वर्षौँपछि गाउँमा बिजुली पुग्दा खुशीयाली

वर्षौँपछि गाउँमा बिजुली पुग्दा खुशीयाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विद्युत् विस्तारका लागि पोल गाडेको वर्षौँपछि जिल्लाको केआइसिंह गाउँपालिका–१ गणेशकाडा र ४ को मगरबस्तीमा बल्ल विद्युत् पुगेको छ । वर्षौँपछि बिजुली बत्ती प्रयोग गर्न पाएकामा अहिले त्यहाँका बासिन्दा खुशी छन् । वडा नं १ का वडाध्यक्ष कृष्णबहादुर बमले भन्नुभयो, “सल्लाको दियालो र टुकीको भरमा गुजारा चलाउँदै आएका यहाँका बासिन्दालाई निकै सास्तीे थियो, ठूलो मेहेनतले बत्ती पु¥यायौँ, अहिले सबै खुशी छन् ।”

दुर्गम क्षेत्रका रूपमा रहेका ती वडामा हिजोसम्म बिजुली बत्ती नभएका कारण स्कूले केटाकेटीलाई पढ्न निकै गाह्रो हुँदै आएकामा अब सो समस्या समाधान भएको गणेशकाडा निवासी तेजबहादुर मगरले बताउनुभयो । दुबै स्थानमा शनिबार एकैसाथ बिजुली बत्ती बालिएको विद्युत् विस्तारको जिम्मा पाएका निर्माण व्यवसायी तेजबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “ अब सबै वडामा राष्ट्रिय प्रसारणको बिजुली पुगेको छ ।”

जिल्लाका नौवटै स्थानीय तहका प्रतेक वडामा विद्युत विस्तार गर्ने रणनीतिअनुसार काम अगाडि बढिरहेको दिपायलस्थित विद्युत् कार्यालयका प्रमुख कौशलदेव जोशीले जानकारी दिनुभयो ।  “कम्तीमा पनि हामी २५÷३० घरधुरीले टुकी र सोलार बत्तीको मद्दतले निर्वाह गर्दै आएका थियौँ”, अर्का स्थानीयवासी केशव बमले भन्नुभयो, “हाम्रा गाउँ ठाउँमा बिजुली बत्ती आएसँगै गाउँको मुहार नै परिवर्तन भएको महसुस गरेका छौँ, बिजुली नहुँदाको दुःख अन्त भए ।”  बिजुलीको अभावमा टेलिभिजन हेर्न एकादेशको कथाजस्तै भएको थियो भने मोबाइल चार्ज गर्न पनि गाउँपालिकाको सदरमुकाम वाइल जानुपर्ने बाध्यता अब निराकरण भएको अर्का स्थानीयवासी शेरबहादुर ऐरले भन्नुभयो ।

यो पनि – वर्षौँपछि खानेपानीको समस्या हट्यो

बिहान उठ्यो कि सबैभन्दा पहिला पानीकै जोहो गर्नुपर्ने तीनपाटन गाउँपालिका–१ छरछरेवासीको बाध्यता अन्त्य भएको छ । पुस्तौँदेखि खानेपानीको अभावमा जीवनयापन गर्दै आएका छरछरेवासी यतिबेला घर नजिकैको धारामा पानी आउँदा हर्षित भएका छन् । विगतमा पानीको पालोमा कुवा तथा पँधेरामा बास बसेर एक गाग्री पानीको जोहो गर्न पनि दिन–रात बिताउनुपर्ने बाध्यतामा रहेका छरछरेवासीलाई वडा तथा गाउँपालिकाको पहलमा नेपाल स्वास्थ्यका लागि पानी नेवाले लिफ्टबाट खोनेपानी पु¥याइदिएपछि खानेपानीको सुविधा मिलेको हो ।

