काठमाडौँ, २८ साउन (रासस) : नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे बोलाएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिनेछ ।
कांग्रेसले १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने गरी अधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ । सो कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँ÷नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते तोकिएको थियो ।
यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको थियो । क्रियाशील सदस्यताको विवादका कारण हालसम्मका अधिवेशन कार्यतालिका प्रभावित भइसकेका छन् । तसर्थ बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका बारेमा छलफल हुने बताइएको छ ।
कांग्रेसको १३औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा भएको थियो । पार्टी विधानको सुविधाअनुसार कांग्रेसले एक वर्ष म्याद गर्नुका साथै सो म्याद पनि गत फागुन २० गते समाप्त भएपछि संविधानको प्रावधानअनुसार छ महिना अवधि थप गरेको थियो । विभिन्न कारण देखाउँदै पटक पटक महाधिवेशनको मिति सार्दै आएको कांग्रेसका लागि अब महाधिवेशनको नयाँ मिति कसरी कुन विधिअनुसार तोक्ने भन्ने सम्बन्धमा ठूलो चुनौती छ ।
यो पनि – आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
काठमाडौँ, २८ साउन (रासस) : आज नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ । ‘खाद्य प्रणालीमा रूपान्तरण ः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस मनाइँदै छ । दिवसकै अवसरमा आज १०ः३० बजे राष्ट्रिय युवा परिषद्ले आयोजना गर्ने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भिडियो सन्देश दिनुुहुने छ । देशभर युवासँग सम्बन्धित विभिन्न गैरसरकारी सङ्घसंस्थाले पनि कार्यक्रम गरी दिवस मनाइरहेका छन् ।
परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले कोरोना भाइरसका कारण यसपटक पनि भर्चुअलरूपमा दिवस मनाउन थालिएको बताउनुभयो । परिषद्ले दिवसकै अवसरमा गत सातादेखि नै युवासम्बन्धी कार्यक्रम गर्दै आइरहेको छ । युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसमा विविध कार्यक्रम हुँदै आएका छन् ।
नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । सरकारीरूपमा परिषद्को अगुवाइमा विसं २०७३ देखि मनाउन थालिएको हो । सरकारले विसं २०७२ मा युवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ । नेपालमा कूल जनसङ्ख्याको ४०.३ प्रतिशत युवा रहेका छन् ।
प्रतिक्रिया