हुम्लामा पहिलोपटक बन्यो पक्की घाट

हुम्लामा पहिलोपटक बन्यो पक्की घाट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्लामा पहिलोपटक शव जलाउने पक्की घाट बनेको छ । खार्पुनाथ गाउँपालिकाको खार्पुमा कर्णाली नदी र दोजाम कर्णाली मिसिने दोभानमा पहिलोपटक घाट निर्माण गरिएको हो । नदीको तीरमा शव जलाउँदा नदीको बहावबाट बच्न र व्यवस्थित शव जलाउनका लागि घाट निर्माण गरिएको हो । कर्णाली नदीको तीरमा शव जलाउने घाट निर्माण भएपछि मलामीलाई सहज भएको सिमकोट गाउँपालिका–५ का पुसे रोकायाले बताउनुभयो । ठेहे, सिमकोटलगायत गाउँबाट शव बोकेर घाटसम्म पुग्न दुई÷तीन घण्टा लाग्ने गरेको भए पनि पानीको बहाव बढ्दा नदी किनारमा जलाउन कठिन भइरहेका बेला घाट निर्माणले सजिलो बनाएको उहाँले बताउनुभयो ।

गत वर्ष घाट नहुँदा एक मलामीको अस्थायी ढुङ्गाको घाट बनाउने क्रममा झण्डै ज्यान जोखिममा परेको उहाँले बताउनुभयो । पक्की शव जलाउने घाट बनेपछि मलामीलाई शव जलाउन सहज भएको छ । वर्षामा नदीमा पानीको बहाव बढ्दा शव जलाउन कठिन हुने देखिएकै कारण नयाँ घाटको निर्माण गरिएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताउनुभयो । खार्पुमा तीनवटा पक्की घाट निर्माण गरिएका कारण अब मलामीलाई सजिलो हुने अध्यक्ष रावलले बताउनुभयो । यी घाट सिमकोट र खार्पुनाथ गाउँपालिका–११ वटा गाउँबाट लगिने शव जलाउन सहज भएको छ । नदी किनारमै अस्थायी घाट बनाएर शव जलाउँदा मलामीलाई जोखिम देखिएको र शवलाई व्यवस्थित गरेर जलाउन नयाँ पक्की घाट निर्माण गरिएको बताइएको छ ।

घाट निर्माण गरेर प्रयोगमा आएसँगै यसअघि नदीको तीरमा हावा लाग्ने तथा शव राम्रोसँग नजलेरै नदीमा फाल्नुपर्ने बाध्यताबाट अब मलामीले मुक्ति पाउने विश्वास गरिएको छ । घाट निर्माण र नदीमा तटबन्धन गर्नका लागि कर्णाली प्रदेशसभामा हुम्लाबाट प्रतिनिधित्व गर्ने (ख) नम्बर क्षेत्रका सदस्य जीवनबहादुर शाहीले प्रदेश पूर्वाधार विशेष कार्यक्रमबाट रु ५० लाख बजेट विनियोजन गरेर खर्च गरिएको हो । यसका लागि खार्पुनाथ गाउँपालिकाले समन्वय गरेको थियो । रासस

यो पनि – वर्षौँपछि खानेपानीको समस्या हट्यो

बिहान उठ्यो कि सबैभन्दा पहिला पानीकै जोहो गर्नुपर्ने तीनपाटन गाउँपालिका–१ छरछरेवासीको बाध्यता अन्त्य भएको छ । पुस्तौँदेखि खानेपानीको अभावमा जीवनयापन गर्दै आएका छरछरेवासी यतिबेला घर नजिकैको धारामा पानी आउँदा हर्षित भएका छन् । विगतमा पानीको पालोमा कुवा तथा पँधेरामा बास बसेर एक गाग्री पानीको जोहो गर्न पनि दिन–रात बिताउनुपर्ने बाध्यतामा रहेका छरछरेवासीलाई वडा तथा गाउँपालिकाको पहलमा नेपाल स्वास्थ्यका लागि पानी नेवाले लिफ्टबाट खोनेपानी पु¥याइदिएपछि खानेपानीको सुविधा मिलेको हो ।

