जनसङ्ख्याका आधारमा पार्टीमा जनजातिको प्रतिनिधित्व हुन्छ ः डा महत

जनसङ्ख्याका आधारमा पार्टीमा जनजातिको प्रतिनिधित्व हुन्छ ः डा महत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले जनजातिको जनसङ्ख्याका आधारमा पार्टीमा उनीहरुको प्रतिनिधित्व हुने बताउनुभएको छ ।आदिवासी जनजाति केन्द्रीय विभागद्वारा आज कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सहमहामन्त्री डा महतले भन्नुभयो, “नेपालमा आदिवासी जनजातिको अलग्गै र विशिष्ट पहिचान छ, उनीहरुको उत्थानबिना देशको विकास असम्भव छ ।”

सहमहामन्त्री डा महतले कांग्रेसले आदिवासीका समस्या र देशमा आदिवासी जनजातिको हितका पक्षमा काम गरिरहेको बताउनुभयो । उहाँले कांग्रेसको सरकारकै नेतृत्वमा निर्माण भएको देशको वर्तमान संविधानमा समावेशी सिद्धान्तबमोजिम नै महिला, आदिवासी जनजाति, दलितलाई राज्यमा उचित प्रतिनिधित्वको व्यवस्था गरेको पनि बताउनुभयो ।सहमहामन्त्री डा महतले सम्पूर्ण आदिवासी जनजाति कांग्रेसको समावेशी नीति र कार्यक्रमलाई जनताका सामु लैजानुपर्ने बताउनुभयो । उहाँले कांग्रेसले नै देशका प्रमुख राजनीतिक परिवर्तनहरुको नेतृत्व गरेको र त्यसमा देशका आदिवासी, जनजाति एवं दलितलगायतका देशका समग्र समुदायले कांग्रेसलाई साथ दिएको स्मरण पनि गर्नुभयो । उहाँले नेकपाको सरकारको गैरजिम्मेवार कार्यका कारण वर्तमान सरकार निर्माण भएको भन्दै यो सरकारले जनताको हितमा काम गर्छ भन्नुभयो ।
–––

यो पनि -शासन विधि र पद्धतिमा आधारित भएर चल्नुपर्छ ः नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शासन विधि र पद्धतिमा आधारित भएर चल्नुपर्ने बताउनुभएको छ । मध्यपुरथिमि नगरपालिका–३ कौशलटारको भवन आज उद्घाटन गर्दै नेता सिंहले आफ्नो व्यक्तिगत, दलगत र समूहगत स्वार्थभन्दा माथि उठेर कानुन, विधि र पद्धतिमा रहेर शासन गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले सरकारले कोरोनाविरुद्धको खोप सँगसँगै भ्रष्टाचार नियन्त्रणमा पनि जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ । नाराले होइन कामले गरेर देखाउनुपर्छ । जिम्मेवार पदमा बसेकाले पहिला सुरुआत गर्नुपर्छ ।” उहाँले जनप्रतिनिधिले जनतालाई केन्द्रबिन्दुमा राखेर कार्य गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “जनप्रतिनिधिले जनतालाई विश्वासघात गर्नुहुन्न । जनता नै सर्वोपरि हो भन्ने ध्यान दिनुपर्छ ।”

उहाँले जनप्रतिनिधि साझा व्यक्तित्व भएकाले दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा समेत जोड दिनुभयो । “जनप्रतिनिधिले दलगत स्वार्थ त्यागेर काम गर्नुपर्छ । निर्वाचनमा दलको घोषणापत्र र चुनाव चिह्न लिएर निर्वाचन जानु प्रजातान्त्रिक प्रक्रिया हो तर निर्वाचित भई सकेपछि जनताको प्रतिनिधिका रुपमा अघि बढ्नुपर्छ । दलगत स्वार्थले काम गर्नुहुन्न”, उहाँले भन्नुभयो । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सम्पदा संरक्षणमा नगरपालिकाले विशेष जोड दिए पनि नगरको सडक, ढल, सरसफाइ र व्यवस्थित बसोबासमा पनि उत्तिकै प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नगरपालिकाको नाराअनुसार सम्पदा संरक्षणको काम अघि बढेको छ । यसले बढी चर्चा पाएकाले नगरपालिकाले सम्पदा संरक्षणको मात्रै काम गरेको हो कि भन्ने बुझाइ पनि छ तर नगरपालिकाले ढल, सडक र सरसफाइमा समेत विशेष प्राथमिकता राखेर बजेट विनियोजन गरेको छ ।”

नेपाली कांग्रेसका नेता एवं मध्यपुरथिमि नगरप्रमुखका प्रत्याशी अष्ट कवेले नगरपालिकाले मध्यपुर थिमिका जनतालाई प्रमुख प्राथमिकतामा राखेर कोरोनाविरुद्धको खोप व्यवस्थापनमा थप जोड दिनुपर्ने सुझाव दिनुभयो । नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले नगरका पुराना बस्तीमा मौलिक शैलीको संरक्षणका लागि बाटोमा ढुङ्गा छाप्ने कार्य अघि बढाएको र नयाँ बस्ती क्षेत्रमा सडकलाई कालोपत्र गर्ने कार्य अघि बढाएको जानकारी दिनुभयो ।

वडा नं २ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता राम थापा मगरले नगरका ४ र ८ बाहेकका वडाको भवन निर्माण कार्य अघि बढाइए पनि विविध कारणले केही वडा भवनको काममा ढिलाइ भइरहेको जानकारी दिनुभयो । वडा नं ३ का वडाध्यक्ष प्रेमबहादुर कुटुले वडाको सुविधासम्पन्न नयाँ भवनबाट जनतालाई छिटोछरितो र सरलरुपमा सेवा उपलब्ध गराउन वडा कार्यालयलाई थप प्रविधिमैत्री बनाइने जानकारी दिनुभयो । –––