स्याफ्रुबेँसीमा पहिराले चार घर क्षति

स्याफ्रुबेँसीमा पहिराले चार घर क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याफ्रुबेँसीस्थित पुरानो गाउँबस्तीमा आज बिहान घर माथिबाट आएको पहिराका कारण स्थानीय बासिन्दा विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान करिब ५ः३० बजे आएको पहिराका कारण दुई स्थानीय बासिन्दा घाइते हुनाका साथै चार घर पूर्णरूपले क्षति भएका हुन् । जिल्लाको पहिलो सदरमुकामसमेत रहेको स्याफ्रुबेँसीस्थित पुरानो बस्तीमा पहिराको जोखिम बढेपछि त्यस क्षेत्रमा बसोबास गर्ने २४ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

विस्थापितलाई अन्यत्र सार्न गोसाइँकुण्ड गाउँपालिका, जिल्ला विपद् व्यवस्थापन समिति, नेपाल प्रहरीलगायत सुरक्षा निकाय एवं जनप्रतिनिधि जुटिरहेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिनुभयो । पहिराका कारण घाइते हुनेमा सोनाम दोर्जे तामाङ र शुकदोर्जे तामाङ छन् । उहाँहरूको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गाउँमाथिबाट आएको पहिराले स्थानीयवासी कामी तामाङ, राजुलामा, कर्पु लामा र सन्तोष तामाङको घर पूर्णरूपमा क्षति भएको छ । क्षतिको तथाङ्क सङ्कलन गर्ने काम भइरहेको प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताउनुभयो । पहिराले घर बस्ती क्षेत्र जोखिममा परेका र घर पूर्णरूपमा क्षति भई विस्थापित भएका २४ घरपरिवारलाई बसोबास र भोजनको व्यवस्थापन गाउँपालिकाका तर्फबाट गरिने जनाउँदै गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले व्यवस्थापकीय कार्यमा आवश्यक जनशक्ति परिचालन गराई पूर्वतयारी भइरहेको र साँझसम्म विस्थापितलाई आवश्यकपर्ने सम्पूर्ण आधारभूत व्यवस्थापन भइसक्ने बताउनुभयो ।

यो पनि – अत्यधिक वर्षा, पहिरो र कटानका कारण मेलम्चीमा क्षति

सिन्धुपाल्चोकको मेलम्ची बजार र त्यस आसपासका क्षेत्रमा अत्यधिक वर्षा तथा पहिराका कारण नदी कटान हुँदा क्षति पुगेको छ । गत असार १ र यही साउन १६ गते मेलम्ची नदीमा आएको बाढीले ठूलो क्षति पुगेपछि त्यस क्षेत्रको अध्ययन गर्न गएको खानी तथा भूगर्भ विभागको टोलीले अत्यधिक वर्षा र वर्षापछि पहिरो जाँदा उक्त क्षति पुगेको निष्कर्ष निकालेको हो ।

विभागका सिनियर डिभिजनल जियोलोजिस्ट एवं उपसचिव शिवकुमार बाँस्कोटा र जियोलोजिस्ट गौतमप्रसाद खनालको टोलीले यही साउन २२ देखि २५ गतेसम्म मेलम्ची र हेलम्बुलगायतका क्षेत्रमा गएर गरेको भौगर्भिक अध्ययनले उक्त निष्कर्ष निकालेको हो ।असार १ गतेको अत्यधिक वर्षापछि हेलम्बु गाउँपालिकाको पेमदाङ खोला र मेलम्ची खोलाको दोभानबाट शुरु भएको बाढी मेलम्ची खोलामा जम्मा भई पहिराको लेदो र पानी मिसिँदा किनारा थप कटान भएको तथा खोलाले थप विकसित रूप लिँदै जाँदा मेलम्ची र त्यस आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको विभागका सिनियर डिभिजनल जियोलोजिस्ट बाँस्कोटा बताउनुहुन्छ ।

मेलम्ची बजार हुँदै वहने इन्द्रावती, मेलम्चीखोला, पेमदाङखोला, लार्केखोला र याङ्रीखोला सबै हिमालबाट वहने खोला तथा नदी हुन् । उक्त खोलामा बाढी आउँदा मेलम्ची बजारसँगै चनौटे बजार, हेलम्बु गाउँपालिकाको केन्द्र किउल बजार, अम्बाथान, तिम्बु, ग्याल्थुममा बढी क्षति पुगेको जियोलोजिस्ट बाँस्कोटाको भनाइ छ ।असार १ गतेकै वर्षाका कारण पेमदाङखोलामा आएको बाढीले हेलम्बुको भेमाथाङ चौरमा १० मिटर अग्लो ग्रेगान भरिएको थियो । उक्त गेग्रान एक करोड घनमिटर रहेको खानी तथा भूगर्भ विभागले जनाएको छ । उक्त भेमाथाङ चौर एक हजार ५०० मिटर लम्बाइ र ७०० मिटर चौडाइको रहेको छ ।

“उक्त चौरमा १० मिटर अग्लो ग्रेगान भरिँदा त्यस क्षेत्रमा कति ठूलो वर्षा र बाढी आएको रहेछ भन्ने स्पष्ट हुन्छ”, सिनियर डिभिजनल जियोलोजिस्ट बाँस्कोटा भन्नुहुन्छ । असार १ गते गेग्रानले भरिएको भेमाथाङ चौर साउन १६ गतेको वर्षाले कटान भएको छ । भेमाथाङ चौरको १०० मिटर क्षेत्रफल कटान हुँदा मेलम्चीमा साउन १६ गते पुनः ठूलो बाढी आएको बाँस्कोटाको भनाइ छ ।मेलम्ची बजारमा क्षति हुनाको अर्को कारण इन्द्रावती नदीसमेत हो । इन्द्रावतीमा याङ्रीखोला र लार्केखोलाको पानी थपिएपछि इन्द्रावती नदी बढेर बाढी आउँदा थप क्षति पुगेको खानी तथा भूगर्भ विभागले गरेको अध्ययनले देखाएको छ ।

विभागका महानिर्देशक रामप्रसाद घिमिरे मेलम्ची र हेलम्बुमा गरिएको भौगर्भिक अध्ययनबाट आएको निष्कर्षलाई गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा बुझाउने बताउनुहुन्छ । “मेलम्ची र हेलम्बु क्षेत्रको भौगर्भिक अध्ययन मात्र नभएर सबै क्षेत्रको अध्ययन गर्नु जरुरी छ, जुन अध्ययनले आगामी दिनमा यस्ता घटना नघटुन्”, महानिर्देशक घिमिरे भन्नुहुन्छ ।असार १ र साउन १६ मा आएको बाढीले हेलम्बु र मेलम्चीमा एक दर्जनभन्दा बढी व्यक्तिले ज्यान गुमाए भने अर्बौ रकम बराबरको भौतिक संरचनामा क्षति पुग्यो । उक्त बाढीले मेलम्ची र हेलम्बु जोड्ने तथा अन्य ठाउँको झण्डै एक दर्जन पक्की तथा कच्ची पुलमा क्षति पु¥यायो । उक्त बाढीसँगै मेलम्ची खोला वरपरका सयौँ घर जोखिममा रहेका छन् ।

सरकारले मेलम्चीको भौगर्भिक अध्ययनका लागि खानी तथा भूगर्भ विभागबाट दुई जनाको टोली खटाए पनि त्यस क्षेत्रको विपद् जोखिम अध्ययनका लागि गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट तीन जना कर्मचारी खटाइएको थियो ।