झापामा खेतमा सडेको अवस्थामा पुरुषको शव फेला

झापामा खेतमा सडेको अवस्थामा पुरुषको शव फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापाको कमल गाउँपालिका– २ स्थित क्याम्पा चोकबाट करिब ५० मिटर पूर्व धानबारीमा स्थानीयवासी राजु लिम्बूको शव फेला परेको छ । स्थानीय नयाँ बस्तीमा बस्दैआउनुभएका अन्दाजी ५० वर्षीय लिम्बूको शव आज बिहान दुर्गन्धित अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएका लिम्बूको मृत्यु केही दिन अगाडि नै भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

शव खेतका बिचमा भएका कारणले सडेर दुर्गन्ध आउन थाले पश्चात स्थानीयवासीले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । घटनाबारे कारण खुल्न सकेको छैन् । परिवारको पहिचान पश्चात् शवलाई परीक्षण लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो पनि – खाग काटिएका अवस्थामा भेटियो मृत गैँडा

चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएका अवस्थामा मृत गैँडा फेला परेको छ । निकुञ्जको माडी बगइ सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हिलोमा गडेका मृतावस्थामा गैँडा फेला परेको जानकारी दिनुभयो । दलदलमा फसेका अवस्थामा यही साउन ११ गते मृत गैँडा भेटिएपछि अनुसन्धान अघि बढाएको निकुञ्जले घटनाबारे आज मात्रै जानकारी दिएको हो । कम्तीमा दुई महिनाअघि मरेको हुनसक्ने आशङ्का गरिएको छ ।

खाग काटिएको र टाउकोका हड्डीमा गोली लागेको जस्तो चोट देखिएको बताइएको छ । उहाँले भन्नुभयो, “खाग काटिएका अवस्थामा मृत गैँडा भेटियो ।” नेपाली सेना र निकुञ्जका कर्मचारीको संयुक्त गस्तीले मृतावस्थामा फेला पारेको हो । यस लगत्तै निकुञ्जको उच्चस्तरको टोलीले अनुसन्धान अघि बढाएको छ । उहाँले भन्नुभयो, “हामीले अनुसन्धान जारी राखेका छाँै ।” कुहिएकाले भाले पोथी पहिचान हुनसकेको छैन । घटना लगत्तै कारागारबाट छुटेका र अन्य शङ्कास्पदमाथि अनुसन्धान थालिएको छ ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार गत आर्थिक वर्षमा निकुञ्जमा चार गैँडा चोरी सिकारीले मारेका थिए भने प्राकृतिक कारणले २८ मरेका थिए । चालू आवका साउनमा मात्रै प्राकृतिक कारणले पाँच गैँडा मरेका छन् । यो सहित ६ गैँडा मरेका हुन् । निकुञ्जले गस्ती कार्यलाई तीव्रता दिएको भए पनि चोरी सिकार रोकिन सकेको छैन ।

यो पनि – ला’गुऔ’षध मुद्दामा फरार अभियुक्त तीन वर्षपछि पक्राउ

दश वर्षभन्दा बढी कैद स’जाय तोकिएका एक फरार अभियुक्तलाई तीन वर्षपछि पक्राउ परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले प्रतापपुर गाउँपालिका–३ सोमनी बस्ने २२ वर्षीय इन्द्रजीत बिनलाई पक्राउ गरेको हो । निजलाई नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ बाट पक्राउ गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो । जिल्ला अदालतले विसं २०७५ जेठ ३० गते ला’गुऔ’षध मुद्दामा १० वर्ष एक महिना आठ दिन कैद सजाय र रु एक लाख जरिवानाको फैसला गरेपछि बिन फरार भएका थिए ।

यो पनि – किसानको मकै नष्ट गरेपछि थाल ठटाउँदै बँदेल धपाउँदै

भक्तपुरको नगरकोट, तेलकोट र छालिङलगायतका क्षेत्रमा बँदेलले मकै नष्ट गरिदिएपछि किसान समस्यामा परेका छन् । ती क्षेत्रका सयौँ रोपनी जग्गामा लगाइएको बालीलाई जङ्गली बँदेलले नष्ट गरिदिने गरेको उनीहरुको गुनासोे छ । हरेक वर्ष बँदेलले मकै, कोदो, आलुलगायतका बाली नोक्सान गरेको तेलकोट छालिङका श्याम पुरीले जानकारी दिनुभयो ।

