नेकपा (एमाले)को स्थायी कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको एमालेका उपाध्यक्ष बामदेव गौतमले जानकारी दिनुभयो । पार्टीले उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल गठन गरेको थियो ।
कार्यालय सचिव शेरबहादुर तामाङ्ले पारित गरिएको प्रस्ताव केन्द्रीय कमिटीमा पेश गर्ने बताउनुभयो । उहाँका अनुसार संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाइ पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ । कार्यालय सचिव तामाङ्ले अध्यक्ष र महासचिव बाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने नयाँ व्यवस्था संशोधित विधानमा प्रस्ताव गरिएको जानकारी दिनुभयो ।
यसैगरी केन्द्रीय कमिटी सदस्यको सङ्ख्या पनि बढाउने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटी २२५ जनाको राख्ने व्यवस्था संशोधित विधानमा गरिएको उहाँले जानकारी दिनुभयो । पार्टीमा उपाध्यक्षको सङ्ख्या घटाउने र सचिवको सङ्ख्या बढाउने पारित विधानमा उल्लेख छ । एमालेको केन्द्रीय कमिटी बैठक अहिले ३ बजे सोही प्रतिष्ठानमा राखिएको छ । स्थायी कमिटीले पारित गरेको विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ ।
यस्तै विधानमा प्रदेश कमिटीलाई कार्यकारिणी बनाइनेसमेत उल्लेख गरिएको कार्यालय सचिव तामाङ्ले जानकारी दिनुभयो । उहाँले अहिले बस्ने केन्द्रीय कमिटीले विधान पारित गरेपछि लागू गरिने बताउनुभयो ।
यो पनि – तुइन प्रकरण ः ड्रोनका सहायतामा धामीको शव खोज्ने तयारी
सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको शव खोजी जारी राखेका छन् । नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका हुन् । यही साउन १५ गते तुइनबाट नदी तर्नेक्रममा उहाँ बेपत्ता हुनुभएको थियो । सुरक्षाकर्मीले व्यास गाउँपालिका–२ मालदेखि महाकाली नगरपालिकाको खलङ्गा क्षेत्रसम्म निरन्तर खोजी जारी राखेका छन् । सो घटनाका बारेमा सरकारद्वारा गठित छानविन समितिले एक पटक ड्रोन क्यामरामार्फत शव खोजी गर्ने जनाएको छ ।
साउन १९ गते खलङ्गा पुगेको छानबिन समिति अहिले पनि दार्चुलामै छ । समितिका संयोजक एवं गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले ड्रोन मार्फत धामीको शव खोजी गरिने बताउनुभयो । सशस्त्र प्रहरीले बाइनाकुलरलगायतका सामग्रीको प्रयोग गर्दै नदी छेउछाउमा शव खोज्ने काम गरिरहेको सशस्त्र प्रहरी बल नम्बर ४४ का गणपति प्रहरी उपरीक्षक नरेन्द्र बमले जानकारी दिनुभयो । ड्रोन क्यामरा लिएर टोली दार्चुला आइपुगेको छ । छानबिन समिति संयोजक गौतमले भन्नुभयो, “ नदीमा बेपत्ता धामीको शव खोजी जारी राखेका छौँ ।” समितिले अहिले बयान लिने र सोधपुछ गर्ने कार्य जारी राखेको छ ।
गत शुक्रबार पीडितको परिवारसँग र नेपालतर्फको घटनास्थल निरीक्षण गरी फर्किएको टोली निरन्तर प्रतिवेदन लेख्न र सोधपुछ कार्यमा व्यस्त छ । “हाम्रो अनुसन्धान जारी छ, अहिले सुरक्षा समितिका सदस्य, घटनास्थल नजिकैका सुरक्षाकर्मीलगायतसँग सोधपुछ चलेको छ ।” उहाँले भन्नुभयो । साउन १७ गते गठित समितिलाई १० दिनभित्र सरकारले प्रतिवेदन बुझाउन भनेको छ । भनेकै समयमा प्रतिवेदन नहुन पनि सक्छ, उहाँले भन्नुभयो, “ड्रोन क्यामराले खोजी गरेपछि हामी यहाँबाट फर्किन्छौ ।”
व्यास २ मालघाटदेखि सदरमुकाम खलङ्गासम्मको क्षेत्रमा ड्रोन क्यामरा प्रयोग गर्ने भारतीय पक्षसँग समन्वय भइरहेको समितिका सदस्य एवं निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले जानकारी दिनुभयो । सहसचिव गौतम नेतृत्वको छानबिन टोलीमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र निमित्त प्रजिअ भट्ट हुनुहुन्छ ।
एकसातादेखि दार्चुलामै बसेको समितिले नेपाल भारत दुवैतर्फबाट स्थलगत निरीक्षण गरेको छ । यस्तै जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी, स्थानीयवासी, घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षा निकायसँग छलफल एवं सूचना सङ्कलन गरिरहेको छ ।
प्रतिक्रिया