पिउने पानीको जोहो गर्दै वर्षौँ बिताएका नागरिक यतिबेला आँगनको धारामा पानी थाप्न पाउँदा उनीहरुमा खुशीको सीमा छैन । स्थानीय सरकारको पहलमा धारामा पानी थाप्न पाउँदा बल्ल सरकार भएको अनुभूति गर्न पाएका छन् । “एक छाक खाना बनाउन र धित मर्ने गरी पिउने पानीको हाहाकारमा जीवन गुजारा गर्दै आएका थियाँै”, स्थानीयवासी मनमाया कार्कीले भन्नुभयो, “हिजो हिलो निचोरेर पानी खान्थ्याँै, कुवामा झगडा पर्दथ्यो, कुवामा नै दिनरात बिताएर एक गाग्री पानीको जोहो गर्दथ्यौँ ।”

यसअघि प्लान नेपालले सिमेन्टको घ्याम्पो निर्माण गरिदिएको थियो । घ्याम्पोमा बर्सातका बेला जम्मा भएको पानीले वर्ष दिनलाई पु¥याउनुपर्दथ्यो । उहाँले भन्नुभयो, “छानाको पानी लगेर घ्याम्पोमा जम्मा भएपछि खानेपानीमा ताल्चा लगाएर राख्ने गरेका थियौँ, यसले हामीलाई राहत पु¥याएको थियो, अहिले घरै नजिकको धारमा २४सै घण्टा पानी आउँदा स्वर्गको अनुभूति गर्न पाएका छाँै ।”

विगतमा पानी पर्याप्त नहुँदा नुहाउने र लुगा धुने व्यथा यतिबेला कथा बनेको स्थानीयवासी रुद्रबहादुर खड्काले बताउनुभयो । “मानिस र पशु दुवैले धित मर्ने गरी पानी पिउन पाएका थिएनौँ, यति मात्र होइन, हाम्रा गाउँमा छोरी दिन पनि मान्दैन थिए, विवाहजस्ता कार्य गर्दा खोला धाउनुपर्दथ्यो, यस्तो अवस्थामा रहेका हामीलाई नेवाले खानेपानी ल्याइदिएपछि स्वर्गानुभूति भएको छ”, उहाँले भन्नुभयो, “हिलो निचोरेर आउने धमिलो पानीले श्वास अल्झाएका हामी यतिबेला धारमा पानी थापेर वर्षौँदेखि नमरेको धित मार्न पाएका छौँ, खानेपानीले सुविधासम्पन्न भएका छौँ ।”

लामो समयदेखि पानीको समस्या झेल्दै आएका नागरिकलाई केही गैरसरकारी संस्थाले खानेपानी जोहो गर्नका लागि सिमेन्टको घ्याम्पो बनाइदिएका थिए । आकाशबाट परेको पानी घरको बलेसीबाट सङ्कलन गरी घ्याम्पोमा सङ्कलित पानीले वर्ष दिन बिताउनुपर्ने बाध्यता थियो तर यतिबेला वडा कार्यालयको पहल र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को साझेदारीमा सोलार लिफ्ट प्रविधिबाट सबैलाई पानी वितरण गरिँदै आएको वडाध्यक्ष गोविन्द राउतले जानकारी दिनुभयो । वडामा जनप्रतिनिधि आएपछि छरछरे, चिसापानी, हात्तीसार, क्वान्द्रे, भुकुने, नेपाले शिखरलगायतका स्थानमा वर्षौँदेखिको खानेपानी समस्या यस वर्षबाट समाधान भएको उहाँको भनाइ छ । यसबाट १०० भन्दा बढी घरपरिवार लाभान्वित भएका छन् ।

डोकोमा गाग्री बोकेर घण्टौँपछि घर आउने स्थानीयवासीको यतिबेला पानीका लागि खर्चनुपर्ने समयको बचत भएको उहाँले बताउनुभयो । बेलघारी–१ निवासी सयौँ घरपरिवारले यतिबेला स्वच्छ पिउने पानी पाएको उहाँले बताउनुभयो । “पानी स्वास्थ्यका लागि अतिआवश्यक हो, त्यहाँको समस्या हामी आएको केही वर्षपछि विभिन्न निकायसँग पहल गरेर समाधान गरेका छाँै”, उहाँले भन्नुभयो ।