बङ्गुरपालन र सुन्तलाखेती गरेका कृषकलाई एक करोड अनुदान वितरण

बङ्गुरपालन र सुन्तलाखेती गरेका कृषकलाई एक करोड अनुदान वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले बङ्गुरपालन र सुन्तलाखेती गरेका कृषकलाई रु एक करोडभन्दा बढी अनुदान वितरण गरेको छ । सुन्तला र बङ्गुरको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रम लागू भएका ठाउँका कृषकलाई कृषि उपकरण, साना सिँचाइ, नर्सरी स्थापना, गोठ सुधार, क्षमता बिस्तारका लागि कूल लागतको ५० देखि ८५ प्रतिशतसम्म अनुदान दिएको हो । परियोजनाले आर्थिक वर्ष २०७७÷७८ मा सुन्तला जोनमार्फत रु ६६ लाख १० हजार ७८६ र बङ्गुर जोनमार्फत रु ३६ लाख ५६ हजार ८०९ अनुदान वितरण गरेको जनाएको छ ।

कृषि अधिकृत विक्रम बस्यालले सुन्तला जोनमार्फत रु तीन लाख २५ हजार ५०० खर्च गरेर ५० प्रतिशत अनुदानमा २० हजार ७०० बिरुवा वितरण गरेर एक हजार ३८० रोपनीमा सुन्तलाखेती बिस्तार गरिएको जानकारी दिनुभयो । कृषि यान्त्रिकरण सहयोग कार्यक्रमअन्तर्गत ४० मिनिटेलर, दुई वटा ग्रासकटर, दुई वटा ह्याण्ड स्प्रेयर, २६ वटा पावर स्पेयर, ५६ वटा सिकेचर, ५६ वटा प्रुनिङ सअ र १७ डिजिटल काँटा खरिद गर्न ५० प्रतिशतका दरले रु १२ लाख ५७ हजार ४११ अनुदान उपलब्ध गराइएको छ । ८५ प्रतिशतका दरले कूल रु ५८ हजार ९४९ अनुदान सहयोगमा तीन गोठ सुधार, ८५ प्रतिशतका दरले रु २७ लाख ८० हजार ९३४ सहयोगमा २१ सिँचाइ आयोजना, ७५ प्रतिशतका दरले रु ७१ लाख ४१ हजार ६२९ सहयोगमा पाँच नर्सरी स्रोत केन्द्र स्थापना भएको छ ।

सिगाना, बनौँ, भकिम्ली, दोसल्ले र पात्लेखेतमा नर्सरी स्रोत केन्द्र स्थापना भएको छ । मङ्गला माविमा प्राविधिक शिक्षालयको साझेदारीमा व्यावसायिक उत्पादन कार्यक्रम सञ्चालनमा रु तीन लाख तीन हजार ८६३ खर्च भएको छ । ४७५ प्लास्टिक क्रेट खरिद गर्न ५० प्रतिशतका दरले रु एक लाख ४२ हजार ५०० अनुदान वितरण भएको छ । बेनी, बागलुङ नगरपालिका, जलजला, मङ्गला, मालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको ५२ वडामा सुन्तला जोन कार्यक्रम लागू भएको छ ।यसैगरी इकाइमार्फत सञ्चालित बङ्गुर जोन कार्यक्रमअन्तर्गत १६ बङ्गुर फार्म तथा कृषकले विभिन्न शीर्षकमा रु ३६ लाख ५६ हजार ८०९ अनुदान पाएका नायब पशु सेवा प्राविधिक बलबहादुर ओलीले जानकारी दिनुभयो ।

बङ्गुर फार्मको नयाँ पूर्वाधार निर्माण, पुराना गोठ सुधार र व्यवस्थापन, गोबरग्यास निर्माण, मासु पसल सुधार गरेका छन् । बेनी नगरपालिका– १ को अर्जम पशुपालन तथा बहुद्देश्यीय कृषक समूहले सुँगुर खोर सुधार गर्न विपन्न वर्ग लक्षित उन्नत बङ्गुरपालन कार्यक्रममार्फत रु पाँच लाख ७६ हजार ७७० अनुदान पाएका छन् । अनुदान पाउने अन्य फार्ममा पहिलो कृषि , साजन बङ्गुर तथा साजन फ्रेस हाउस, पुर्जा पशुपक्षी तथा कृषि, समीक्षा एण्ड समीर बङ्गुर , दिपेश बङ्गुर प, सङ्गम पशुपक्षी तथा बङ्गुर , सुनगामा कृषि तथा पशुपक्षी , उर्वसी अर्जम पशुपालन तथा बहुद्देश्यीय कृषि , हेराल बङ्गुरपालन , गौरखी कृषि उद्यम केन्द्र, उद्यमशील कृषि तथा पशुपक्षी , सिर्जना कृषि तथा बङ्गुरपालन , थापा पशुपक्षी कृषि मत्स्यपालन र सिमलचौर बङ्गुर फार्म छन् ।रासस

