एम्बुलेन्स चालकले नै लगाउन पाएनन् खोप

एम्बुलेन्स चालकले नै लगाउन पाएनन् खोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोरोना सङ्क्रमितलाई समेत बोकेर अस्पताल पु¥याउँदै आएका विर्तामोडका एम्बुलेन्स चालकले कोभिडविरुद्धको खोप लगाउन नपाएको गुनासो गरेका छन् ।बजरङ्ग मेडिकलको मे१च १०५० नम्बरको एम्बुलेन्सका चालक चेतन राईले बिर्तामोड र शनिश्चरे क्षेत्रका २८ चालकले खोप लगाउन नपाएको बताउनुभयो । “कोरोनाका बिरामीसमेत बोकेर हिँड्नुपरेको छ, हामीलाई खोपको व्यवस्था मिलाइदिनुप¥यो भनेर बिर्तामोडका नगरप्रमुखलाई भनेका थियौँ”, उहाँले भन्नुभयो, “उहाँले हाम्रा कुरा सुन्नुभयो र व्यवस्था मिलाउँला भन्ने आश्वासन दिनुभयो ।”

बिर्तामोडका नगरप्रमुख ध्रुव शिवाकोटीबाट आश्वासन पाए तापनि अहिलेसम्म खोप लगाउन नपाउँदा दुःख लागेको राईले बताउनुभयो । राजनीतिक दलका नेता र मजदुर युनियनका नेताहरुसँग समेत खोपको व्यवस्था गरिदिन हारगुहार गरिएको उहाँले सुनाउनुभयो ।बिर्तामोड पूर्वी नेपालको स्वास्थ्योपचार केन्द्रको थलो बन्दै गएको छ । यहाँ बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको २५ शय्याको सरकारी अस्पतालदेखि ९०० शय्याको प्रस्तावित मेडिकल कलेज बिएण्डसी अस्पतालसमेत रहेको छ ।

बिर्तामोडका अस्पताल परिसरमा बिरामी कुरेर एम्बुलेन्स चालक बस्ने गरेका छन् । बिर्तामोडको बिएण्डसी र बिर्तासिटी अस्पतालमा कोभिड उपचार केन्द्र सञ्चालित छ । यहाँबाट बिरामी पूर्वी पहाडका जिल्ला, विराटनगर, धरान र भद्रपुर ओहोरदोहोर गर्दै आएका छन् । “राज्यले एम्बुलेन्स चालकलाई कोभिडविरुद्ध अभियानको फ्रन्टलाइनर घोषणा गरेको छ”, खोप लगाउन नपाउनु भएका चालक राईले भन्नुभयो, “हाम्रा पनि घरमा बालबच्चा र परिवार छन् । कोरोनाका बिरामीसमेत बोक्नुपर्ने अवस्था छ । खोप लगाउन पाए ढुक्क हुन सकिने थियो ।”

यो पनि -कञ्चनपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै

कञ्चनपुरमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दैनिक बढ्न थालेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १२० पुगेको छ । बजार, सार्वजनिकस्थल र सार्वजनिक सवारीसाधनमा बढ्दो भिडाभाडसँगै स्वास्थ्यका मापदण्ड पालना नगर्दा कोरोना सङ्क्रमणका बिरामीको सङ्ख्या बढ्न थालेको हो । बिहीबार मात्रै भीमदत्त नगरपालिकामा चार, दोधारा चाँदनीमा एक, कृष्णपुरमा एक, पुर्नर्वासमा दुई र गड्डाचौकीमा एक जना गरी नौ जनामा सङ्क्रमण देखिएको छ । गएको पाँच दिनको अवधिमै ६६ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

कोरोना सङ्क्रमण देखिएकामध्ये चारको आइसोलेशनमा र ११६ को होम आइसोलेशनमा उपचार भइरहेको छ । वैशाख महिनादेखि हालसम्म छ हजार ९९१ जनाको पिसिआर परीक्षण गर्दा तीन हजार ८२३ जनामा कोरोना सङ्क्रमण देखा परेको थियो । त्यसैगरी २९ हजार ५०१ जनाको एन्टेजेन परीक्षण गर्दा दुई हजार ४५९ जनामा सङ्क्रमण देखिएको थियो । जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार २११ पुगेको छ । तीमध्ये सात हजार ८८५ जना सङ्क्रमणमुक्त भएका छन् ।

कोरोना सङ्क्रमणबाटै कञ्चनपुरमा १८८ जनाले ज्यान गुमाएका छन् । कोरोना सङ्क्रमण बढ्न थालेपछि स्थानीय तहले सक्रियता देखाउन थालेका छन् । स्थानीय तहले सरोकारवालासँग छलफल गरी कोरोना रोकथाम तथा नियन्त्रणका लागि सुझाव लिने र योजना बनाउने कार्य अगाडि बढाएका छन् ।शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले कोरोना रोकथामका लागि योजना बनाउनका लागि सरोकारवालासँग छलफल गरी सुझाव माग गरिएको बताउनुभयो । “सुझावअनुसार नगरपालिका क्षेत्रभित्रका मुख्य बजारमा हुने भिडभाड नियन्त्रण गर्नका लागि प्रहरीसँग समन्वय गरी स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्न लगाउने कार्यमा जुटेका छौँ”, उहाँले भन्नुभयो, “मास्क नलगाई बजार क्षेत्रमा हिँडडुल गर्ने कार्यलाई निरुत्साहित गर्नका लागि प्रहरीले कडाइ गर्न थालेको छ ।”

बजार क्षेत्रमा मास्क नलगाइ हिँडेको पाइए सम्झाउने बुझाउने र मास्क लगाउनका लागि अह्राउने कार्य भइरहेको छ । मास्कको व्यवस्था गर्न नसक्ने व्यक्तिलाई निःशुल्करुपमा मास्क उपलव्ध गराउने व्यवस्था भइरहेको उहाँले बताउनुभयो ।कोरोनाको तेस्रो लहरलाई मध्यनजर गर्दै नगरपालिकामा रहेको कोभिड अस्पतालमा अक्सिजन, औषधिको व्यवस्थाका लागि स्वास्थ्य शाखालाई निर्देशन दिइसकिएको उहाँको भनाइ छ । यसैगरी पुर्नर्वास नगरपालिकाले उपलब्ध संरचना तथा सेवा, होल्डिङ सेन्टर, स्वास्थ्य तथा सहायता कक्षको व्यवस्थापन र स्तरोन्नति गर्ने कार्यलाई अगाडि बढाएको छ ।

नगर प्रमुख जीवनराज थापाले कोरोनाको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै सर्तकता अपनाइएको बताउनुभयो । “कोभिड–१९ विरुद्ध प्रतिकार्यका लागि योजना तथा कार्यविधि निर्माण गर्ने कार्यलाई समेत अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो, “नगरपालिकासँग जोडिएको सीमानाका डोकेबजार गौरिफण्टालाई स्वास्थ्य जाँचको कार्यलाई व्यवस्थित बनाउनका लागि गैरसरकारी सङ्घसंस्था र प्रदेश सरकारसँग समन्वय गरी अगाडि बढेका छौँ ।”रासस