नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महाधिवेशनबाट आएका र कानुनी हिसाबले पार्टीको आधिकारिक अध्यक्ष केपी शर्मा ओली नै रहेको बताउनुभएको छ । उहाँले ओली र माधवकुमार नेपालका बीचमा एमालेलाई थप मजबुत बनाएर लैजाने विषयमा छलफल भइरहेको र चाँडै नै पार्टी एक ढिक्का हुने बताउनुभयो । प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वमन्त्रीसमेत रहनुभएका पाण्डेले मिडियाले हल्ला गरे जस्तो एमाले आजै फुट्यो अहिलै फुट्यो भने झैँ नरहेको र पार्टीले कार्यदल बनाएर एक ढिक्का बनाएर लैजाने विषयमा गम्भीर ढङ्गले छलफल गरिरहेको जानकारी दिनुभयो ।
यो पनि – अमर्यादित शब्दलाई रेकर्डबाट हटाउन निर्देशन
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको बैठकमा एक सांसदले प्रयोग गर्नुभएका ‘मेन्टल्ली, फिजिकल्ली फिट हुनुहुन्न’ भन्ने शब्द संसद् सचिवालयको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठक शुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले बिहीबारको बैठकमा एक सांसदले अर्का सांसदलाई अमर्यादित र असंसदीय शब्द बोलेको भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गर्नुभएको थियो ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद मातृकाप्रसाद यादवले सांसदलाई इङ्गित गर्दै ‘मेन्टल्ली, फिजिकल्ली फिट हुनुहुन्न’ भन्ने शब्द प्रयोग गर्नुभएको थियो । उहाँले बोल्ने बित्तिकै प्रमुख सचेतक भट्टराईले बिहबिारको बैठकमा पनि नियमापत्ति गर्दै उक्त शब्दावली संसद्को रेकर्डबाट हटाउन माग गर्नुभएकामा सभामुख सापकोटाले ध्यानाकर्षण भएको जनाउनुभएको थियो । प्रतिनिधिसभाको आजको बैठक शुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदले आसनग्रहण नगरी उभिएर विरोध जनाएपछि सभामुख सापकोटाले प्रमुख सचेतक भट्टराईलाई आफ्नो भनाइ राख्न समय उपलब्ध गराउनुभएको थियो ।
उहाँको भनाइपछि सभामुख सापकोटाले भन्नुभयो, “नेकपा (माओवादी केन्द्र) का सांसद मातृकाप्रसाद यादवले बिहीबार बोल्ने क्रममा प्रयोग गर्नुभएको ‘मेन्टल्ली, फिजिकल्ली फिट हुनुहुन्न’ भन्ने शब्द प्रतिनिभिसभा नियमावलीको नियम २१ को खण्ड (ङ) को प्रतिकूल हुने भएकाले रेकर्डबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु ।”
यो पनि – कांग्रेस केन्द्रीय समिति बैठक जारी
नेपाली कांग्रेसको १४औँ महाधिवेशनको नयाँ मिति तय गर्ने सम्बन्धमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठक आज दोस्रो दिन पनि जारी छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान ११ः३० बजेदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने क्रम जारी रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । कांग्रेसले केन्द्रीय सदस्यहरुको धारणापछि महाधिवेशनको नयाँ मिति तय गर्ने बताइएको छ ।
कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । यद्यपि क्रियाशील सदस्यता विवादका कारण महाधिवेशनअन्तर्गतका स्थानीय तह र जिल्ला अधिवेशन भने प्रभावित भइसकेका छन् । बिहीबार सुरु भएको बैठकमा पहिलो दिन क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदनको व्याख्यासहित प्रस्तुत गर्नुभएको थियो । अन्य नौ जना केन्द्रीय सदस्यले धारणा राख्नुभएको थियो ।
प्रतिक्रिया