कैलाली भजनीकी रुप्सा विक रातभर ढुक्कले सुत्न सक्नुहुन्न । उहाँ हरेक रात बाढी आएको सपना देख्नुहुन्छ । गत वर्षको बाढीपछि उहाँमा यस्तो समस्या देखिएको छ । सुत्केरी अवस्थामा रहेकी विक नवजात शिशुसँगै गत वर्षको साउन १४ गते आराम गरिरहनुभएको थियो । आमाछोरा मस्त निन्द्रामा थिए । एक्कासि छिमेकीले हल्ला गरेको सुन्नुभयो र निन्द्राबाट ब्यूँझनुभयो, उहाँँ । यतिबेला सुतेको खाट पानीले डुब्नमात्र बाँकी थियो ।
‘‘छिमेकीले सुतेको शिशु उठाएर दौडिए, म पनि एकसरो लुगामा भागेर ज्यान जोगियो’’, विक सम्झनुहुन्छ, ‘‘घरमा भएका केही सामान लिन सकिएन, बच्चा र आफ्ना लागि चाहिने लुगाफाटा पनि बोक्न सकिएन । सुत्केरी अवस्थाकी म शिशु बोकेर एक सातासम्म सडकमा बस्नुप¥यो ।’’ उहाँको निन्द्रा अहिले पनि उस्तै छ । यसपछिका दिनमा उहाँ कहिल्यै राम्ररी नसुतेको बताउनुहुन्छ । ‘‘अहिले छोरा १ वर्षको भयो, सुत्केरी अवस्थामा आराम गर्नुपर्ने, पोषिलो खानुपर्ने समयमा निकै तनाव र दुःख पाइयो’’, उहाँ भन्नुहुन्छ, ‘‘वर्षात् शुरु भएदेखि बाढी आउने त्रासले सताउँछ । आकाशमा बादल लागेको दिन बाढीको पीडा सम्झन्छु, म त निन्द्रामै झस्कने गर्छु ।’’
कैलाली बाढीको उच्च जोखिममा रहेको जिल्ला हो । यहाँका नदी कर्णाली, मोहना, पथरिया, कन्द्रा र काँडामा पानीको बहाव बढेमा भजनी र टीकापुर नगरपालिका, जोशीपुर र जानकी गाउँपालिका बाढीको जोखिममा रहन्छन् । गत वर्षको बाढीमा एक साता विस्थापित भएका टीकापुरका ज्येष्ठ नागरिक मोतिसिंह साउदमा पनि रुप्साको जस्तै समस्या छ । साउन महिनामा आएको बाढी बस्तीमा पसेपछि गाउँमा रहेको उद्धार समितिले मोतिसिंहलाई उद्धार गरी गाउँमै रहेको एउटा विद्यालयमा राख्यो । राम्ररी हिँडडुल गर्न नसक्ने मोतिसिंहलाई विद्यालयमा बस्दा धेरै कठिन भयो ।
‘‘विद्यालयमा शौचालय जान, गर्मी छल्न, लामखुट्टेको टोकाइले सतायो’’, उहाँ सम्झनुहुन्छ, ‘‘एक सातापछि घर फर्कदा घरमा माटो र हिलोमात्र भरिएको थियो । अन्नपात सबै बगेर नष्ट भएको थियो ।’’मोतिसिंहलाई पनि गत वर्षको बाढीपछि विभिन्न खाले समस्या शुरु भएको छ ।निदाउन नसक्ने, डराउने, निन्द्रामा छट्पटिने जस्ता समस्या भइरहेका छन् । ‘‘गत वर्षको बाढीको भोगाइपछि यस्तै हुन्छ, बुढेसकालमा यस्तै हुन्छ होला सोँच्छु’’, विकभन्नुहुन्छ, ‘‘अरुलाई पनि सोध्छु, बाढीको पीडा भोगेका अरुलाई पनि यस्तै त्रास हुनेरहेछ । छिमेकीहरु हामीलाई नि डर लाग्छ भन्छन् ।’’
यसरी स्वास्थ्यमा समस्या देखिए पनि उनीहरुको उपचारमा कसैको ध्यान जान सकेको छैन । प्रभावित क्षेत्रका नागरिकले यसलाई स्वास्थ्य समस्या हो भन्ने बुझेका छन् । टीकापुर– ७ का स्थानीयवासी भोजराज ढुङ्गाना प्रभावित क्षेत्रका नागरिक मनोत्रासमा रहेकाले उनीहरुको उपचार, स्वास्थ्य परीक्षणजस्ता कार्यमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउनुहुन्छ ।‘‘डरले यस्ता समस्या देखिएका छन् तर यसले भविष्यमा मनोसमस्या निम्त्याउने देखिन्छ’’, उहाँ भन्नुहुन्छ, ‘‘सरकारले उपचार तथा सान्त्वना दिने काम गर्नुपर्छ ।’’टीकापुर जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका संयोजक बलबहादुर रावल यस्ता खाले समस्याले भविष्यमा मनोरोगी बनाउने भएकाले समयमै उपचारमा जान सुझाव दिनुहुन्छ ।
‘‘हाम्रो पालिकामासमेत मनोपरामर्शदाता छन्, समस्या भएका स्वास्थ्य संस्थामा आए हामी चिकित्सकसम्म पुगाउन सघाउनेछौँ’’, उहाँ भन्नुहुन्छ, ‘‘शरीरमा आउने परिवर्तन, आनीबानीमा हुने फरक व्यवहारलाई सामान्यरुपमा नलिऔँ, उपचारमा आए समस्याको केही समाधान हुन्छ ।’’बाढीले गत वर्ष यी पालिकामा हजारौँ नागरिक प्र्रभावित भएका थिए । सयौँ विघा खेतीयोग्य जमीन बगर भएको थियो । प्रभावित क्षेत्रका नागरिक यसवर्ष पनि वर्षात् शुरु भएदेखि रातिको समयमा निदाउन सकेका छैनन् । कर्णाली नदीले टीकापुर, भुराखानी, शाहीपुर र श्रीलङ्का क्षेत्रमा कटान तीव्र पारेपछि त्यहाँका नागरिकमा समेत यस्तै त्रास छ ।शाहीपुरमा तटबन्ध भत्किएपछि नेपाली सेना, सशस्त्र प्रहरी बल, कुला समितिका उपभोक्ता, रानी जमरा कुलरिया सिँचाइ आयोजना र टीकापुरले जैविक तटबन्ध निर्माण गरिरहेका छन् । रासस
प्रतिक्रिया