दोलखा लापिलाङ पहिराको स्थलगत निरीक्षण

दोलखा लापिलाङ पहिराको स्थलगत निरीक्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखाको कालिञ्चोक गाउँपालिका– ५ लापिलाङमा गएको पहिरो र त्यसले पु¥याएको क्षतिबारेमा वाग्मती प्रदेशका दुई मन्त्रीले आज स्थलगत निरीक्षण गर्नुभएको छ । लापिलाङको रानीवन पहिराको आज सामाजिक विकासमन्त्री सरस्वती बस्नेत र आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले स्थलगत निरीक्षण गर्नुभएको हो ।

लापिलाङको खहरे रानीवन संरक्षण क्षेत्रबाट गत वर्षको साउनदेखि नै पहिरो जान थालेको र उक्त पहिराले हाल बालीनालीसहित जग्गा कटान गरी पहिरो गाउँमा पसेपछि थप जोखिम बढेको हो । गत वर्ष आएको पहिराले नौ घर बगाएको थियो भने २२ घर पहिराको उच्च जोखिममा रहेका थिए । गत वर्षको पहिरालाई मध्यनजर गरी समयमा नै पहिरो रोकथाम तथा बस्तीलाई सुरक्षित स्थानमा स्थान्तरण गर्न नसक्दा सोही ठाउँबाट आएको पहिराले लापिलाङका सयौँ घर हाल उच्च जोखिममा परेका छन् ।

सयौँ रोपनी खेतीयोग्य जमिन कटान गरी बस्तीमा नै पहिरो आइपुगेको र हाल सयौँ घर उच्च जोखिमका कारण विस्थापित भई सयौँ परिवार आफन्त तथा सामुदायिक विद्यालय र पालमा बस्न बाध्य भएका गाउँपालिकाका उपाध्यक्ष कालिका पाठकले बताउनुभयो । पहिराकै कारण केही परिवार भूमिहीन तथा घरबारविहीन बन्न पुगेको उहाँले बताउनुभयो । मानवीय क्षति नभए पनि पहिराका कारण ठूलो क्षति हुन पुगेको हो । पहिराको निरीक्षण गर्दै आन्तरिक मामिला तथा कानूनमन्त्री पाण्डेले प्रदेशको यो वर्षकै ठूलो पहिरो सिन्धुपाल्चोकमा र मानवीय क्षति नभए पनि त्यसपछि लापिलाङको पहिरो भएको हुँदा प्रदेश सरकारको प्रत्यक्ष ध्यानाकर्षण भएको र स्थलगतरूपमा निरीक्षणका लागि आफूहरू पहिरो क्षेत्रमा आएको बताउनुभयो ।

विस्थापित भएका परिवारलाई स्थानीय तहमार्फत तत्काल राहत सामग्री उपलब्ध गराउने काम भइरहेको र स्थायी बसोबासका लागि प्रदेश सरकारले व्यवस्थापन गरिने उहाँले बताउनुभयो । पीडित परिवारलाई तत्कालका लागि प्रतिपरिवार रु २५ हजार र पक्की घर निर्माणका लागि प्रतिपरिवार रु चार लाखका दरले रकम उपलब्ध गराइने प्रदेश सरकारको नीति रहेकाले सुरक्षित स्थान पहिचानका लागि मन्त्री पाण्डेले गाउँपालिकालाई निर्देशन दिनुभयो । पहिराले जग्गा जमिन तथा घर ठूलो मात्रामा क्षति गरेको र सिङ्गो गाउँ नै पहिराको उच्च जोखिममा रहेका कारण सुरक्षित स्थानमा सरेर बस्नका लागि सामाजिक विकासमन्त्री बस्नेतले आग्रह गर्नुभयो ।

