तेह्रौँ संस्करणको दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) माल्दिभ्समा हुने भएको छ । साफको कार्यकारी समितिको बैठकले आगामी असोज १५ देखि २७ गतेसम्म सो प्रतियोगिता गर्ने निर्णय गरेको हो । प्रतियोगिता आयोजना गर्नका लागि नेपाल र माल्दिभ्सले दक्षिण एशियाली फुटबल महासङ्घसमक्ष प्रस्ताव राखेका थिए । प्रस्ताव अध्ययनपछि प्रतियोगिता आयोजना गर्ने जिम्मा माल्दिभ्सले पाएको हो । नेपालमा पछिल्लो समय कोरोना महामारी बढ्दै गएका कारण साफ च्याम्पियनशिप आयोजना गर्न अनुमति नपाएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।
यसअघि १३औँ संस्करणको साफ च्याम्पियनशिप बङ्गलादेशमा गर्ने तय भएको थियो । बङ्गलादेशले कोरोनाका कारण साफ च्याम्पियनशिप आयोजना गर्न नसक्ने जनाएपछि कसले प्रतियोगिता गर्ने भनेर केही समय कुर्नु परेको थियो । नेपालले सन् १९९७ र सन् २०१३ मा साफ च्याम्पियनशिप आयोजना गरेको थियो । माल्दिभ्सले भने सन् २००८ मा उक्त प्रतियोगिता आयोजना गरेको थियो । त्यतिबेला माल्दिभ्सले श्रीलङ्कासित मिलेर संयुक्त रुपमा उक्त प्रतियोगिता आयोजना गरेको हो ।
साफमा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्सले भाग लिने पक्का भएको एन्फाले जनाएको छ । भूटानले भाग लिने वा नलिने विषयमा केही दिनमा निर्णय गर्ने बताइएको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले प्रतिबन्ध लगाएका कारण पाकिस्तानले भने साफमा भाग लिन पाउने छैन । नेपालले हालसम्म साफको उपाधि जित्न सकेको छैन ।
नेपाली फुटबल टोलीले बुधबारदेखि कास्कीको पोखरामा साफको तयारी स्वरुप अभ्यास सुरु गर्ने भएको छ । साफ अघि नेपाली टोलीले भारतसँग दुई मैत्रीपूर्ण खेलसमेत खेल्नेछ । नेपालले भारतसित त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आगामी भदौ १७ र भदौ २० गते खेल्ने तय भएको छ ।
यो पनि -पछिल्लो २४ घन्टामा थप ३,६५१ जनामा कोरोना संक्रमण पुष्टि,२२ जनाको मृत्यु
काठमाडौं, २५ साउन । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३,६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १०४४५ पीसीआर र ६,१४९ एन्टीजेन परीक्षणमा ३,६५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ७ लाख १७ हजार ४८६ पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएकाहरुको संख्या ६९ हजार ५२० पुगेको छ ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा १,७८४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ६ लाख ७१ हजार ८३ पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो पनि – भारतमा एक दिनमा थप ३५ हजार सङ्क्रमित
भारतमा कोरोना भाइरसबाट एकैदिनमा थप ३५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३५ हजार ४९९ जना नयाँ सङ्क्रमित थपिएका हुन् । अघिल्ला दिनहरुको तुलनामा दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा क्रमशः कम हँुदै आएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो २४ घण्टामा ३८ हजार ६२८ जना नयाँ सङ्क्रमित थपिएका थिए भने शुक्रबार सार्वजनिक गरिएको विवरणमा ४४ हजार ६४३ जना नयाँ सङ्क्रमित भएको उल्लेख थियो ।
