विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी गर्न नेतृत्व गर्नुहुने पूर्वप्रधानमन्त्री सुशील कोइराला सरल, सादगी, इमान्दार र दृढता भएको नेताका रुपमा स्थापित हुनुभएकामा विभिन्न वक्ताले जोड दिनुभएको छ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले उहाँको ८२औँ जन्मजयन्तीका अवसरमा आज जुम प्रविधिबाट आयोजना गरेको ‘लोकतान्त्रिक सङ्घर्ष र संविधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा संविधानविद् अधिवक्ता भीमार्जुन आचार्यले लोकतान्त्रिक मूल्यमान्यताप्रति सधैँ निष्ठा राख्ने व्यक्तित्व भएकैले संविधानसभाबाट संविधान जारी गर्न कोइराला सफल हुनुभएको बताउनुभयो ।
संविधान निर्माणमा कोइरालाको योगदानलाई बिर्सनु हुँदैन भन्नुहुँदै उहाँले अरु नेता प्रधानमन्त्री भएको भए संविधान बन्ने निश्चित नदेखिएको सुनाउनुभयो । कानून र संविधानलाई पटकपटक परिवर्तन गरियो भने राजनीतिक स्थायित्व नहुने भएकाले यसलाई प्रणालीबाट हिँडाउन सक्नुपर्ने उहाँको भनाइ थियो । कोइराला स्वार्थ र लोभ नभएको नेता भएकैले संविधान जारी गर्न सफल हुनुभएको अधिवक्ता आचार्यको विश्लेषण छ । “अमेरिकामा सन् १७८७ को पुरानो संविधान छ, उसले परिवर्तन गर्न चाहँदैन, बेलायतमा अलिखित संविधान छ, लिखित बनाउन चाहँदैन, भारतमा भन्दा हाम्रोमा उत्कृष्ट संविधान छ, तर यी देशले नेपालको संविधानका विषयमा टिप्पणी गर्ने गरेका छन्”, उहाँले भन्नुभयो । सुशील कोइरालाले छानेका मानिसबाट पनि उहाँ कस्तो प्रकृतिको हो भन्ने बुझ्न सकिने कार्यक्रमका वक्ताको भनाइ थियो ।
परराष्ट्रविद् डा जयराज आचार्यले २०१७ साल पुस १ गतेको घटना नेपालको राजनीतिमा अस्थिरताको बीज रोप्ने घटना भएको बताउनुभयो । राजा महेन्द्रले आफैँ दिनुभएको संविधान आफैँ च्यातेर अर्को संविधान दिनुभएकाले अस्थिरताको शुरुआत एवं अविश्वासको बीजारोपण भएको विश्लेषण उहाँले सुनाउनुभयो । फाउन्डेसनले कोइरालाको ८१औँ जन्मयन्तीका अवसरमा शुरु गरेको अन्वेषण यात्रालाई नयाँस्वरुपमा निरन्तरता दिइने सदस्य सचिव अतुल कोइरालाको प्रतिबद्धता छ ।
यो पनि – काँग्रेस बैठकमा क्रियाशील सदस्यता विषय केन्द्रीत छलफल
नेपाली काँग्रेसको १४औँ महाधिवेशनको नयाँ मिति तय गर्ने सम्बन्धमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको क्रियाशील सदस्यता सम्बन्धमा छलफल प्रारम्भ भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सभापतिकै निजी निवास बूढानीलकण्ठमा आज बसेको बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदनको व्याख्यासहित प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा समितिका अन्य सदस्य आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरीले आफ्नो धारणा व्यक्त गर्नुभएको केन्द्रीय सदस्य परियारले जानकारी दिनुभयो । समितिले यही साउन १२ गते पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा केही विवाद बाँकी सहितको क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनअनुसार १४औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ५२ हजार ७११ पुगेको छ ।
फैसलाले लिक बाहिर गएको संविधानलाई सही ट्रयाकमा ल्याएको छ ः कांग्रेस
बैठकले सर्वोच्च अदालतको फैसलाले लिक बाहिर गएको संविधानलाई सही ट्रयाकमा ल्याएको जनाएको छ । संसद् विघटनको असंवैधानिक कदमविरुद्धमा ऐक्यबद्ध गठबन्धनका राजनीतिक दल, सञ्चारमाध्यम, नागरिक समाज र सचेत नेपालीको साझा भावना र संविधानको मर्मअनुरुप फैसला आएको निष्कर्षसमेत निकालेको छ ।संविधानको धारा ७६(५) अनुरुप मुलुकले प्रतिनिधिसभामा १६५ सदस्यको समर्थनसहित नयाँ प्रधानमन्त्री प्राप्त गरेको जनाउँदै बैठकले कोभिड–१९ को महामारी र बाढीपहिरोबाट आक्रान्त जनताको रक्षा र राहतका कार्यसँगै संविधानको मर्म र जनताको भावनाअनुरुप कार्य गर्न दलबीचको सहमतिअनुरुप अघि बढ्न नयाँ सरकारलाई शुभकामना व्यक्त गरेको छ ।
बैठकमा उपसभापति एवं अन्य राजनीतिक दल समायोजन समितिका संयोजक विमलेन्द्र निधिले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसैगरी महामन्त्री पूर्णबहादुर खड्काले बैठकको प्रारम्भमा विभिन्न प्रस्ताव प्रस्तुत गर्नुभएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकले सभापति देउवा नेपालको प्रधानमन्त्री बन्नुभएकामा बधाई ज्ञापन गरेको छ । कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको छ । यद्यपि क्रियाशील सदस्यता विवादका कारण महाधिवेशनअन्तर्गतका स्थानीय तह र जिल्ला अधिवेशन भने प्रभावित भइसकेका छन् ।
बैठकमा आज सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्य लेखक, ढुङ्गाना, परियार, पौडेल, गुरुङ, मोहनबहादुर बस्नेत, हृदयराम थानी र कर्णबहादुर बुढा र चौधरीले आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यसमितिको अर्को बैठक भोलि साउन २९ गते बिहान ११ बजे सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा पुनःबस्ने मुख्य सचिव पौडेलले बताउनुभयो ।



प्रतिक्रिया