खयरभारानीका सेवक, जसले समाधिका लागि आफूले विकास गर्न खोजेको ठाउँ रोजे

खयरभारानीका सेवक, जसले समाधिका लागि आफूले विकास गर्न खोजेको ठाउँ रोजे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेलायती गोर्खा सैनिकबाट सेवानिवृत्त भएपछि जन्मथलोको विकासमा श्रम, सीप र धन खर्चेका जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका राजु पुन र उहाँकी श्रीमती गीताले मृत्युपछि समाधिका लागि आफँैले विकास गर्न खोजेको ठाउँलाई रोज्नुभएको थियो । एक दशकदेखि धार्मिक पर्यटकीय सम्भावना बोकेको खयरभारानी र खोपाराको विकासमा नेतृत्व गरिरहेका पुनले उपचारका क्रममा गत हप्ता काठमाडौँमा दिवङ्गत भएकी श्रीमती गीताको शव मङ्गलबार हेलिकोप्टरबाट ल्याएर इच्छाइएको ठाउँमा लगेर समाधि गराउनुभएको छ । “हामी दम्पतीले टुटुङ्गाको डाँडामा समाधि गर्ने ठाउँ खोजेका थियौँ, श्रीमती दिवङ्गत भएपछि उनको इच्छानुसार यहीँ ल्याएर समाधि गरेको हो”, राजुले भन्नुभयो, “मलाई पनि यहीँ ल्याएर समाधि गर्न परिवार र आफन्तलाई भनेको छु ।”

बाइस वर्ष सेवा गरेपछि बेलायती गोर्खा सैनिकबाट सेवानिवृत्त हुनुभएका ६९ वर्षीया लेफ्टिनेन्ट राजु विसं २०६८ देखि भौगोलिकरूपमा दुर्गम क्षेत्रमा पर्ने ओझेलमा परेको खयरभारानी क्षेत्रको पूर्वाधार विकास, प्रचार र तीर्थालुको सेवामा समर्पित अगुवा हुनुहुन्छ ।विश्वकै विकसित र सुविधासम्पन्न देश बेलायतको सरकारबाट पाएको आवासीय सुविधा छाडेर दुर्गम ठाउँको विकासमा लाग्नुभएका राजुलाई सघाउन नेपालमै रहेकी गीताको गत हप्ता काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । बेलायतमा रहेका छोरीहरु सोमबार नेपाल आएपछि गीताको शवलाई समाधिका लागि एयर अल्टिच्युटको हेलिकोप्टर चार्टर गरेर ल्याइएको हो ।

समाधि गर्ने ठाउँभन्दा एक घण्टा पैदल हिँडेपछि पुगिने दहमा अवतरण गरेको गीताको शव बोकेको हेलिकोप्टर मौसम खराबीका कारण मङ्गलबार काठमाडौँ फर्कन सकेन । मौसमकै कारण अन्नपूर्ण गाउँपालिकाको घारमा अवतरण गरेको उनीहरुका चार बहिनी छोरी चढेको हेलिकोप्टर त्यहीँबाट काठमाडौँ फर्किएको थियो ।समाधिका लागि पाउद्वारका बासिन्दा, दाजुभाइ र आफन्त सोमबार नै खोपारामा गएर बास बसेका थिए । पाउद्वारबाट खोपारा पुग्न पूरै दिन उकालोमा पैदलयात्रा गर्नुपर्छ । पाउद्वारका लीलबहादुर पुनले राजुका दम्पतीले समाधिका लागि पनि खयर क्षेत्र रोज्नुलाई उहाँहरुको यस क्षेत्रको विकासप्रतिको लगावलाई पुष्टि गर्ने बताउनुभयो ।

“सुख, सुविधा बिर्सिएर यस्तो दुर्गम ठाउँलाई विकास गराउन उहाँले धेरै योगदान गर्नुभएको छ”, लीलबहादुरले भन्नुभयो, “मत्युपछि पनि यही ठाउँ रोजेर उहाँले देखाएको लगाव र समर्पण सम्मानयोग्य, उदाहरणीय र प्रेरणादायी छ ।” राजुको नेतृत्वमा ‘खयरभारानी थान तथा क्षेत्र संरक्षण कोष’ मार्फत दाताबाट करोडौँ सहयोग जुटाएर पदमार्ग निर्माण÷सुधार, थान (मन्दिर) र धर्मशाला निर्माण भएको छ । म्याग्दीकै पर्यटकीयस्थल पुनहिलमा मेजर टेकबहादुर पुनको स्मृतिमा भ्यूटावर बनाउने कामको नेतृत्व गरेका राजुको अगुवाइमा खयर क्षेत्रमा निर्माण भएका पूर्वाधारले पर्यटक र तीर्थयात्रीलाई सहज भएको छ ।स्थानीयवासीले आफन्तको नाममा पाउद्वारबाट खोपारा हुँदै चार हजार ७०० मिटर उचाइमा रहेको खयरभारानी ताल जाने १० किलोमिटरभन्दा बढी दूरीको पदमार्ग र चौतारी बनाएका छन् । कोषले स्वदेश तथा विदेशमा सहयोग जुटाएर खोपारा र खयर क्षेत्रको पूर्वाधार विकासमा रु डेढ करोडको हाराहारीमा लगानी गरेको छ ।

समुद्री सतहबाट चार हजार ७०० मिटर उचाइमा मुटु आकारमा रहेको खयरभारानी तालमा जनै पूर्णिमाका दिन पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । तीन हजार ६६० मिटर उचाइमा अवस्थित खोपारा हिमशृङ्खला, सूर्याेदय, ग्रामीण जीवनशैली झल्काउने भेडा, चौँरीगोठ, जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण गन्तव्य हो । पदमार्ग निर्माण भएपछि पर्यटक, पाहुना र भक्तजन उकालो, चिप्लो, साँघुरो बाटोमा चिप्लने, लड्ने र बाटो बिराएर हराउने समस्या हटेको छ । आश्रयस्थल भएपछि खान र बस्नका लागि सहजतासँगै सुरक्षित भएको पाउद्वारका दलप्रसाद तिलिजाले बताउनुभयो ।