८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, २१ साउन । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३,९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११,८७० पीसीआर र ६,५३८ एन्टीजेन परीक्षणमा ३,९३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ७ लाख ८ हजार ७९ पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएकाहरुको संख्या ६५ हजार ७८१ पुगेको छ ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा २,०१२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ६ लाख ६३ हजार ६६३ पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो पनि – माहामारि नियन्त्रण र रोकथामका लागि मास्क अभियान यही साउन २३ गतेदेखि
काठमाडौँ, २१ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही साउन २३ देखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गर्ने भएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको हो । मन्त्रालयले मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न थालेको बताइएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसबाट बच्न मास्क अभियान सञ्चालन गर्न थालिएको बताउनुभयो । उहाँले जनस्वास्थ्यमा मापदण्ड उल्लघङ्न भएको र मास्क लगाउन पनि लापरवाही गरेकाले स्वास्थ्यको मापदण्ड तथा मास्कको महत्वबारे जानकारी गराउन अभियान शुरु गर्न लागिएको जानकारी दिनुभयो ।
“महामारी नियन्त्रणमा खोप जतिकै मास्क, सेनिटाइजरसंँग जनस्वास्थ्यको भूमिका पनि महत्वपूर्ण रहेको छ”, उहाँले भन्नुभयो, “सबै नेपालीलाई महामारी नियन्त्रणमा मास्कको भूमिकाबारे जनचेतना जगाउन आवश्यक छ ।” म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु भन्ने सन्देश दिई कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको हो । कोरोना भाइरसबाट बच्न बढी प्रभावकारी उपाय भनेको नै मास्क रहेकाले सबैले अनिवार्य मास्क लगाउनसमेत उहाँले आग्रह गर्नुभयो ।
सङ्क्रमण दिनानुदिन बढे पनि मानिसले सही तरिकाले मास्क नलगाउने गरिएको पाइएको छ । स्वास्थ्य सेवा विभागको राष्ट्रिय स्वास्थ्य, शिक्षा तथा सूचना केन्द्रका निर्देशक डा राधिका थपलियाले मास्कबारे जनचेतना मात्र नभइ मास्कले मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान शुरु गर्न थालिएको बताउनुभयो । उहाँले मास्कलाई सही तयारीले लगाउन सिकाउनका लागि अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।
“मास्क लगाए पनि कतिपयले बोल्दा मास्क फुकाल्ने, चिउडोमा लगाउने, सही तरिकाले मास्क नलगाउने जस्तो देखिएको छ”, उहाँले भन्नुभयो, “यसपटक मास्कको जनचेतना नभएर मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न थालिएको हो ।”
स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा मास्क कसरी लगाउने भनेर सिकाउने छन् । उहाँका अनुसार स्वास्थ्य स्वयमसेविकामार्फत गाउँटोलमा मास्कको महत्वबारे टोलटोलमा सिकाइने छ । सात दिनसम्म मास्कको महत्व र लगाउने तरिका सिकाइने छ । अहिले दैनिक सङ्क्रमित बढेपछि जोखिम पनि बढेको छ । बुधबार मात्र चार हजार १०७ व्यक्तिमा सङ्क्रमण देखिएको थियो । रासस
प्रतिक्रिया