माओवादी केन्द्रीय समितिको बैठक सुरु

माओवादी केन्द्रीय समितिको बैठक सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज दोस्रो दिन पनि शुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार पेश गर्नुभएको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि छलफल भएको हो । माओवादीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटाका अनुसार अध्यक्षको दुई प्रतिवेदनमाथि समूहगतरुपमा छलफल भएको र टोली नेताले आफनो सुझाव राख्ने कार्यसूची छ ।

अध्यक्ष दाहालको प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय सदस्यलाई विभिन्न आठ समूहमा विभाजन गरिएको थियो । समूहका नेताले प्रतिवेदनमाथि धारणा राख्नेछन् । यसअघि पार्टीको स्थायी समितिको बैठक बसेको थियो । बैठकमा केन्द्रीय समितिमा प्रस्तुत भएको राजनीतिक प्रतिवेदन र विधानकाबारेमा छलफल भएको बताइएको छ ।

यो पनि – सङ्गठन पुनर्गठनतिर माओवादी केन्द्र

नेकपा विभाजनपछि पूर्ववत् दलको हैसियतमा फर्किएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तल्लो तहदेखि नै सङ्गठन पुनर्गठनमा लागेको छ । पार्टी केन्द्रले देशभरका वडा कमिटी पुनर्गठन गर्न गरेको निर्देशनानुसार यहाँ पनि वडा तहका सबै कमिटीले पूर्णता पाएका छन् । पचासी वटै वडामा नयाँ कमिटी बनेको माओवादी केन्द्रका जिल्ला सचिव ज्ञामनाथ गैरेले जानकारी दिनुभयो । एकतापछिको नेकपा छँदा एमाले र माओवादी केन्द्र समायोजित भएर केन्द्रदेखि वडासम्म पार्टी कमिटी गठन भएका थिए । त्यसबेला एउटा पार्टीबाट अध्यक्ष र अर्कोबाट सचिवमा चुनिएका थिए । वडामा पनि त्यही प्रकृतिको कमिटी क्रियाशील थियो ।

नेकपा विभाजनपछिको नयाँ स्थितिमा पार्टी सङ्गठनलाई व्यवस्थित गर्दै गति प्रदान गर्न पुनर्गठनमा जानुपरेको सचिव गैरेले बताउनुभयो । “नेकपाको नेतृत्वमा रहनुभएका साथी अहिलेको कमिटीमा पनि कायमै हुनुहुन्छ”, उहाँले भन्नुभयो, “रिक्त रहेका पदमा नयाँ साथीले जिम्मेवारी पाउनुभएको छ ।”सचिव गैरेले साङ्गाठनिक जग बलियो नभएसम्म पार्टी अगाडि बढ्न नसक्ने भन्दै त्यसका लागि गाउँ फर्किनुपर्ने बताउनुभयो । कमिटी पुनर्गठनका क्रममा अन्य दल परित्याग गरी आएकालाई पनि एकताबद्ध गरिएको माओवादी केन्द्रले जनाएको छ । वडामा बढीमा २९ सदस्यीय कमिटी बनाउन पाउने प्रावधान पार्टी केन्द्रले तोकेको छ ।

आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा वडा तहका कमिटी पुनर्गठनको प्रतिवेदन प्रस्तुत हुने जनाइएको छ । वडासँगै स्थानीय तह, जिल्ला, प्रदेश हुँदै केन्द्रीय तहसम्मको पार्टी सङ्गठनलाई पुनर्गठन गर्ने तयारीमा माओवादी केन्द्र छ । माओवादी केन्द्रको जैमिनी नगरपालिका–८ छिस्ती वडा कमिटीका अध्यक्ष प्रकाश पौडेलले पार्टीको जनाधार मजबुत पार्न तल्लो तहका कमिटी सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले पार्टी पुनःसंरचित हुँदा त्यसले गतिशीलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यो पनि – प्रशासकीय पूर्वाधारलाई पूर्णता दिँदै स्थानीय सरकार

