आन्द्रा र कलेजो बाहिर निस्किएको शिशुको शल्यक्रिया सफल

आन्द्रा र कलेजो बाहिर निस्किएको शिशुको शल्यक्रिया सफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जन्मँदै आन्द्रा र कलेजो पेटबाहिर निस्किएको एक शिशुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको शल्यक्रिया सफल भएको छ । भोजपुरको दावा प्राथमिक स्वास्थ्य केन्दमा जन्मिएका सिद्धेश्वर गाउँपालिका–४ मान्द्रेका सन्ध्या विकको शिशुलाई गत असार २१ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो । शिशुलाई एक महिनासम्म एनआईसीयूमा राखेर प्रतिष्ठानका डा राजेश साहको टोलीले शल्यक्रिया गरी बाहिर निस्किएको आन्द्रा र कलेजो मिलाएको थियो । बाह्र हजार शिशुमध्ये एकजनामा यस्तो समस्या आउने डा साहले बताउनुभयो । “विभिन्न कारणले जन्मनुभन्दा अगाडि पेट राम्ररी नबनेको बच्चा जन्मँदा यस्तो समस्या आउने गर्छ । यसलाई ग्यास्ट्रोजचेसिज भनिन्छ”, उहाँले भन्नुभयो ।

शिशुको नाइटोबाट पूरै आन्द्रा बाहिर निस्किएकामा १५ दिनसम्म प्लाष्टिकको ब्यागमा हालेर एनआईसीयूमा राखी शल्यक्रिया गरिएको थियो । जन्मँदा नानीको स्वरुप नै बिग्रिएको थियोे शल्यक्रियापछि राम्रो भएको शिशुका बुबा नवराज परियारले बताउनुभयो । शल्यक्रियापछि घाउ पाकेकाले आज चिकित्सकको सल्लाहअनुसार ‘फलोअप’मा राखिएको छ ।  पाँच वर्षअघि डा राजेश यस प्रतिष्ठान आएपछि यस्ता जटिल प्रकृतिका बच्चाको उपचार सहज र सुलभमा हुँदै आएको छ । यसअघि भारत तथा काठमाडौँका महँगो अस्पतालमा यस्ता बिरामीको उपचार गराउँदा लाखौँ रकम खर्च हुने गथ्र्योे तर प्रतिष्ठानले भने शल्यक्रिया शुल्क १३ हजार मात्र लिँदै आएको छ । औषधि तथा अन्य सबै गरेर रू ५० हजारमा उपचार हुँदै आएको छ ।

यो पनि – १५ लाखको लगानीमा किटजन्य रोगको अन्वेषणका लागि इन्टोमोलोजी ल्याब

किटजन्य रोगको अन्वेषणका लागि इन्टोमोलोजी ल्याब सञ्चालनमा ल्याइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले रु १५ लाखको लगानीमा स्वास्थ्य कार्यालयमा सो ल्याब स्थापना गरेको छ ।किटजन्य रोग बाहकका रूपमा रहेका लामखुट्टे र भुसुनाजस्ता किटाणुबारे जानकारी लिन सुदूरपश्चिम प्रदेशमै पहिलोपटक सो ल्याब स्थापना गरिएको राजपुरस्थित डोटी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले बताउनुभयो ।

“मानव स्वास्थ्यमा हानी पु¥याउने विभिन्न किटाणुको अध्ययन गर्ने एकमात्रै प्रयोगशाला मकवानपुर जिल्लाको हेटौँडामा मात्र छ”, उहाँले भन्नुभयो, “प्रयोगशालाका दक्ष जनशक्तिले देशभरिका विभिन्न स्थानमा पुगेर किटाणुको अध्ययन गर्दै आएका थिए तर थोरै जनशक्ति र एउटै ल्याबले सबै प्रदेशमा आवश्यकतानुसार अन्वेषण गर्न नसक्ने भएकाले यहाँ फैलिने विभिन्न किटजन्य रोगको अध्ययनका लागि ल्याब सञ्चालनमा ल्याएका छौँ ।”

औलो रोग फैलाउने एनोफिलिज लामखुट्टे र कालाजार रोग फैलाउने भुसुनाका बारेमा विस्तृतरूपमा अध्ययन गर्न ल्याब सहयोगी हुने निर्देशक अवस्थीको भनाइ थियो । कञ्चनपुरमै औलो माइक्रोस्कोपिक तालीम केन्द्रसमेत रहेको छ । यी दुवै ल्याब एकैठाउँमा स्थापना गरिएकाले विभिन्न किटजन्य रोग निवारणका लागि सहयोगी हुने भएको छ । आर्थिक वर्ष २०७८÷७९ मा प्रदेश स्वास्थ्य निर्देशनालयले औलो रोग बढी फैलिएका क्षेत्रमा हरेक महिनामा एक हप्ताको कार्यतालिका बनाई १२ महिनासम्म लामखुट्टेको आनीबानी अध्ययन गर्ने भएको छ ।