यो पनि – महाकाली घटनाको छानविन समिति व्यास प्रस्थान

दार्चुला, २२ साउन । महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न गठित छानविन समितिका पदाधिकारी व्यासको माल प्रस्थान गरेका छन् । बिहीबार भारतीय बाटो हुँदै घटनास्थल पुगेकोे सो टोली नेपालतर्फको घटनास्थल हेर्न हेलिकप्टरमार्फत आज त्यसर्फ प्रस्थान गरेको हो । समितिले व्यास गाउँपालिका– २ मालघाटको स्थलगत निरीक्षण तथा पीडित परिवारसँग छलफल गर्ने जनाइएको छ ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको सो छानविन समिति गत मङ्गलबारदेखि यहाँ रहेको छ । यही साउन १५ गते माल गाउँबाट सदरमुकाम खलङ्गा आउने क्रममा जयसिंह महाकाली नदीमा बेपत्ता भएका थिए । प्रत्यक्षदर्शीले भारतीय सीमासुरक्षा बल एसएसबीले तुइन फुकालिदिँदा धामी बेपत्ता भएको बताएपछि घटनाले चर्चा पाएको थियो । छानविन समितिमा सहसचिव गौतम सहित सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन् ।

सो समितिले घटनास्थलमा खटिएका अनुसन्धान टोली, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, घटनाका प्रत्यक्षदर्शी, सञ्चारकर्मी, मानव अधिकारकर्मी, राजनीतिक दल र व्यासका जनप्रतिनिधिसँग छलफल गरेको थियो । अहिलेसम्म धामीको शव भेटिएको छैन । आफन्तले मृतकको कुसको मूर्ति बनाएर अन्येष्टि गरिसकेका छन् । पीडित परिवारले उचित क्षतिपूर्ति तथा बालबच्चाको पालनपोषणको जिम्मा राज्यले लिनुपर्ने माग गरेको छ । रासस

यो पनि –राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम बढ्दै

हान, २२ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ । राजमार्गका विभिन्न स्थानमा भएका खाल्डाखुल्डी नपुरिँदा सवारी साधन सञ्चालन गर्न असहज भइरहेकाले दुर्घटनाको जोखिम बढेको चालक बताउँछन् । दैनिक हजारौँ सवारी साधन आवागमन गर्ने राजमार्ग नै भत्केर कुरुप बन्दा पनि सम्बन्धित सरोकारवाला निकायको यसतर्फ ध्यान जान नसकेको स्थानीयवासी बताउँछन् ।

राजमार्गका ठाउँठाउँमा गरिएको कालोपत्र अघिल्लो वर्षको असार–साउनको अविरल वर्षाका कारण मिर्चैयामा भत्केका सडकको झण्डै एक वर्षभन्दा बढी समय बिते पनि टालटुलसमेत हुन सकेका छैन । खासगरी पूर्वमा कटारी चोकदेखि पश्चिममा मिर्चैया थाना चोकसम्म रहेका खाल्डाखुल्डीका कारण राजमार्गको अवस्था अस्तव्यस्त बनेको स्थानीयवासीको भनाइ छ । मिर्चैयाको थाना चोक, कटारी चोक र पश्चिम बस बिसौनीमा रहेका ठूलठूला खाल्डाखुल्डीले पैदल आवतजावत गर्नसमेत समस्या भइरहेको छ ।

एकातिर सडकमा रहेका खाल्डाखुल्डी पार गर्न चालकले लेन मिच्दा दुर्घटनाको जोखिम बढेको स्थानीय व्यापारी अशोक साहले बताउनुभयो । राजमार्गमा रहेका समस्यालाई समाधान गर्न सडक डिभिजन कार्यालय लहानलाई पटक–पटक जानकारी गराइए पनि कुनै चासो नदिएको व्यापारी साहको कथन छ ।

राजमार्गका केही स्थानमा सडक टुटफुट भएर खाल्डाखुल्डी हुँदासमेत सडक डिभिजन कार्यालयले कालोपत्र गरेर दिगो समाधान गर्नतर्फ ध्यान नदिएको स्थानीयवासीको भनाइ छ । वर्षायाममा नै भत्किएको सडक अहिलेसम्म नबन्दा यात्रुका साथै स्थानीयवासीले सास्ती बेहोर्नुपरेको छ । मुख्यमार्गमा पैदल आवतजावत गर्नेलाई पनि कठिनाइ भइरहेको छ । सडकमा जोखिम मोलेर भए पनि चालकले यातायात सञ्चालन गर्ने गरेका छन् ।

मिर्चैया नगरपालिकाका प्रमुख श्रवणकुमार यादवले सडकको दुर्दशाप्रति आफूहरु पनि चिन्तित रहेको जनाउँदै सडकको समस्या समाधानका लागि पहल गरिरहेको बताउनुभयो । रासस