पिउने पानीको जोहो गर्दै वर्षौँ बिताएका नागरिक यतिबेला आँगनको धारामा पानी थाप्न पाउँदा उनीहरुमा खुशीको सीमा छैन । स्थानीय सरकारको पहलमा धारामा पानी थाप्न पाउँदा बल्ल सरकार भएको अनुभूति गर्न पाएका छन् । “एक छाक खाना बनाउन र धित मर्ने गरी पिउने पानीको हाहाकारमा जीवन गुजारा गर्दै आएका थियाँै”, स्थानीयवासी मनमाया कार्कीले भन्नुभयो, “हिजो हिलो निचोरेर पानी खान्थ्याँै, कुवामा झगडा पर्दथ्यो, कुवामा नै दिनरात बिताएर एक गाग्री पानीको जोहो गर्दथ्यौँ ।”

यसअघि प्लान नेपालले सिमेन्टको घ्याम्पो निर्माण गरिदिएको थियो । घ्याम्पोमा बर्सातका बेला जम्मा भएको पानीले वर्ष दिनलाई पु¥याउनुपर्दथ्यो । उहाँले भन्नुभयो, “छानाको पानी लगेर घ्याम्पोमा जम्मा भएपछि खानेपानीमा ताल्चा लगाएर राख्ने गरेका थियौँ, यसले हामीलाई राहत पु¥याएको थियो, अहिले घरै नजिकको धारमा २४सै घण्टा पानी आउँदा स्वर्गको अनुभूति गर्न पाएका छाँै ।”

विगतमा पानी पर्याप्त नहुँदा नुहाउने र लुगा धुने व्यथा यतिबेला कथा बनेको स्थानीयवासी रुद्रबहादुर खड्काले बताउनुभयो । “मानिस र पशु दुवैले धित मर्ने गरी पानी पिउन पाएका थिएनौँ, यति मात्र होइन, हाम्रा गाउँमा छोरी दिन पनि मान्दैन थिए, विवाहजस्ता कार्य गर्दा खोला धाउनुपर्दथ्यो, यस्तो अवस्थामा रहेका हामीलाई नेवाले खानेपानी ल्याइदिएपछि स्वर्गानुभूति भएको छ”, उहाँले भन्नुभयो, “हिलो निचोरेर आउने धमिलो पानीले श्वास अल्झाएका हामी यतिबेला धारमा पानी थापेर वर्षौँदेखि नमरेको धित मार्न पाएका छौँ, खानेपानीले सुविधासम्पन्न भएका छौँ ।”

लामो समयदेखि पानीको समस्या झेल्दै आएका नागरिकलाई केही गैरसरकारी संस्थाले खानेपानी जोहो गर्नका लागि सिमेन्टको घ्याम्पो बनाइदिएका थिए । आकाशबाट परेको पानी घरको बलेसीबाट सङ्कलन गरी घ्याम्पोमा सङ्कलित पानीले वर्ष दिन बिताउनुपर्ने बाध्यता थियो तर यतिबेला वडा कार्यालयको पहल र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को साझेदारीमा सोलार लिफ्ट प्रविधिबाट सबैलाई पानी वितरण गरिँदै आएको वडाध्यक्ष गोविन्द राउतले जानकारी दिनुभयो । वडामा जनप्रतिनिधि आएपछि छरछरे, चिसापानी, हात्तीसार, क्वान्द्रे, भुकुने, नेपाले शिखरलगायतका स्थानमा वर्षौँदेखिको खानेपानी समस्या यस वर्षबाट समाधान भएको उहाँको भनाइ छ । यसबाट १०० भन्दा बढी घरपरिवार लाभान्वित भएका छन् ।

डोकोमा गाग्री बोकेर घण्टौँपछि घर आउने स्थानीयवासीको यतिबेला पानीका लागि खर्चनुपर्ने समयको बचत भएको उहाँले बताउनुभयो । बेलघारी–१ निवासी सयौँ घरपरिवारले यतिबेला स्वच्छ पिउने पानी पाएको उहाँले बताउनुभयो । “पानी स्वास्थ्यका लागि अतिआवश्यक हो, त्यहाँको समस्या हामी आएको केही वर्षपछि विभिन्न निकायसँग पहल गरेर समाधान गरेका छाँै”, उहाँले भन्नुभयो ।