प्रदेश खेलकूद परिषद्का उपाध्यक्षमा गुरुङ

प्रदेश खेलकूद परिषद्का उपाध्यक्षमा गुरुङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी प्रदेश खेलकूद परिषद्का उपाध्यक्षमा जिल्ला बाँस्केटबल सङ्घका अध्यक्षसमेत रहनुभएका ध्वजकुमार गुरुङ नियुक्त हुनुभएको छ ।प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले उहाँलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएका भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले जानकारी दिनुभयो ।

स्याङजाको वालिङ नगरपालिका– १२ सिर्सेकोट कोखे घर भई उहाँ हाल पोखरा–१० मा बसोबास गर्दै आउनुभएको छ । यसअघि उपाध्यक्षमा नियुक्त नारायण पुन परिषद्को बैठकमा उपस्थित नभएका कारण गत साउन १३ गते ७ दिने सार्वजनिक सूचना जारी गरिएकामा सम्पर्कमा नआएको र स्पष्टीकरणको जवाफ नआएकाले उहाँलाई पदमुक्त गरी रिक्त पदमा गुरुङलाई नियुक्त गरिएको छ ।

नेपाल राष्ट्रिय ह्याण्डबल टोलीका सदस्यसमेत रहनुभएका गुरुङ पश्चिमाञ्चलको ह्याण्डबल टोलीको कप्तानीसमेत सम्हाल्नुभएको थियो । उहाँका कप्तानीमा पाँचौं राष्ट्रिय खेलकूदमा पश्चिमाञ्चलले पुरुषतर्फ स्वर्ण पदक जितेको थियो । यसैगरी मन्त्रिपरिषद्को बैठकले नवलपुरको मुकुन्दपुर–आहाले–रतनपुर–कोटथर डाँडाझेरी हुँदै बुलिङटार सडकलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने निर्णय गर्दै वन क्षेत्रको चार दशमलव छ हेक्टर जग्गा प्राप्ति तथा रुख कटानका लागि सङ्घ सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको रोकथाम नियन्त्रणका लागि अस्थायी दरबन्दीमा काम गर्दै आएका ४४४ जनाको दरबन्दी असार मसान्तमा सकिएकामा यही साउन १ देखि असोज मसान्तसम्म थप गर्ने निर्णय गरेको मन्त्री खड्काले जानकारी दिनुभयो ।

यो पनि – आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

काठमाडौँ, २८ साउन (रासस) : आज नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ । ‘खाद्य प्रणालीमा रूपान्तरण ः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस मनाइँदै छ । दिवसकै अवसरमा आज १०ः३० बजे राष्ट्रिय युवा परिषद्ले आयोजना गर्ने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भिडियो सन्देश दिनुुहुने छ । देशभर युवासँग सम्बन्धित विभिन्न गैरसरकारी सङ्घसंस्थाले पनि कार्यक्रम गरी दिवस मनाइरहेका छन् ।

परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले कोरोना भाइरसका कारण यसपटक पनि भर्चुअलरूपमा दिवस मनाउन थालिएको बताउनुभयो । परिषद्ले दिवसकै अवसरमा गत सातादेखि नै युवासम्बन्धी कार्यक्रम गर्दै आइरहेको छ । युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसमा विविध कार्यक्रम हुँदै आएका छन् ।

नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । सरकारीरूपमा परिषद्को अगुवाइमा विसं २०७३ देखि मनाउन थालिएको हो । सरकारले विसं २०७२ मा युवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ । नेपालमा कूल जनसङ्ख्याको ४०.३ प्रतिशत युवा रहेका छन् ।

यो पनि – धौलागिरि अस्पतालमा चिकित्सकको अभाव

गलकोट, २८ साउन (रासस) : धौलागिरि अस्पताल बागलुङको स्तरोन्नतिसँगै गुणस्तरीय सेवा दिन थालिएको छ । कोरोना महामारीका बीच सीमित स्रोत र साधनका भरमा पनि उत्कृष्ट व्यवस्थापन गर्दै आएको अस्पतालमा दरबन्दीअनुसारको चिकित्सक भने सीमित हुँदा सकस भएको छ । कोरोना महामारीकै अवधिमा थुप्रै पूर्वाधार, उपकरण जुटाएको अस्पतालमा दरबन्दीअनुसारका मेडिकल अधिकृत, विशेषज्ञ तथा स्वास्थ्यकर्मी छैनन् । दरबन्दीअनुसारको स्वास्थ्यकर्मी, चिकित्सक नहुँदा अपेक्षाकृतरूपमा सेवा दिन समस्या भएको अस्पतालले जनाएको छ ।

