मुस्ताङमा १८ वर्ष माथिका सबैले लगाए कोरोना विरुद्धको खोप

मुस्ताङमा १८ वर्ष माथिका सबैले लगाए कोरोना विरुद्धको खोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी प्रदेशको मुस्ताङ जिल्लाका १८ वर्ष उमेर समूह माथिका सबै नागरिकले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय मुस्ताङका अनुसार १८ वर्षभन्दा माथि उमेरका नौ हजार ५०८ जनालाई तीन प्रकारको कोरोना विरुद्धको खोप लगाइएको हो । कार्यालयका प्रमुख टिकाराम भण्डारीले तोकिएको उमेर समुहका शतप्रतिशत नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको जानकारी दिनुभयो । “छ हजार ७१५ जनालाई जोन्सन एण्ड जोन्सन र दुई हजार ४७२ जनालाई कोभिसिल्ड विरुद्धको दुई चरणको खोप लगाइएको छ”, उहाँले भन्नुभयो “भेरोसिलको पहिलो र दोस्रो डोजको खोप लगाउनेको सङ्ख्या ३३२ जना छ ।”

मुस्ताङका नागरिकका साथै रोजगार, पेशा ब्यवसाय र कामदारका रुपमा आएकाले पनि खोप सुबिधा पाएका छन् । अन्य जिल्ला घर भए पनि हाल मुस्ताङमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एम्बुलेन्स चालक, सरसफाईकर्मी, कर्मचारी, जनप्रतिनिधी, पत्रकार, सङ्घसंस्थाका कर्मचारी, शिक्षकले खोप लगाएका छन् । विसं २०६८ को जनगणना अनुसार कुल १३ हजार जनसङ्ख्या रहेको मुस्ताङमा १८ वर्षभन्दा माथिका नागरिकको सङ्ख्या नौ हजार ३६० जना थियो । मुस्ताङमा २०७७ माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप अभियान शुरु गरिएको थियो ।

कोरोना विरुद्धको कोभिशिल्ड खोप अभियान शुरु गर्दाको अवस्था सामान्य थियो । कोभिसिल्डको दोस्रो चरण, भेरोसिल र जोन्सन एण्ड जोन्सनको खोप अभियान सफल पार्न मुस्ताङका स्वास्थ्यकर्मीले निकै सङ्घर्ष गरेका छन् बाढी, पहिरो र नदी कटानले सडक अवरुद्ध हुने, सडक पुल बगाउने, बिद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा खोप अभियान सञ्चालन गर्न कठिनाई भएको थियो । मार्फा खोलामा असार पहिलो हप्ता बाढी आउँदा जोखिम मोलेर दुःखका साथ खोप ढुवानी गर्दै गरेका स्वास्थ्यकर्मीको तस्बिरले अन्तरराष्ट्रियस्तरमा चर्चा पाएको थियो ।

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा ठाउँ/ठाउँमा भरियालाई बोकाएर खोप ढुवानी गरिएको थियो भने खोलामा ट्याक्टरमार्फत खोप तारिएको थियो । खोप अभियान पूरा भएसँगै मुस्ताङका कतिपय शैक्षिक संस्थामा भौतिकरूपमै पठनपाठन सञ्चालन भएको छ ।

यो पनि  – पछिल्लो २४ घन्टामा थप ३,७२९ जनामा कोरोना संक्रमण पुष्टि,२५ जनाको मृत्यु

काठमाडौं, २१  साउन । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३,७२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९,४९३ पीसीआर र ६,१८२ एन्टीजेन परीक्षणमा ३,७२९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ७ लाख १० हजार ५०९ पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएकाहरुको संख्या ६७ हजार ८० पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा १,८८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ६ लाख ६५  हजार ५४८  पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

यो पनि – बढ्न थाल्यो कोरोना ः अक्सिजनसहितका आइसोलेशन पूर्ववत अवस्थामा राख्न निर्देशन

पछिल्ला केही हप्तादेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्थानीय तहका आइसोलेशनलाई पूर्ववत् सुविधामा राख्न निर्देशन दिइएको छ । काभ्रेस्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसीएमसी)ले आवश्यक अक्सिजनसहित पूर्ववत् अवस्थामा राख्न निर्देश गरेको हो ।

