लुम्बिनीमा आलोपालो नेतृत्व गर्ने सहमति

लुम्बिनीमा आलोपालो नेतृत्व गर्ने सहमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शङ्कर पोखरेलको राजीनामापछि नयाँ सरकार गठन प्रक्रिया शुरु भएको छ । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले नयाँ सरकार गठनका लागि तयारी गरेका हुन् । जसमा मुख्यमन्त्रीमा आलोपालो नेतृत्व गर्ने विपक्षी गठबन्धनबिच सहमति भएको छ ।

मुख्यमन्त्रीमा माओवादी केन्द्र र काँग्रेसले आलोपालो गर्ने सहमति भएको माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले जानकारी दिनुभयो । प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको आह्वान गरेलगत्तै नेता केसीको नेतृत्वमा नयाँ सरकार बनाउने गठबन्धनले तयारी गरेका छन् । जनता समाजवादीलाई सरकारमा सहभागी बनाउने र राष्ट्रिय जनमोर्चा भने सरकार बाहिरै बसेर सहयोग गर्ने निर्णय भएको काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कानोडियाले बताउनुभयो ।

आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार आगामी फागुन २ गतेसम्म माओवादी केन्द्रका संसदीय दलका नेता केसीले नेतृत्व गर्ने र त्यसपछि काँग्रेस दल नेता कानोडियाले नेतृत्व गर्ने सहमति भएको छ । केसीको नेतृत्वमा बन्ने सरकारमा तत्काल प्रत्येक दलबाट एक–एक जना मन्त्री हुने र विश्वासको मत लिएपछि विस्तार गर्ने सहमति भएको नेता कानोडियाले बताउनुभयो ।

यो पनि – मुख्यमन्त्रीले राजिनामा दिएपछि लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिएको आधिकारिक जानकारी प्रदेशसभाले पाएपछि आजदखि शुरु भएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको हो । पूर्वनिर्धारित तालिका अनुसार आज १ बजेदेखि विशेष अधिवेशन शुरु भएको थियो । त्यसअघि अधिवेशनमा नेपाली काँग्रेस संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले अविश्वासको प्रस्ताव गर्नुभएको थियो । नेता कानोडियाले ढिलै भए पनि राजीनामा दिएको भन्दै मुख्यमन्त्री पोखरेललाई धन्यवाद दिनुभयो ।

बैठकमा सहसराम यादव, तारा जिसी, कृष्णध्वज खड्काले अविश्वास प्रस्तावमा समर्थन जनाउनुभएको थियो । अविश्वास प्रस्तावमाथि छलफल सकिएपछि एक घण्टाका लागि अधिवेशन स्थगित भएको थियो । सभामुख पूर्णबहादुर घर्तीले पुनःप्रदेशसभाको दोस्रो बैठक शुरु गर्दै मुख्यमन्त्रीको राजीनामा पत्र पढेर सुनाएपछि विशेष अधिवेशन सकिएको जानकारी गराउनुभएको थियो । संविधानको धारा १६८ को १ बमोजिम एमालेको एकल बहुमतमा शङ्कर पोखरेल मुख्यमन्त्री बन्नुभएको थियो । विपक्षी गठबन्धनमा ४१ सदस्य छन् । गठबन्धनबाट मुख्यमन्त्री पदका लागि माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।

बैठक शुरु हुनुअघि नै मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिए पनि प्रदेशसभा बैठक पूर्वनिर्धारित कार्यसूचीअनुसार चलेको थियो । प्रदेशसभा बैठकबाट सत्ता पक्षका सदस्यको उपस्थिति थिएन ।

यो पनि – लुम्बिनीका मुख्यन्यायाधिवक्ता डिसीद्वारा राजीनामा

लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले आज राजीनामा दिनुभएको छ । डिसीको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गर्नुभएको छ । मुख्यमन्त्री शङ्कर पोखरेलले पदबाट राजीनामा दिएसँगै मुख्यन्याधिवक्ता डिसीले पनि राजीनामा दिनुभएको हो । संविधानको धारा १६० को खण्ड ‘क’ अनुसार डिसीले मुख्यमन्त्रीमार्फत बुझाएको राजीनामा स्वीकृत गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

यो पनि – लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान