सञ्चार सचिव अर्यालद्वारा पदबहाली

सञ्चार सचिव अर्यालद्वारा पदबहाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले सरकारी सञ्चार माध्यमहरुलाई अझ व्यवस्थित र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिनुभएको छ । आज आयोजित स्वागत समारोहमा सचिव डा अर्यालले आमसञ्चार क्षेत्रलाई स्वतन्त्र, मर्यादित र प्रतिस्पर्धी गराउन आवश्यक नीतिगत व्यवस्था तथा नियमन प्रणालीलाई चुस्तदुरुस्त गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले आम जनताको जीवन पद्दतिलाई सहज गराउन सूचना प्रविधिको पहुँच विस्तार गरी यसप्रतिको जनविश्वास अभिवृद्धिका लागि साइवर सुरक्षामा ध्यान दिन आवश्यक छ भन्नुभयो । सचिव अर्यालले नेपाल टेलिकमको सेवा गुणस्तरीय गराउन, हुलाक सेवालाई प्रतिस्पर्धी तुल्याउन र मुद्रण विभागको दायरा बढाउन आवश्यक नीतिगत व्यवस्था गरिने उल्लेख गर्नुभयो । उहाँले डिजिटल नेपाल संरचनामा समयानुकूल सुधार, ब्रोड बैंक इन्टरनेट सेवा तथा सूचना राजमार्गको विस्तार, विद्युतीय हस्ताक्षरलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनुपर्नेमा समेत जोड दिनुभयो ।

विसं २०४९ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गर्नुभएका सचिव डा अर्यालले अर्थ, वाणिज्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत विभिन्न सरकारी निकायमा कुशलतापूर्वक कार्यसम्पादन गरिसक्नुभएको छ । हालैको मन्त्रिपरिषदको निर्णयबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भई आउनु भएका सचिव अर्यालले आजै आफ्नो पदभार सम्हाल्नुभएको छ ।

कार्यक्रममा मन्त्रालयका सहसचिव डिल्लीराम शर्माले आमसञ्चार, दूरसञ्चार र चलचित्र क्षेत्रमा मन्त्रालयले सम्पादन गर्दै आएका र आगामी दिनमा गर्नुपर्ने कार्यहरुबारे अवगत गराउँदै योग्य, अनुभवी र कुशल व्यक्तित्वलाई सचिव पाउँदा मन्त्रालयले अझ प्रभावकारी रुपमा कार्य सम्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा मन्त्रालय र मातहतका निकायका प्रमुख तथा बरिष्ठ अधिकृतहरुले सचिव डा अर्यालको कार्यकालको सफलताको कामना गर्नुभएको थियो ।रासस

यो पनि – संविधान निर्माणको नेतृत्व गर्नुभएका कोइरालाको ८२ औँ जन्मजयन्ती मनाइँदै

संविधानसभाबाट संविधान निर्माणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८२ औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।उहाँको जन्म सन् १९३९ अगस्ट १२ तारिखका दिन विराटनगरमा भएको थियो । विद्यार्थीकालदेखि नै कोइराला राजनीतिमा क्रियाशील हुनुहुन्थ्योे । विसं २०१४ को भद्र अवज्ञा आन्दोलनमा पनि उहाँले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियोे । विसं २०१७ पुस १ गतेको राजनीतिक घटनापछि प्रवासमा रहँदा कोइराला नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । विसं २०२५ मा प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं कांग्रेसका संस्थापक नेता बिपी कोइराला सुन्दरीजल बन्दीगृहबाट छुटेर उपचारका लागि भारत जानुभएपछि बिपीको निर्देशनमा प्रजातन्त्र पुनःस्थापनाका लागि उहाँले उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो ।

पार्टीको केन्द्रीय सदस्यदेखि महामन्त्री हुँदै कोइराला कांग्रेसको १२ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएको थियो । विसं २०७० मङ्सिर ४ गते भएको दोस्रो संविधानसभाको निर्वाचनमा उहाँकै नेतृत्वमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दलका रुपमा स्थापित भएको थियो । सो निर्वाचनपछि देशको नेतृत्व गर्नुभएका कोइराला सादगी र सन्त नेताका रुपमा नेपाली राजनीतिमा स्थापित हुनुभएको हो । संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई मिलाएर कोइरालाको नेतृत्वमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।

जन्मजयन्तीका अवसरमा उहाँको नेतृत्वमा जारी भएको संविधानको सफल कार्यान्वयनका विषयमा संविधानविद् एवं कानूनका जानकारबीच आज बेलुकी ‘जुम प्रविधि’का माध्यमबाट छलफल आयोजना गर्न लागिएको सुशील कोइराला मेमोरियल फाउन्डेसनका सदस्यसचिव अतुल कोइरालाले रासलाई जानकारी दिनुभयो । जनचाहनाबमोजिम संविधानसभाबाट संविधान जारी गराउनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री कोइराला जीवनको अन्तिम क्षणसम्म पनि संविधानको प्रभावकारी कार्यान्वयनका लागि क्रियाशिल हुनुहुन्थ्यो ।

यो संविधानको सफल कार्यान्वयन भए र लोकतान्त्रिक पद्धतिलाई सवल र सुदृढ बनाउन सके नेता कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुने फाउन्डेसनले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मुलुक आज कोरोनाको चपेटामा परेको छ । आम नागरिकलाई यो महामारीबाट जोगाउनका लागि प्रभावकारीरूपले अघि बढ्न फाउन्डेसनले सरकारसँग आग्रह गरेको छ ।

यो महासङ्कटबाट पार पाउने काम सरकारको एकल पहलबाट मात्र सम्भव नहुने भएकाले आम नागरिक पनि सचेत भई स्वास्थ्य मापदण्डअनुसार आफ्नो र परिवारको ख्याल राख्न फाउन्डेसनले सबैमा आग्रह गरेको छ । यस अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ संघ एवं शुभेच्छुक संस्थाले पनि विभिन्न रचनात्मक कार्यक्रम गरी कोइरालाको जन्मजयन्ती मनाउँदै छन् । कोइरालाको २०७२ माघ २६ गते निधन भएको थियो । शालिन व्यक्तित्वका धनी कोइराला अविवाहित नेता हुनुहुन्थ्यो । उहाँको ८१ औँ जन्मयन्तीका अवसरमा गत वर्षदेखि फाउन्डेसनले समसामयिक विषयमा अन्वेषण यात्रा कार्यक्रम गर्दै आएको छ ।