पाँचथर, ३१ साउन (रासस) : यहाँका स्थानीय तहहरुले आ–आफ्ना प्रशासकीय पूर्वाधारलाई पूर्णता दिँदै लगेका छन् । अधिकांश स्थानीय तहले प्रशासकीय भवनलगायत संरचना तथा वडा कार्यालय निर्माण पूरा गर्दै लगेका छन् । केहीले भने चालु आर्थिक वर्ष २०७८÷७९ मा निर्माण सम्पन्न गर्न बजेटको प्रबन्ध गरेका छन् । पाँचथरमा आठवटै स्थानीय तहले चालु आवको नीति तथा कार्यक्रममा प्रशासकीय भवन निर्माणलाई प्राथमिकतामा राखेका छन् । कतिपय स्थानीय तहले भने चालु आवमा पालिका र वडाका कार्यालय भवन निर्माण पूरा गर्दैछन् ।

फिदिम नगरपालिकाले बहुवर्षीय ठेक्कामार्फत विगत चार वर्षदेखि प्रशासकीय भवन निर्माण गर्दै आएको छ । भवनका दुई तला प्रयोगमा आइसकेका छन् । भाडाको घरमा रहेको नगरपालिकाको कार्यालय गत वर्ष नै आफ्नै कार्यालयमा सरेको छ । भवनको बाँकी दुई तला चालु आवमा सम्पन्न गर्ने लक्ष्यका साथ बजेट छुट्यााई काम भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको वडा नं ८ बाहेक बाँकी १३ वटै वडाका कार्यालय भवन चालु आवमा निर्माण सम्पन्न गर्ने नगरपालिकाले लक्ष्य लिएको उपप्रमुख उर्मिला प्रधानले जानकारी दिनुभयो । निर्माणको सुरुआत नभएका वडा नं १, ४ लगायतका वडा कार्यालय भवनसमेत चालु आवमा सम्पन्न गर्न बजेटको प्रबन्ध गरिएको छ ।

उत्तरी याङ्वरक गाउँपालिकाले तीनतले प्रशासकीय भवन १४ महिनाअघि निर्माण थालेको थियो । चालु आवमा पहिलो तला ढलान गरी सञ्चालनमा ल्याउन प्रयासरत रहेको गाउँपालिका उपाध्यक्ष कमलकुमारी योङहाङको भनाइ छ । याङवरकले रु पाँच करोड ४१ लाख ४३ हजारको लागतमा भवन निर्माणको ठेक्का सम्झौता गरेको छ । गत वर्षको जेठ २९ मा भएको ठेक्का सम्झौताअनुसार तीन वर्षभित्र निर्माण सम्पन्न हुनुपर्छ । यद्यपि कोभिड–१९ सङ्क्रमणको महामारीका कारण यहाँको भवन निर्माण प्रभावित बनेको हो । प्रशासकीय भवन निर्माणका विषयमा अदालतमा मुद्दा परेपछि निर्माण समयमा सुरु गर्न नसक्दा आफ्नै कार्यकालमा भवन निर्माण पूरा गर्न नसकिएको उपाध्यक्ष योङहाङले बताउनुभयो । याङवरकका छ वटा वडामध्ये वडा नं २ र ५ को भवन निर्माण अन्तिम चरणमा पुगेको छ । बाँकी वडा कार्यालयले आफ्नै पक्की भवनबाट सेवा दिँदै आएका छन् ।

दक्षिणी मिक्लाजुङ र तुम्बेवा गाउँपालिकाले प्रशासकीय भवन निर्माणलाई पूर्णतातर्फ लगेका छन् । मिक्लाजुङको भवन मिक्लाजुङ–४ रवि तथा तुम्बेवाको तुम्बेवा–३ मौवामा निर्माणाधीन छन् । कुनै जटिलता नआए यी गाउँपालिकाले चालु आवबाटै प्रशासकीय भवन तथा अधिकांश वडाका भवनबाट सेवा सञ्चालन गर्नेछन् । दुवै गाउँपालिकाले सङ्घ र प्रदेश सरकारसँग लागत साझेदारीमा प्रशासकीय भवन निर्माण गरिरहेका छन् ।

