आयआर्जनका लागि वनमा फलफूलका बिरुवा रोपण

आयआर्जनका लागि वनमा फलफूलका बिरुवा रोपण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीस्थित न्यौपाने गाउँका होमनाथ न्यौपानेले सोमबार थुम्कीडाँडा सामुदायिक वनमा एभोकाँडोको बिरुवा रोप्नुभयो । गाउँमा नै फलफूल नर्सरी राखरेर वार्षिक ३०÷३५ हजार आम्दानी गर्दै आउनुभएका उहाँले सामुदायिक वनमा पनि फलफूल रोप्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले मात्रै होइन, सो सामुदायिक वनका अन्य उपभोक्ताले पनि कागती, तेजपात र एभोकाँडोका बिरुवा रोपेका छन् । आम्दानीको स्रोत फलफूल भएकोले बिरुवा रोपण उपलब्धिमूलक हुने उहाँको आशा रहेको छ ।

‘सामुदायिक वन राष्ट्रिय दिवस २०७८’ को अवसरमा डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकको सहयोग तथा सामुदायिक वन उपभोक्ता महासङ्घ काभ्रेपलाञ्चोकको समन्वयमा थुम्कीडाँडा सामुदायिक वनमा कागती, तेजपात र एभोकाँडोको बिरुवा रोपिएपछि उहाँ पनि सो बिरुवा रोपणमा सहभागी हुनुभएको हो । सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य शान्ता न्यौपानेले जल, जमिन र जङ्गलबिना मानव समुदाय बाँच्न नसक्ने भएकाले तीनै वटा चिजको संरक्षण एवं व्यवस्थापनमा सबै समुदायको उत्तिकै जिम्मेवारी भएको बताउनुभयो । सामुदायिक वनमा लगाएको फलफूलको बिरुवा जोगाउने जिम्मेवारी सबैको भएकाले त्यसतर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो । डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख देवीचन्द्र पोखरेलले सामुदायिक वन व्यवस्थित ढङ्गले सञ्चालन हुँदै आएको ४० वर्ष वितिसकेकोले समय र परिस्थितिअनुसार समावेशी, समानुपातिक र पछाडि पारिएका समुदायलाई पनि समावेश गर्नुपर्ने साथै सुशासनलगायतका विषयलाई समेटेर काम गर्दै आएको बताउनुभयो । वन संरक्षण गर्ने मात्रै नभइ त्यसबाट आम्दानी लिनका लागि फलफूलको बिरुवा रोप्न आवश्यक रहेको बताउँदै सबै सामुदायिक वन उपभोक्ता समिति सक्रिय भएर लाग्न उहाँले आग्रह गर्नुभयो ।

सो क्रममा पनौती नगरपालिका–११ का वडाध्यक्ष तारामान लामाले बिरुवा रोपण गरेर राम्रो आम्दानी गर्न सकेको खण्डमा थुम्कीडाँडा सामुदायिक वन सबैको लागि पर्यटनको केन्द्र बन्नसक्ने सम्भावना रहेकोले त्यसको आवश्यक पूर्वाधार तयार पार्दै अगाडि बढ्न आवश्यक रहेको बाउनुभयो । नगरपालिकाले पनि थुम्कीडाँडामा वनभोज गर्ने स्थल निर्माणको लागि आवश्यक पूर्वाधार निर्माण गर्ने विषयमा छलफल भइरहेको लामाको भनाइ छ । ‘सामुदायिक वनको सम्पत्ति, समृद्धि, प्रकृति र संस्कृति’ भन्ने नाराका साथ पहिलो पटक कागतीको बोट २००, तेजपात १०० र एभोकाँडो २० वटा बोट रोपिएको डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकका सहायक वन अधिकृत गौरव भट्टले बताउनुभयो । आवश्यकताको आधारमा थप फलफूलको बिरुवा उपलब्ध गराउने उहाँले बताउनुभयो ।

यो पनि -वितरण गर्न ल्याइएको चामल गोदामै कुहियो

नौमूले गाउँपालिकाका जनतालाई वितरणका लागि खरिद गरिएको चामल दुई वर्ष गोदाममै थन्कियो । असिनापीडितका लागि गाउँपालिकाले खाद्य डिपोबाट खरिद गरेर सस्तोमा वितरण गर्न ल्याएकामा लामो समयपछि कुहिएकाले स्थानीय प्रशासन र प्रहरीको रोहवरमा १५५ बोरा चामल गाडिएको हो । असिना परेर मकै र धानबाली नष्ट भएपछि स्थानीयवासीलाई भोकमरीको चपेटामा पर्न नदिन पाँच ट्रकभन्दा बढी चामल खरिद गरिएकामा केही वडा–वडामा वितरण गरिएको थियो ।गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र शाहीले आफूले जिम्मेवारी पाउनुभन्दा करिब दुई वर्षअघिको विषय भएको र बिग्रिएको चामललाई मुचुल्का उठाएर विर्सजन गरिएको बताउनुभयो । गाउँमा निरन्तरको कोभिडको समस्याले धेरै समय गोदाममै रहेपछि चामल बिग्रिएको उहाँको भनाइ थियो ।