सम्भावित तेस्रो लहरको खतरा बढिरहेको बेला आइसियु र भेन्टिलेटर सञ्चालनका लागि आवश्यक मेडिकल अधिकृतको अभाव भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बि पोखरेलले जानकारी दिनुभयो । सोह्र जना स्थायी विशेषज्ञको दरबन्दी रहेको अस्पतालमा हाल एक जनामात्रै विशेषज्ञ चिकित्सक कार्यरत रहनुभएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पोखरेलबाहेक अन्य कुनै पनि विशेषज्ञ चिकित्सक नरहेको अस्पतालले जनाएको छ । अस्पतालमा अहिले १० जना विशेषज्ञ चिकित्सक करारमा कार्यरत छन् ।

यस्तै छ जना स्थायी दरबन्दी रहेको मेडिकल अधिकृतमध्ये अहिले एक जनामात्रै अस्पतालमा कार्यरत रहेको र उहाँको समेत सरुवा भइसकेको छ । अस्पतालमा कोरोना महामारीकै समयमा करारका १५ मेडिकल अधिकृत कार्यरत रहेको अस्पतालमा अहिले जम्मा पाँच जना मेडिकल अधिकृत कार्यरत रहेको र दुई जनाको करार अवधि सकिन थालेको डा पोखरेलले जानकारी दिनुभयो । “कोरोना महामारीसँग जुध्न हामीसँग लगभग जनशक्ति पुगेकै थियो, गण्डकी प्रदेश सरकारले समेत कोरोना लक्षित गरी केही मेडिकल अधिकृत थप गरेको थियो तर सबै चिकित्सक करारका थिए”, डा पोखरेलले भन्नुभयो, “यस्तो जटिल अवस्थामा दरबन्दीको त कुरै छोडौँ, करारका चिकित्सकसमेत नहुँदा समस्या जटिल बनेको छ, हामीलाई आइसियु, भेन्टिलेटर, शिशु सघन कक्षका लागि मेडिकल अधिकृत छैनन् ।”

आफूले चिकित्कसको दरबन्दीको विषयमा पटक–पटक प्रदेश मन्त्रालयमा कुरा उठाए पनि सुनुवाइ नभएको डा पोखरेलले गुनासो गर्नुभयो । सम्भावित तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने भन्दै चार शय्याको शिशु सघन कक्ष निर्माण गरेको र थप पाँच शय्याको थप गर्ने गण्डकी सरकारको योजना रहेको भए पनि मेडिकल अधिकृत र नर्सको अभाव खड्किएको उहाँले बताउनुभयो ।

“दश जना करारका भए पनि विशेषज्ञ छन् भन्ने नागरिकलाई छ तर उहाँहरुले आफ्नो विभाग धान्नै गाह्रो छ, कोरोनाका बिरामी, आइसियु, भेन्टिलेटरमा फिजिसियननै पुग्नुपर्ने हुन्छ, एउटै चिकित्सकले दिन र रात ड्युटी गर्न सक्ने कुरा भएन”, उहाँले भन्नुभयो, “इमरजेन्सी, ओपिडी, भर्ना वार्डमा एउटै चिकित्सक पुग्नुपर्ने अवस्था हुन्छ, गुणस्तरीय स्वास्थ्य सेवा दिन, नर्स, मेडिकल अधिकृत र विशेषज्ञ तीनवटैको समन्वय मिल्नुपर्दछ, धेरै भूमिका मेडिकल अधिकृतको हुन्छ ।”

अस्पतालमा उपकरण थपिँदै गए पनि दक्ष जनशक्तिको अभाव रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले बताउनुभयो । “मैले प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारीलाई ध्यानाकर्षण गराएको छु उहाँले केही चिकित्सक पठाउने प्रतिबद्धता जनाउनुभएको छ”, मगरले भन्नुभयो, “अस्पतालको सि ब्लक आठ वर्षमा सकिएको छैन, ठेकेदारलाई छिटो गर्न भन्दिन प¥यो पनि भनेको छु, अहिले तत्कालै दुई वटा डायलासिस मेसिन प्रदेशले पठाएको छ तर त्यसलाई चाहिने पानी उत्पादन गर्ने औजार चार शय्याको मात्रै छ, हामीले छ शय्याको डायलासिस कक्ष बनाएका छौँ तर सञ्चालनमा समस्या छ ।”

डायलासिस कक्षमा १८ जना बिरामी पर्खाइमा रहेको अस्पतालले जनाएको छ । दुई मेसिन सञ्चालन गर्न पाए बिरामीलाई राहत हुने अस्पतालले जनाएको छ । दुई सय शय्यामा स्तरोन्नति गर्ने योजनामा रहेको अस्पतालमा ५० शय्या भए पनि अस्पतालले आवश्यकताअनुसार शय्या थप गर्दै उपचार गरिरहेको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएको र कोरोनासँग जुध्न कम्तीमा १५ जना मेडिकल अधिकृत चाहिने अस्पतालले जनाएको छ । अहिले भएको चार÷पाँच जना मेडिकल अधिकृत इमर्जेन्सी कक्षमा जाँच र उपचारका लागि मात्रै ठिक्क हुने गरेको छ ।