कर्णालीमा एकैदिन ११५ जनामा कोरोना सङ्क्रमण पुष्टि

कर्णालीमा एकैदिन ११५ जनामा कोरोना सङ्क्रमण पुष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णालीका १० वटै जिल्ला प्रशासन कार्यालयले नेपाल मास्क अभियानअन्तर्गत ‘तपाईँको मास्क खै ?’ कार्यक्रम अघि सारेका छन् । प्रहरी प्रशासनबाट दोस्रो लहरको कोरोना महामारी सामना गरिसकेका नागरिकलाई तेस्रो लहरबाट जोगिने अवस्थाका विषयमा समेत सचेतना जगाउने काम सुरु भएको छ । सचेतना कार्यक्रमका साथै मास्क नलगाउनेलाई कहीँ कारवाही त कतै मास्क वितरण कार्यक्रम गरिए पनि कोरोना सङ्क्रमण नियन्त्रण हुनसकेको छैन । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दैनिक काममा लाग्न निर्देशन दिए पनि कोही कसैले सावधानी नअपनाउँदा पछिल्लो एक सातामा सङ्क्रमण झनै उकालो लागेको छ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ११५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताललगायत प्रदेशका विभिन्न प्रयोगशालामा शनिबार १३६ जनाको पिसिआर परीक्षण गर्दा ७० र एन्टिजेन विधिबाट २२१ जनाको परीक्षण गर्दा ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा रविन खड्काले जानकारी दिनुभयो । “कोरोना सङ्क्रमण पुष्टि हुनेमा सुर्खेतका ३६, कालीकोटमा २५, रुकुमपश्चिमका १९, जुम्लाका १५, जाजरकोटका १२, दैलेखका पाँच र मुगुका दुई जना रहेका छन्”, निर्देशक डा खड्काले भन्नुभयो, “शनिबार ११५ थपिएसँगै कर्णालीमा ३१ हजार ८५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ८५ जना सङ्क्रमणमुक्त भएर घर फर्केका छन् ।”

उहाँका अनुसार प्रदेशभर कोरोना सङ्क्रमणमुक्त हुनेको कूल सङ्ख्या २९ हजार १०७ अर्थात् ९१ प्रतिशत पुगेको छ । हालसम्म कर्णालीमा एक लाख २४ हजार ५१९ जनाको आरटी पिसिआर र ४२ हजार ५६८ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ । हाल प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९७७ रहेको स्वास्थ्य सेवा निर्देशनालयले जननाएको छ ।

यो पनि – कोरोना सङ्क्रमित नभएका बैतडीका पालिकाका विद्यालय खुले

भारतसँग सीमा जोडिएको बैतडी जिल्लाका विद्यालय खुल्न थालेका छन् । कोरोनाका सक्रिय सङ्क्रमित शून्य रहेका स्थानीय तहहरुले विद्यालय सञ्चालन गरिरहेका हुन् । जिल्लाको मेलौली नगपालिकामा गत साउन १० गतेदेखि विद्यालय खुलेका हुन् भने शिवनाथ गाउँपालिकाले भदौ २ गते बुधबारदेखि विद्यालय पुनः सञ्चालन गर्ने जनाएको छ । यी दुवै स्थानीय तहमा हाल कोरोनाका सक्रिय सङ्क्रमित नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना महामारीका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा बालबालिकामा नकारात्मक प्रभाव परेकाले विद्यालय पुनः सञ्चालन गर्ने निर्णय भएको गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले बताउनुभयो । कोभिडको सङ्क्रमण कम हुँदै गएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा ल्याउने निर्णय भएको हो । शिवनाथमा हाल कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य छ । “शिक्षणका वैकल्पिक माध्यम पनि प्रभावकारी नभएकाले विद्यालय पुनः सञ्चालनको निर्णय भएको हो”, उहाँले भन्नुभयो, “भौतिकरूपमै कक्षाकोठामै पठनपाठन हुन्छ, स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइन्छन् । जोखिम हुनसक्ने भएकाले प्रत्येक विद्यालयमा मास्क र स्यानिटाइजरको व्यवस्थाका लागि रकम पठाइसकेका छौँ ।”

शिवनाथ गाउँपालिकामा ३५ वटा सामुदायिक विद्यालय छन् । शिवनाथ विद्यालय पुनः सञ्चालन गर्ने जिल्लाको दोस्रो स्थानीय तह बन्ने भएको छ । यसअघि जिल्लाको मेलौली नगरपालिकाले पनि साउन १० गतेदेखि विद्यालय सञ्चालनमा ल्याइसकेको छ । मेलौलीमा कोरोना जोखिम भएका क्षेत्रमा सामुदायिक कक्षा र टोल कक्षा सञ्चालन भइरहेका र जोखिम नभएका ठाउँमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन भइरहेका जनाइएको छ । मेलौलीमा ४६ वटा सामुदायिक विद्यालय छन् । जिल्लाको पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर मावि खोड्पेले टोल शिक्षण सिकाइ सञ्चालनमा ल्याएको छ । कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि विद्यालयको सेवा क्षेत्रमा रहेका टोलमा कक्षा सञ्चालन गरिएको जनाइएको छ ।

बैतडीका अन्य स्थानीय तहले पनि विद्यालय पुनः सञ्चालनको तयारी गरिरहेको शिक्षा विकास तथा समन्वय समिति बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “केन्द्र सरकारले स्थानीय सरकारलाई कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय पुनः सञ्चालन गर्नसक्ने अधिकार दिएको छ, सोहीअनुसार तयारी गरिरहेका हुन् ।”

जिल्लामा अहिले २८ सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा २० रहेका छन् । यस्तै पाटन नगरपालिकामा दुई, पुर्चौंडी नगरपालिकामा दुई, सिगास गाउँपालिकामा दुई, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकामा एक÷एक जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण बैतडीमा हालसम्म १८ जनाको मृत्यु भइसकेको छ ।