जनताले तिरेको करबाट खरिद गरिएको चामल गरिब र निमुखा जनतालाई समयमै वितरण गर्नुपर्नेमा पालिकाकै कमजोरीका कारण कुहिएकाले आक्रोशित जनसमूहले सम्बन्धित पदाधिकारीलाई कारबाही गर्नुपर्ने माग गरेको स्थानीयवासी छेत्रप्रताप सुवेदीले बताउनुभयो ।

यो पनि – गाउँगाउँमा स्वास्थ्य संस्था : विपन्न समुदाय औधी खुशी

टीकापुर, २६ साउन । कैलालीको जानकी गाउँपालिकाले पालिकाका सबै वडामा स्वास्थ्य संस्था स्थापनामा जोड दिएको छ । गाउँपालिकाका वडा नं २ र ५ मा मात्रै स्वास्थ्य संस्था स्थापना हुन बाँकी छन् । स्वास्थ्य शाखा संयोजक जीतबहादुर चौधरीले वडा नं २ र ५ का भवन यही साउन मसान्तसम्म सम्पन्न हुने जानकारी दिनुभयो । “अहिले पालिकामा स्वास्थ्य संस्थाको सङ्ख्या आठ पुगेको छ । ”, उहाँले भन्नुभयो, “घरदैलोमै स्वास्थ्य सेवा पु¥याउने लक्ष्य हो । त्यहीअनुरुप काम गरिरहेका छौँ । स्वास्थ्य नागरिकको पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौँ ।”

गाउँपालिकामा स्वास्थ्यचौकीको सङ्ख्या चार, सामुदायिक स्वास्थ्य एकाइ एक, आधारभूत स्वास्थ्य केन्द्र तीन स्थापना भइसकेका छन् । गत सातामात्रै जानकी–९ बक्लौहवामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनबाट सेवा शुभारम्भ गरिएको थियो । भवनमा प्रसूति गृह, उपचारकक्ष छन् । गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनले नागरिकमा आधारभूत स्वास्थ्य सेवामा पहुँच हुने बताउनुभयो । “गाउँपालिकामा स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन अस्पताल निर्माणको प्रक्रियालाई समेत अगाडि सारेका छौँ”, उहाँले भन्नुभयो, “नागरिकलाई आवश्यक स्वास्थ्य सेवा स्थानीयस्तरमै दिने उद्देश्य हो । सामान्य बिरामी हुँदा पनि उपचारका लागि बाहिर जान नपरोस् ।”

उपाध्यक्ष उमा महतोले प्रसूतिगृह निर्माण भएकाले प्रसूति सेवा गाउँमै पाउने बताउनुभयो । “प्रसूति सेवा लिन टीकापुर अस्पताल वा अन्य स्वास्थ्यचौकी जाने गरेका थिए”, उहाँले भन्नुभयो, “अब तालिमप्राप्त स्वास्थ्यकर्मीबाट गाउँमै सेवा पाउँछन् ।”

जानकी–९ का वडाध्यक्ष खगेन्द्र भण्डारीले गाउँमै सेवा पाएपछि स्थानीयवासी खुशी भएका बताउनुभयो । “विगतमा स्वास्थ्य सेव लिन टाढा पथरैया स्वास्थ्यचौकी वा टीकापुर अस्पताल जानुपर्ने बाध्यता थियो, अब नागरिकले गाउँमै उपचार पाउँछन्”, उहाँ भन्नुभयो, “स्वास्थ्य पहिलो आधार हो । हामीले स्वास्थ्यलाई प्राथमिकता दिएर आउँदा दिनमा पनि काम गर्नेछौँ ।”

कैलालीका अन्य पालिकाले पनि गाउँगाउँमा स्वास्थ्य संस्था स्थापनालाई प्राथमिकता दिएर काम गरिरहेका छन् । टीकापुर नगरपालिकाले गत वर्ष नै सबै वडामा स्वास्थ्य संस्था स्थापना गरी सेवा दिइरहेको छ । “हामीले सबै वडामा आफ्नै भवनसहितका स्वास्थ्य संस्था स्थापना गरेका छौँ, नागरिक जटिल समस्या वा विशेषज्ञको सेवा लिनमात्र टीकापुर अस्पताल आउने गरेका छन्”, स्वास्थ्य शाखा संयोजक रावलले भन्नुभयो, “आउँदा दिनमा थप पूर्वाधार र जनशक्तिको व्यवस्था गरी थप सेवा विस्तार गर्ने योजना छ ।”

भजनी र जोशीपुर गाउँपालिकाले पनि वडास्तरमा स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकता दिएका छन् । अझ कोरोना महामारीपछि स्थानीय तहले स्वास्थ्य पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छन् । रासस