बेनी अस्पतालमा बुधबारदेखि इन्डोस्कोपी सेवा सुरु

बेनी अस्पतालमा बुधबारदेखि इन्डोस्कोपी सेवा सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दीको बेनी अस्पतालमा बुधबारदेखि इन्डोस्कोपी सेवा सुरु भएको छ । स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत धवलागिरि गाउँपालिकाले विनियोजन गरेको रु ३० लाख बजेटबाट उपकरण खरिद र पूर्वाधार तयार पारेर उपचारका लागि अत्यावश्यक मानिने इन्डोस्कोपी सेवा सुरु गरिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाको सिफारिसमा गत आर्थिक वर्षमा धवलागिरि गाउँपालिकामार्फत बेनी अस्पतालको सेवा विस्तारका लागि सो बजेट विनियोजन भएको थियो । समितिका अध्यक्ष बेलबहादुर कटुवालले इन्डोस्कोपी सेवा सञ्चालनसँगै यसका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने बताउनुभयो ।

“सीमित पूर्वाधार र जनशक्तिका बीच पनि अस्पतालको सेवा विस्तारलाई निरन्तरता दिएका छौँ”, उहाँले भन्नुभयो, “इन्डोस्कोपी सेवा सुरु भएपछि बिरामीको उपचार थप प्रभावकारी र सहज हुन्छ ।” यसअघि इन्डोस्कोपी गर्नुपर्ने बिरामीलाई पोखरा सिफारिस गरिँदै आएको थियो । इन्डोस्कोपी गर्दा शरीरमा पातलो नली राखेर शरीरभित्रका अङ्गमा परेको असरलाई क्यामेराको माध्यमबाट मोनिटरमा हेरी बिरामीको समस्या पहिचान गर्न सजिलो हुन्छ । गलाको समस्या, आन्द्रा सुन्निने, पित्तथैलीमा पत्थरी, पेटको अल्सर, दिसापिसाबबाट रगत बग्ने, गर्भावस्थामा समस्या देखिए, शल्यक्रिया गर्नु अगाडि र अन्य समस्या देखिएमा इन्डोस्कोपी गरिन्छ ।

भिडियो एक्सरेबाट पत्ता लाग्न नसकेको समस्यालाई करिब पाँचदेखि १० मिनेट इन्डोस्कोपी गरेपछि आउने सूचनाका आधारमा चिकित्सकले उपचार प्रक्रिया अघि बढाउँछन् । विसं २०७२ मा १५ बाट ५० शय्या क्षमतामा स्तरोन्नति भएको बेनी अस्पतालले पछिल्ला केही वर्षयता उपकरण र उपचार सेवा थप गर्दै गएको छ ।सघन उपचारकक्ष, डायलायसिस, शय्यामै पाइपबाट अक्सिजन आपूर्ति गर्ने सुविधासहितको अक्सिजन प्लान्ट स्थापना, आँखा उपचार, आफ्नै फार्मेसी, शल्यक्रियामार्फत गरिने प्रसूति सेवा उपलब्ध गराउँदै आएको छ । म्याग्दीका साथै पर्वत, बागलुङ र पर्वतका नागरिकले पनि बेनी अस्पतालबाट सेवा लिने गरेका छन् । ५० शय्या क्षमताको सुविधासम्पन्न भवन निर्माणमा भएको ढिलाइले अस्पतालको सेवा प्रवाहमा कठिनाइ भएको छ । सीमित पूर्वाधारका बाबजुद पनि बेनी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले सुविधासम्पन्न सहरका अस्पतालले दिने सेवा पनि दिएका बताइन्छ । रासस

यो पनि -अक्सिजन प्लान्ट स्थापनाका लागि तीन करोड फ्रिज

झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि आएको रु तीन करोड रकम फ्रिज भएको छ । कोरोना भाइरस सङ्क्रमितको उपचार र अक्सिजन आपूर्तिमा सहजता ल्याउने उद्देश्यले अक्सिजन प्लान्ट स्थापनार्थ अस्पताललाई सङ्घीय सरकारले उपलब्ध गराएको उक्त रकम फ्रिज भएको हो । आइसियु, भेन्टिलेटर, अक्सिजन प्लान्ट स्थापनालगायतका लागि सङ्घीय सरकारबाट आएको रु नौ करोडमध्ये अक्सिजन प्लान्टका लागि आएको रकम फ्रिज भएको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिनुभयो । मेची अस्पतालमा सङ्घीय सरकारले १५० सिलिण्डर क्षमताको अक्सिजन प्लान्टका लागि रकम पठाएको थियो ।

“जेठ अन्तिममा रकम आयो”, उहाँले भन्नुभयो, “१५ दिने म्याद राखेर बोलपत्र आह्वान ग¥यौँ, एउटा फर्मले बोलपत्र हाल्यो, त्यसमा पनि काम सम्पन्न गर्न ढेडदेखि दुई महिना लाग्ने बताएपछि काम गर्न सकिएन ।” यता प्रदेश नं १ सरकारले अस्पताललाई उपलब्ध गराएको ३५ सिलिण्डर क्षमताको अक्सिजन प्लान्ट पनि सञ्चालनमा आउन सकेको छैन । अस्पतालमा जडान गरिएको विद्युत् ट्रान्समिटर कम क्षमता भएकाले अक्सिजन प्लान्ट सञ्चालनमा आउन नसकेको हो ।