भारतमा अहिलेसम्म कूल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड १९ लाख ६९ हजार ९५४ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।मन्त्रालयका अनुसार अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या चार लाख दुई हजार १८८ रहेको रहेको छ । अघिल्लो दिनको तुलनामा यो सङ्ख्या घटेको छ ।थपिएका सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घटेको हो । पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ३९ लाख ६८६ रहेको छ । योसँगै भारतमा अहिलेसम्म तीन करोड ११ लाख ३९ हजार ४५७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कूल सङ्क्रमितमध्ये अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ९७.४० प्रतिशत हो । भारतमा कोरोना भाइरसका कारण पछिल्लो एक दिनमा ४४७ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कूल मृतकहरुको सङ्ख्या चार लाख दुई हजार १८८ पुगेको छ । रासस
यो पनि – आमासँगै बालबालिका पनि कोरोना सङ्क्रमित
साना छोराछोरीसँगै गाउँमा बस्दै आएकी एक महिलाले यसअघिका दुई चरणमा गाउँमा समेत फैलिएको कोरोनाको महामारीबाट आफू र बालबच्चालाई जोगाइन् । उनका पति दुई वर्षयता रोजगारीका सिलसिलामा साउदी अरेबियामा छन्। लोग्नेले घर छाडेपछि शुरु भएको महामारीले अन्ततः परिवारलाई नै सङ्क्रमित बनायो ।
बागलुङ नगरपालिका–१२ अमलाचौरकी उनले बालबच्चालाई महामारीबाट जोगाए पनि आफैँ सङ्क्रमित भएपछि भने बालबच्चालाई हेरिदिने कोही पनि भएनन् । उपाय केही नभएपछि उनले सङ्क्रमण नभएका छोराछोरीलाई राख्न बाध्य भइन् ।
होम आइसोलेशनमा बसेकी ती महिलाले आफै खाना पकाएर छोराछोरीलाई खुवाउँछिन् । ‘‘पाँच वर्षको छोरो अरुसँग बस्नै मानेन्, आठ वर्षकी छोरी पनि मसँगै छ’’, उनी भन्छिन् “आफूलाई सङ्क्रमण पुष्टि भएपछि गाउँलेले पनि सहयोग गरेनन् । घरमा अरु कोही नभएकाले बालबालिकालाई बाध्यतावस आफैँसँग राख्नुप¥यो।” एक साता अघि उनलाई सङ्क्रमण पुष्टि भए पनि त्यसयता सँगै बसेका बालबालिकाको जाँच गराइएको छैन् ।
ती महिलाका छोराछोरीलाई कोरोनाको जाँच गर्न बोलाइए पनि उनीहरू अहिलेसम्म आउन नसकेको अमलाचौर स्वास्थ्यचौकीका प्रमुख कृष्णप्रसाद शर्मा बताउनुहुन्छ ।
परिवारका अन्य सदस्यसहित जैमिनी नगरपालिका–१ की अर्की एक महिला पनि कोरोना सङ्क्रमित छिन् । नगरपालिकाले बनाएको अस्थायी कोभिड अस्पतालमा बस्दै आएकी उनी, उनका वृद्ध सासू, चार वर्षकी छोरी र ११ वर्षका छोरा पनि सङ्क्रमित भएका हुन् तर श्रीमान्को भने कोरोना जाँचको रिपोर्ट नेगेटिभ आएको छ ।
पाँच जनाको परिवारमा चार सङ्क्रमित छन् । ती महिला र उनकी सासूलाई स्वास्थ्यसम्बन्धी अन्य समस्या पनि छ । आफूहरुको स्वास्थ्यमा समस्या भएका कारण केही होला की भनेर आफूसहित छोराछोरीलाई पनि आइसोलेशनमा राख्नु परेको उनको भनाइ छ ।
छोराछोरीमा कडा खालको लक्षण त छैन तर घरमा कोही नभएका कारण सबैजना अस्थायी कोभिड अस्पतालमा बसिरहेका छन् । ‘‘आमा वा हजुरआमासँग जस्तो परिवारका अरु सदस्यसँग कहाँ बस्न मान्छन् र छोराछोरी’’ उनले भनिन् ‘‘सँगै बसेका छौं, खाना अस्पतालले दिन्छ, अरु सुसार आफैँले गर्दै आएकी छु ।’’
कोरोना महामारीको पहिलो लहरभन्दा दोस्रो लहरमा महिला र बालबालिकालाई धेरै असर पारेको छ । आमा सङ्क्रमित हुँदा बालबालिकालाई आइसोलेशनको समय समय कटाउन निकै कठिन हुने गरेको छ । आमा सङ्क्रमित हुँदा बालबालिका पनि सङ्क्रमित हुने खतरा बढिरहेको स्वास्थ्य कार्यालयका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताउनुहुन्छ ।
‘‘महामारी कठिन समय हो, यो बेलामा सबैमा मानसिक असर पनि परेको हुन्छ’’ धौलागिरि अस्पतालका मानसिक रोग विषेशज्ञ डा धीरेन्द्र पौडेल भन्नुहुन्छ, “बालबालिकाका लागि न अस्पतालका आइसोलेशनमा छुट्टै व्यवस्था गर्न सकिएको छ नत होम आइसोलेशनमा नै । त्यसैले बिरामीमा शारीरिकभन्दा पनि मानसिक समस्या बढी देखिन्छ ।” रासस
प्रतिक्रिया