स्थानीय तहमा रहेका आइसोलेशन अक्सिजनसहित पुनःसञ्चालनमा ल्याउन निर्देशन दिएको केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारीदिनुभयो । “सङ्क्रमणदर दैनिक बढ्न थालेपछि स्थानीय तहका आइसोलेशन अक्सिजन सुविधासहित पुनः सञ्चालनमा ल्याउन निर्देशन दिएका छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार सङ्क्रमण उच्च रहेका केही स्थानीय तहमा भने आइसोलेशन सञ्चालनरत रहेका छन् । पाँचखाल नगरको आइसोलेशनमा पाँच सङ्क्रमित उपचाररत छन् । जिल्लामा दैनिक सङ्क्रमणदर बढिरहेको तर थोरै मात्रामा कोरोनामुक्त हुने गरेको केन्द्रको तथ्याङ्कले देखाएको छ । अघिल्लो महिना जिल्लामा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या शुन्यतामा झरे पनि यही साउनमा मृत्यु भइरहेका छन् । साउनमा मात्रै एक हजार १४ मा सङ्क्रमण देखियो भने सातले ज्यान गुमाइसकेका छन् ।

जिल्लामा हालसम्म १३ हजार ९३ मा सङ्क्रमण देखिएकोमध्ये १७८ को मृत्यु भइसकेको छ । मृतकमध्ये पनि १३३ कोरोना दोस्रो लहरका हुन् । जिल्लाका अस्पतालमासमेत कोरोनाका बिरामीको चाप बढिरहेको जनाइएको छ । हाल जिल्लामा एक हजार ८४२ सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी बनेपा नगरमा २०५, धुलिखेलमा १६५, पाँचखालमा १३७, नमोबुद्धमा ६७, मण्डनदेउपुरमा ४७ तथा रोशी २१, चौँरीदेउरालीमा तीन, तेमालमा आठ, भुम्लुमा २१, बेथानचोकमा नौ र महाभारत गाउँपालिकामा तीन सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनायो । तेह्र स्थानीय तहमध्ये हाल खानीखोला गाउँपालिका कोरोना सङ्क्रमणमुक्त भएको छ ।

त्यसो त आगामी केही महिनामा कोरोनाको सङ्क्रमणदर बालबालिकामा उच्च हुने प्रक्षपण गरिएपछि पनौती नगरले बालबालिकाको लागि गत असारमै आइसोलेशन निर्माण गरेको छ । नगरले ४ नम्बर वडा कार्यालयमा हाललाई ३० श्ययाको आइसोलेशन बनाएको हो । स्थानीय रोटरी नेपालसँगका सहकार्यमा अक्सिजनसहितको आइसोलेशन बनाइएको नगरप्रमुख भीमप्रसाद न्यौपानेले जानकारीदिनुभयो । “सम्भावित दुर्घटनाबाट बालबालिकालाई जोगाउन अहिल्यै पूर्वतयारीस्वरुप आइसोलेशन बनाएका हौँ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार गम्भीर अवस्थामा आवश्यकता परे वैकल्पिक व्यवस्थापनका लागिसमेत नगरमा छलफल भइरहेको छ । नगरले कोरोनाको दोस्रो लहर शुरुआत भएपछि वैशाख अन्तिम साता २५ श्ययाको अक्सिजनसहितको आइसोलेशन व्यवस्थित गरेको थियो । पनौतीमा हाल ६५ महिलासहित १५६ कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने दुई दर्जनबढीको मृत्यु भइसकेको छ ।केन्द्रले गत जेठ अन्तिमसाता आउँदो केही महिनामा कोभिड–१९ को सङ्क्रमणदर बालबालिकामा उच्च हुने प्रक्षेपण गरिएअनुसार जिल्लास्थित अस्पताललाई २०५ श्यया छुट्याउन लगाउने निर्णयसमेत गरेको थियो । धुलिखेल अस्पतालले बालबालिकाका लागि १०० श्यया व्यवस्थापन गर्ने सम्झौता भइसकेको प्रजिअ पोखरलले बताउनुभयो ।

धुलिखेल, मेथिनकोट, बनेपास्थित शिरमेमोरियल र भोमी अस्पताललगायतलाई प्रारिम्भक चरणमा २०५ श्यया छुट्याउन अनुरोध गरिने केन्द्र सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले जानकारीदिनुभयो । उहाँका अनुसार प्रक्षेपणअनुसार बालबालिकामा सङ्क्रमण फैलिए स्थानीय तहलाई समेत बालबालिकाका लागि छुट्टै अक्सिजनसहितको आइसोलेशन कक्ष निर्माण गर्न लगाइनेछ । “प्रक्षेपित तेस्रो लहरले कस्तो क्षति पु¥याउँछ सोहीअनुसार व्यवस्थापनमा लाग्न तयारी अवस्थामै छौँ”, उहाँले भन्नुभयो । रासस