हाल अस्पतालमा ५० केभिए क्षमताको विद्युत् ट्रान्समिटर छ । अस्पतालको पुरानो र नयाँ सबै भवनमा पुग्ने गरी ३०० केभिएको ट्रान्समिटर जडान गर्न लागिएको सूचना अधिकारी पोखरेलले बताउनुभयो । नेपाल चिकित्सक सङ्घले दिने भनिएको ११० क्षमताको अक्सिजन प्लान्ट एक महिनाभित्र सञ्चालनमा आउने र प्रदेश सरकारले उपलब्ध गराएको ३५ गरी १४५ सिलिण्डर क्षमताको अक्सिजन प्लान्ट चाँडै सञ्चालनमा आउने उहाँले बताउनुभयो ।

यो पनि – कोरोना सङ्क्रमित बढ्दै जाँदा अस्पतालमा अक्सिजन ग्यास अभाव हुने चिन्ता

जिल्लामा कोरोना सङ्क्रमित बढ्दै जाँदा अस्पतालमा अक्सिजनको अभाव हुनसक्ने देखिएको छ । अस्पतालमा आउने बिरामी र क्षमताका आधारमा अक्सिजन अभाव हुने देखिएको हो । अहिलेकै तुलनामा कोरोना सङ्क्रमित बढ्दै गएमा अस्पतालमा रहेका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले अपुग हुने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । अहिले यहाँका अस्पतालमा २५२ सङ्क्रमित उपचाररत छन् । भरतपुर अस्पतालमा ७५ सिलिण्डर, चितवन मेडिकल कलेजमा १०० सिलिण्डर र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा २० सिलिण्डर दैनिक उत्पादन हुने क्षमताका अक्सिजन प्लान्ट रहेका छन् । यस्तै कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा भने ३५० शय्यामा पाइपलाइनबाट ग्यास पु¥याइएको छ । सो कलेजको आफ्नै अक्सिजन प्लान्ट गैँडाकोटमा रहेको छ ।

अस्पतालका अतिरिक्त भरतपुरको रामनगरमा स्वर्गद्वारी अक्सिजन उद्योगले दैनिक ३६० सिलिन्डर ग्यास उत्पादन गर्दै आएको छ । त्यहाँ उत्पादित ग्यास जिल्लामा रहेका दुई मेडिकल कलेज र अन्य निजी अस्पतालमा खपत हुँदै आएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा रहेका ठूला चार अस्पतालमा ६९२ शय्या कोभिडका लागि छुट्याइएको छ । तीमध्ये सघन उपचार कक्ष २८०, भेन्टिलेटर ६८ र एचडियु १५३ वटा रहेका छन् । यी कक्षअनुसारको बिरामी बढ्दै गएमा यहाँका अस्पतालमा अक्सिजनको अभाव हुने स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारी बताउनुहुन्छ ।

पूर्वी चितवनमा रहेको रत्ननगर बकुलहर अस्पतालमा ५० सिलिण्डर भर्ने क्षमताको ग्यास प्लान्ट जोड्ने काम भइरहेको छ । ग्यास प्लान्ट जडान हुन अब केही दिन लाग्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले जानकारी दिनुभयो । उहाँका अनुसार ग्यास प्लान्ट जडानको काम भए पनि सिलिण्डरमा ग्यास भर्ने बुष्टरको अभावका कारण काम हुन नसकेको उहाँले बताउनुभयो । बुष्टरको खोजी भइरहेको उहाँको भनाइ छ ।

प्रदेश सरकारले पठाएको सो प्लान्ट उपलब्ध गराउने कम्पनीसँग समेत बुष्टर नभएको जानकारी आएको उहाँले बताउनुभयो । भरतपुरको मुटु अस्पताल, सेन्ट्रल अस्पताल, मौलाकालिका अस्पताल, भरतपुर सामुदायिक, नेसनल सिटी अस्पताल, पुष्पाञ्जलि अस्पताल र नारायणी सामुदायिक अस्पतालमा कोरोना सङ्क्रमितको उपचार हुँदै आएको छ । ती अस्पतालमा आफ्नै प्लान्ट नभए पनि जिल्लामा रहेका अक्सिजन उद्योग र बाहिरी जिल्लाबाट समेत ल्याएर उपलब्ध गराउने गरेको निजी अस्पताल समन्वय समितिका सचिव विक्रम अधिकारीले जानकारी दिनुभयो ।

यस्तै माडीमा रहेको बघौडा अस्पतालमा अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर भए पनि प्लान्ट भने छैन । अक्सिजन भर्नका लागि भरतपुर ल्याउनुपर्ने बाध्यता रहेको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीले अहिलेकै तुलनामा बिरामीको सङ्ख्या बढ्दै गए यहाँ रहेका प्लान्टबाट उत्पादित ग्यास अपुग हुने बताउनुभयो । यसको व्यवस्थापनका लागि भरतपुर अस्पतालले अहिलेको भन्दा ठूलो क्षमताको अक्सिजन प्लान्ट जडान गर्ने तयारी गरिरहेको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट जडानको काम भइरहेको छ भने गैँडाकोटमा रहेको सिद्धिविनायक अक्सिजन उद्योगले समेत बिरामीको चापअनुसारको क्षमता बढाउने काम गरेकाले केही हदसम्म सहज हुने अनुमान गरिएको उहाँले बताउनुभयो ।