कार्यक्रमअनुसार यही साउन २५ गतेदेखि भीमदत्त नगरपालिका–९ र १० लाई केन्द्रविन्दु मानी औलो रोग सार्ने लामखुट्टेको अध्ययन शुरु गरिएको निर्देशनालयका स्रोतव्यक्ति हेमराज जोशीले बताउनुभयो । यसबाट लामखुट्टेको नयाँ प्रजाति पहिचान हुनाका साथै आनीबानीसमेत थाहा हुने र किटनाशक विषादी तथा किटनाशक झुलको प्रभावकारिताबारे पनि अध्ययन गर्न सकिने उहाँको भनाइ थियो ।रासस

यो पनि – तीस दिनभित्र कोरोना खोपको व्यवस्था गर्न पर्यटन व्यवसायीको माग

पर्यटनसँग सम्बन्धित विभिन्न छाता सङ्गठनले पर्यटकीय गन्तव्यमा अग्रपङ्क्तिमा खटिएका व्यवसायी, कामदार एवं कर्मचारीलाई ३० दिनभित्र कोरोना खोपको व्यवस्था गर्न माग गरेका छन् । कोरोनाका कारण थला परेको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्नका लागि मङ्गलबार साँझ पर्यटनसँग सम्बन्धित विभिन्न छाता सङ्गठनले संयुक्त विज्ञप्ति जारी गरी यथाशीघ्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप उपलब्ध गराई विश्व पर्यटन क्षेत्रमा विश्वसनीय वातावरणका लागि पहल गरी सम्पूर्ण पर्यटकीय क्षेत्र खुला गर्न माग गरेका हुन् ।

आर्थिक वर्ष २०७८/७९ को बजेटमा घोषणा गरिएको पर्यटनसँग सम्बन्धित नीति तथा कार्यक्रमलाई यथाशीघ्र लागू गर्नुपर्ने, कोभिडविरुद्धको खोपको मात्रा पूरा गरी नेपाल आउने पर्यटकलाई क्वारिन्टनमा बस्न नपर्ने तथा विमानस्थल र अन्य प्रवेश विन्दुमा पिसिआर परीक्षणको व्यवस्था मिलाउनुपर्ने नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सिज् (नारा)का महासचिव शिशिर खनालले बताउनुभयो ।

पर्यटकको यात्रा सहजीकरण तथा नेपाल घुम्न प्रेरित गर्नका लागि अनलाइन भिसा सेवा प्रणालीमार्फत सहजरूपमा ‘भिसा अन–अराइभल’ व्यवस्था लागू गर्नका लागि फ्रि भिसाको कार्यान्वयन अविलम्ब सुरु गरी पर्यटकीय सेवा प्रदायक होटल/एजेन्टमार्फत मात्र भ्रमण गर्न पाउने व्यवस्था गर्न माग गरिएको छ ।स्वास्थ्य सुरक्षा प्रोटोकल कार्यान्वयन प्रभावकारी बनाउन देशव्यापी तालिम तथा अनुगमन संयन्त्रको व्यवस्था गर्नुपर्ने, सिसीएमसीमा पर्यटनसम्बद्ध मुख्य छाता सङ्गठनका अध्यक्षबाट प्रतिनिधित्व हुनुपर्ने, पर्यटक सवारी साधनमा छुट्टै किसिमको इम्बोस्ड नम्बर प्लेटको व्यवस्था गर्न नेपाल सरकारलाई आग्रह गरिएको छ ।

ट्रेकिङ, टूर, ¥याफ्टिङलगायतको व्यवसायलाई बचाइराख्नका लागि न्यूनतम अधिकृत पूँजी रु २५ लाख बराबर बिनाधितो शून्य प्रतिशत ब्याजदरमा ऋणको व्यवस्था गर्नुपर्ने ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले बताउनुभयो । कोभिडका कारण पर्यटन यातायात सञ्चालन नभएको अवस्थामा सवारी कर पूर्णरूपमा छुट गर्नुका साथै आव २०७६/७७ र २०७७/७८ को जरिवना पूर्ण छुट गर्न माग गरिएको छ ।

पर्यटकीय यातायात व्यवसायीका लागि तीन प्रतिशतमा कर्जा उपलब्ध गराउनुपर्ने साथै सवारी साधन जाँचपास तथा प्रदूषण परीक्षण शीर्षकमा लाग्ने कर तथा जरिवना एक वर्षका लागि मिनाहा गर्नुपर्ने टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)का अध्यक्ष ईश्वर शर्माले बताउनुभयो ।संयुक्त विज्ञप्ति जारी गर्नेमा टान, टिवान, नारा, नेपाल एसोशिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाटा), होटल सङ्घ नेपाल (हान), नेपाल पर्वतारोहण सङ्घ (एनएमए), नेपाल एशोसिएशन अफ टुर अप्रेटर (नाटो, हिमालय उद्धार सङ्घ (एचआरए)लगायतका पर्यटकीय सङ्घसंस्था रहेका छन् ।