जिल्लाको फाल्गुनन्दमा गत आवमा प्रशासकीय भवन निर्माणका लागि गाउँपालिकाको वडा नं ५ मा निःशुल्क जग्गा प्राप्त भएको छ । प्रशासकीय भवनसहित अन्य सार्वजनिक संरचना निर्माणका लागि गत आवमा मात्रै ६० रोपनीभन्दा बढी जग्गा प्राप्त भएकाले चालु आवमा प्रशासकीय भवन निर्माणको सुरुआत हुने गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । सङ्घ तथा प्रदेश सरकारसँग लागत साझेदारी गरी निर्माण थालिने कुरुम्बाङले बताउनुभयो । विसं २०७४ असारमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको काम थालेको छोटो समयमै निधन हुँदा यहाँ गाउँपालिकाको केन्द्र निर्धारणको विवादसमेत समाधान हुनसकेको थिएन । गत वर्षको उपनिर्वाचनबाट कुरुम्बाङ अध्यक्ष चुनिएपछि भौतिक संरचना निर्माणका प्रक्रियाले गति लिएका छन् ।

जिल्लाको हिलिहाङ गाउँपालिकाले गत आवमा मात्रै प्रशासकीय भवन निर्माण गर्ने जग्गा प्राप्त गरेको छ । गत आवमा भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरी माटो परीक्षण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । सङ्घ र प्रदेश सरकारसँग थप अनुदानका लागि प्रस्ताव गर्दै हिलिहाङले प्रशासकीय भवन निर्माणका लागि रु दुई करोड बजेट छुट्यााएको छ । हिलिहाङले वडा नं १ र ५ को वडा कार्यालय भवन निर्माणका लागि समपूरक अनुदान प्राप्त भएको जनाएको छ ।

वडा नं २, ३, ६ र ७ का भवन निर्माणका लागि चालु आवमा जग्गा प्राप्ति गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । वडा नं ४ को भवनमा भने अहिले गाउँपालिकाको कार्यालय रहेकाले गाउँपालिकाले नयाँ भवन निर्माण गरेपछि वडा कार्यालय आफ्नै भवन साविक पञ्चमी गाविसको कार्यालयमा सर्नेछ । यो गाउँपालिकाले एक वडा एक सामुदायिक भवनको नीतिअनुसार भवन निर्माण गर्दै आएको छ ।

कुम्मायक गाउँपालिकाले कुम्मायक–१ रानीगाउँ टोलमा जग्गा प्राप्त गरी चालु आवबाट निर्माण थाल्ने भएको छ । यस्तै सबै वडामा कार्यालय निर्माण र पाँचवटै वडामा सभाहल निर्माणलाई क्रमशः सम्पन्न गर्ने विषयलाई चालु आवको नीति तथा कार्यक्रममा समेटेको छ । उत्तरी फालेलुङले गत आवबाट गाउँपालिकाको प्रशासकीय भवन निर्माण थालेको थियो । गत वर्ष असोज २७ गते फालेलुङ–३ थोक्लिम्बामा गाउँपालिकाको प्रशासकीय भवन निर्माणको शिलान्यास भएको थियो । हालसम्म पहिलो तला ढलान सम्पन्न भएको छ । चालु आवमा निर्माणलाई निरन्तरता दिन गाउँपालिकाले रु एक करोड २४ लाख बजेट छुट्याएको छ । यहाँ तीन वर्षे ठेक्का सम्झौता गरी तीनतले प्रशासकीय भवन बन्न लागेको हो । यस गाउँपालिकामा वडा नं ५, ६, ७ र ८ का वटा वडा कार्यालय भवन जनप्रतिनिधि निर्वाचित भएपछि निर्माण पूरा भई सञ्चालनमा आएका छन् । भवन निर्माण बाँकी रहेका चारवटा वडामा दुई महिनाभित्रै भवन निर्माण पूरा भई सञ्चालनमा आउने प्रमुख प्रशासकीय अधिकृत विनोद चौहानले जानकारी दिनुभयो ।

चालु आवमा स्थानीय तहको प्रथम निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल पूरा हुने भएकाले समेत सबै स्थानीय तहले भवनसहित प्रशासकीय पूर्वाधार निर्माणमा जोड दिएका हुन् । तीन तहको सङ्घीय संरचनालाई संस्थागत गर्न गाउँपालिकालाई संस्थागत गर्नुपर्ने भएकाले विशेष महत्वका साथ भौतिक संरचना निर्माण थालिएको जिल्लाको याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरे बताउनुहुन्छ ।