यो पनि – विद्युत्भार कटौतीले उपभोक्ता हैरान

अघोषितरुपमा हुने विद्युत्भार कटौतीका कारण तनहुँका उपभोक्ता हैरान बन्दै गएका छन् । विनासूचना प्राधिकरणले पटकपटक विद्युत् कटौती गर्दा अनलाइन कक्षा पढ्ने विद्यार्थी र उद्योगी व्यवसायी मर्कामा छन् । लामो समयदेखि दैनिक विद्युत् जाने आउने समस्या भइरहेको उपभोक्ताको गुनासो छ । जिल्लाको म्याग्दे गाउँपालिकामा १० दिनदेखि विद्युत् अवरुद्ध भएपछि स्थानीयवासी मर्कामा छन् । मर्मत गर्नेतर्फ विद्युत् प्राधिकरणले चासो नदेखाएको उद्योग वाणिज्य सङ्घ थर्पु बजार इकाइ सभापति भीमलाल श्रेष्ठले बताउनुभयो । “दश दिन भइसक्यो विद्युत्को समस्या छ, पटकपटक जानकारी गराउँदा पनि चासो दिइएको छैन”, उहाँले भन्नुभयो ।

विद्युत् अनियमित हुँदा अनलाइन कक्षा पढ्ने विद्यार्थी बढी मारमा परेको स्थानीयवासी रामभक्त घिमिरेले बताउनुभयो । “विद्युत् प्राधिकरणलाई आइतबारसम्म यो समस्या समाधान गर्न अल्टिमेटम दिएका छौँ, त्यसभित्र पनि मर्मत नभए विद्युत् प्राधिकरणमा ताला लगाइदिन्छौँ”, उहाँले भन्नुभयो । विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख सोवितबहादुर क्षेत्रीले म्याग्दे क्षेत्रमा समस्या आएको ठाउँ पत्ता लगाउन नसक्दा मर्मतमा कठिनाइ भएको बताउनुभयो । “राजमार्ग क्षेत्रमा विद्युत् नियमित भए पनि भित्री क्षेत्रमा मर्मत कार्य जारी छ, कहाँनेर समस्या छ भन्ने पत्ता लगाउन गाह्रो भइरहेको छ”, उहाँले भन्नुभयो, “छिट्टै उक्त समस्या समाधान हुन्छ”, उहाँका अनुसार शुरुका केही दिन थर्पु शाखाका प्राविधिकले मर्मतका लागि काम गरे पनि समस्या समाधान हुन नसकेपछि अहिले जिल्लाबाटै प्राविधिक खटिएका छन् ।

शुक्लागण्डकी नगरपालिकामा पनि अनियमित विद्युत्ले सर्वसाधारण हैरान छन् । “लाइन कति बेला जान्छ । कति बेला आउँछ पत्तो हुँदैन”, शुक्लागण्डकी–३ कवासे निवासी समुन्द्र कार्की भन्नुभयो, “यतिबेला बाबुनानीको अनलाइन कक्षा चलेको छ । बेलाबेला लाइन जाँदा पढ्न समस्या भएको छ ।” कहिलेकाहीँ दिनमा १० पटकसम्म पनि लाइने जाने गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान, दिउँसो, बेलुका जुनसुकैबेला पनि विद्युत् अवरुद्ध हुने समस्या छ । विद्युत् जाने समस्याले अनलाइन कक्षा चलाउनै समस्या हुने गरेको ज्ञानबगैँचा बोर्डिङ स्कूल बेलचौताराका प्रधानाध्यापक सुरेश पौडेलले बताउनुभयो । “कक्षा शुरु भयो लाइन जान्छ, फेरि आउँछ, हैरान बनाउँछ । यो समस्याले प्लानिङअनुसार पढाउन सकिँदैन । तालिका अस्तव्यस्त हुन्छ”, उहाँले भन्नुभयो ।

विद्युत्भार कटौती धेरै हुन थालेपछि विद्यालयले इन्भटर खरिद गरेको छ । विद्यालयले इन्भटर व्यवस्था गरेर कक्षा चलाउँदा विद्यार्थी भने लाइन गएका बेला एक दुई जना मात्रै सहभागी हुने गरेको उहाँले जानकारी दिनुभयो । विनाजानकारी विद्युत् कटौती गर्नुको सट्टा घोषितरुपमै विद्यत्भार कटौती गर्दा सहज हुने उहाँको भनाइ छ । “विद्य्तभार कटौतीको तालिका भए त्यहीअनुसार अनलाइन कक्षाको तालिका बनाएर पढाइन्थो”, उहाँले भन्नुभयो ।

दैनिक विद्युत् अनियमित हुँदा उद्योग सञ्चालक पनि मारमा परेको शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठले बताउनुभयो । केही उद्योग धरासायी बन्ने अवस्था सिर्जना भएको उहाँले गुनासो गर्नुभयो । पटकपटक समस्या समाधानका लागि प्राधिकरणको ध्यानाकर्षण गराए पनि समस्या नहटेको उहाँको भनाइ थियो ।
विद्युत् अनियमितता हुन थालेपछि कतिपयले बिग्रिएर थन्काएका इन्भटर ब्याट्री मर्मत गरेर पुनःप्रयोगमा ल्याउन थालेका छन् । जिल्लामा बेलचौतारा सवस्टेसनबाट विद्युत् वितरण हुने शुक्लागण्डकी तथा भिमाद नगरपालिकालगायतका विभिन्न क्षेत्रका उपभोक्ताले अघोषित विद्युत्भार कटौतीको सास्ती खेप्नुपरेको हो । फिडरमा समस्या देखिएकाले लाइन काटिने समस्या भइरहेको नेपाल विद्युत् प्राधिकरण लेखनाथ वितरण केन्द्रका प्रमुख परितोष चौधरीले बताउनुभयो ।