नेपाली काङ्ग्रेसका संस्थापन पक्षका जिल्ला सभापतिले महाधिवेशन आजको आवश्यकता भएको र विशेष महाधिवेशन स्वीकार्य नभएको निष्कर्ष निकालेका छन् । सङ्घीय राजधानी काठमाडौँमा उपलब्ध २२ जिल्लाका काङ्ग्रेस सभापतिको साउन २७ र २८ गतेको भेलाले शीर्ष नेता तहबाटै विशेष महाधिवेशनको मागका सम्बन्धका आवाज सुनिनु दुःखद् भएको निष्कर्षसमेत निकालेको छ । काङ्ग्रेसमा निर्धारित मितिमा महाधिवेशन गर्न नसकिने अवस्था उत्पन्न भएमा विशेष महाधिवेशन गरेर भए पनि पार्टीको वैधानिकता जोगाउनुपर्ने केही नेताहरूले राखेको धारणाप्रति जिल्ला सभापतिको यस्तो निष्कर्ष निकाल्नुभएको हो ।
भेलाले पार्टीको क्रियाशील सदस्यता छानविन समितिले टङ्गो लगाएका क्रियाशील फाइलबाहेक विवादमा आएका बारा, सप्तरीलगायत जिल्लाको फाइल मात्र खोली विधानसम्मत निर्णय गर्न अनुरोध गरेको ललितपुर जिल्लाका काङ्ग्रेस सभापति मदनबहादुर आमात्यले जानकारी दिनुभयो । भेलाले सहमति, लोकतान्त्रिक विधि, कानून र संविधानसँग नबाझिने गरी महाधिवेशन कसरी गर्ने भन्नेमा केन्द्रित भएर निर्णय गर्नसमेत पार्टीलाई अनुरोध गरेको छ । अन्य पार्टीबाट काङ्ग्रेसमा प्रवेश गरेका सदस्यको समायोजनका सम्बन्धमा वडादेखि सबै तहबाट स्वीकृत भई आएको र काम सकिएको फाइल फेरि खोल्नुपर्छ भनी बखेडा झिक्नु महाधिवेशन हुन नदिने बहाना भएको जिल्ला सभापतिको निष्कर्ष छ ।
भेलाले विसं २०७४ को निर्वाचनमा केन्द्र र प्रदेशमा अनपेक्षित हार व्यहोरेको काङ्ग्रेसले केन्द्रीय सभापति शेरबहादुर देउवाको राजनीतिक सुझबुझ, धैर्यता र समयानुकूल निर्णयका कारण चुनावको ४० महिनापछि नै केन्द्रमा नेतृत्वसहित र विभिन्न प्रदेशमा समेत सरकारमा सामेल हुन सफल भएको निष्कर्ष निकालेको छ । छलफलको निष्कर्षसहित आज केन्द्रीय सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो ।
यो पनि – प्रदेश युवा परिषद्ले पूर्णता पायो
वाग्मती प्रदेश युवा परिषद्ले पूर्णता पाएको छ । प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले परिषद्का नवनियुक्त सदस्यलाई आज शपथ ग्रहण गराउनुभयो ।सामाजिक विकासमन्त्री अध्यक्ष तथा एक जना कार्यकारी उपाध्यक्ष रहने परिषद्मा यसअघि कार्यकारी उपाध्यक्षको मात्रै नियुक्ति भएको थियो । मन्त्रालयले परिषद् सदस्यमा इच्छा कुमारी राउत, केदार आचार्य, राधाकृष्ण गिरी, श्याम सुन्दर शिवाकोटी, नम्रता महर्जन, वसन्त न्यौपाने, छोटी लामा, सुदीप गौतम, प्रिती श्रेष्ठ र डालिया नेपालीलाई नियुक्त गरेको र आज नवनियुक्त सबै सदस्यले शपथ ग्रहण गरेको प्रदेश युवा परिषद्को कार्यालयले जनाएको छ ।
प्रदेश युवा परिषद् ऐन २०७६ अनुसार मन्त्रालयले उपाध्यक्षसहित युवाको हकहितको संरक्षणमा योगदान पु¥याएका महिला कम्तीमा तीन जनासहित छ जना र उद्योग, श्रम, कृषि, खेलकूद, विज्ञान प्रविधि, सूचना, सञ्चार, वातावरण, साहित्य तथा कलाक्षेत्रबाट प्रतिनिधित्व हुने गरी चार जना र लैङ्गीक तथा यौनिक अल्पसङ्ख्यकमध्येबाट एक जना गरी ११ जना सदस्य मनोनीत गर्ने व्यवस्था छ ।
मन्त्रालयले सोही ऐनअनुसार गत असार ४ गते परिषद्को कार्यकारी उपाध्यक्षमा सन्तोष चौलागाईंलाई नियुक्त गरेको थियो । शपथ ग्रहण कार्यक्रममा प्रदेशका सामाजिक विकासराज्यमन्त्री डा रामकुमार अधिकारीलगायत मन्त्रालयका कर्मचारीको उपस्थिति रहेको थियो । यसअघि आजै प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश युवा परिषद्को कार्यालयको उद्घाटन गर्नुभएको थियो ।
‘युवा स्वरोजगारको उचित व्यवस्थापन आवश्यक’
वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले नेपालमै युवा स्वरोजगारको उचित व्यवस्थापन गर्नुपर्ने रहेको बताउनुभएको छ । हेटौँडास्थित मन्त्रालयमा वाग्मती प्रदेश युवा परिषद्का नवनियुक्त मनोनीत सदस्य लागि आज आयोजित शपथ ग्रहण कार्यक्रममा मन्त्री बस्नेतले यस्तो बताउनुभयो ।सो अवसरमा मन्त्री बस्नेतले नवनियुक्त मनोनीत सदस्यलाई स्वरोजगारमुखी चिन्तनका साथ अघि बढ्न र कार्यक्रमम गर्न सुझाव दिनुभयो । यस्तै मनोनीत सदस्यले प्रदेशका सबै जिल्लाका युवाको समस्यालाई समेट्ने गरी काम गर्न निर्देशन दिनुभएको छ ।
गत असार ४ गते परिषद्को उपाध्यक्षमा सन्तोष चौलागार्इं नियुक्त हुनुभएको भए पनि सदस्यको नियुक्ति नहुँदा परिषद्ले पूर्णता पाउन सकेको थिएन । यसअघि आजै नै वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलद्वारा परिषद्को कार्यालय उद्घाटन भइसकेको छ ।



प्रतिक्रिया