रात परेपछि बँदेलको समूह नै मकै बारीमा पसेर मकै खाने र नष्ट गरिदिने गरेको उहाँले बताउनुभयो । जिल्ला वन कार्यालय तथा नगरपालिकालाई पटकपटक नियन्त्रण गर्न आग्रह गरिएकामा हालसम्म सम्बोधन नभएको उनीहरुको गुनासो छ । चाँगुनारायणका बद्री अधिकारीले जङ्गलबाट राति आउने बँदेको भुण्डले आलु, कोदो मकै खाइदिने गरेको र थाल ठटाएर भगाउने गरे पनि दुःख दिन नछाडेको बताउनुभयो ।  नगरकोटका सन्त लामा भन्नुहुन्छ, “मकै खान बँदेल राति आउँछ । बँदेलको झुण्ड एकैपटक मकै बारीमा छिरेर मकै खाने र नष्ट गर्छ । राति थाल बजाएर धपाउनुपर्छ, डर हुन्छ । बँदेलले बाली नष्ट गरेको क्षतिपूर्ति पाउनुपर्ने यहाँका किसानको माग छ ।”

यो पनि – औद्यागिक र पर्यटन क्षेत्रका छ हजार ७०० व्यवसायीलाई खोप

पोखरामा औद्यागिक तथा पर्यटन क्षेत्रका छ हजार ७०० उद्योगी तथा व्यवसायीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ, पोखरा पर्यटन परिषद्लगायतका सङ्घसंस्थाको अगुवाइमा पोखरामा पर्यटन व्यवसायी, उद्योग व्यवसाय एवं मजदुरलाई खोप उपलब्ध गराइएको हो । शनिबार पोखरा उद्योग वाणिज्य सङ्घको सचिवालयमा एक हजार ४०० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको सङ्घका अध्यक्ष नारायण कोइरालाले जानकारी दिनुभयो । दैनिक सयौँ उपभोक्तालाई आवश्यक पर्ने सामान उपलब्ध गराउँदै आएका व्यावसायिक प्रतिष्ठान कोभिड फैलाउने केन्द्र नबनून् भन्नेतर्फ पटक–पटक सरोकारवालाको ध्यानाकर्षण गराइएको जानकारी दिँदै उहाँले थोरै सङ्ख्यामा भए पनि खोप उपलब्ध हुनुले आफूहरूलाई उत्साहित बनाएको बताउनुभयो ।

उहाँका अनुसार खोपको सुनिश्चितताका लागि सङ्घले गण्डकी प्रदेश सरकार, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला प्रशासन कार्यालय कास्कीसहित सङ्घीय सरकारका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पनि गुहारेको थियो । सङ्घका पूर्वअध्यक्ष तथा गण्डकीका कानून, सञ्चार तथा प्रदेश मामिलामन्त्री विन्दुकुमार थापासहित सङ्घका अध्यक्ष कोइराला, वाणिज्यतर्फका उपाध्यक्ष तथा खोप व्यवस्थापन उपसमिति संयोजक अर्जुन पोखरेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई, विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठलगायतको प्रतिनिधिमण्डलले स्वास्थ्य राज्यमन्त्रीलाई भेटेर खोपको माग गरेको थियो ।

अत्यावश्यक सामग्रीको उत्पादन गर्ने औद्योगिक क्षेत्र तथा पर्यटन आबद्ध व्यसायी र मजदुरले खोप पाउनु सुखद् भएको उहाँले बताउनुभयो । अध्यक्ष कोइरालाका अनुसार सङ्घले एक हजार ४००, पोखरा पर्यटन परिषद्को समन्वयमा दुई हजार ५००, पोखरा औद्योगिक क्षेत्रमा एक हजार, लेखनाथ उद्योग वाणिज्य सङ्घमा ९०० तथा पोखरा चेम्बर अफ कमर्ससँग आबद्ध ९०० व्यवसायीले खोप पाएका छन् । आगामी दिनमा थप व्यवसायीलाई खोप उपलब्ध गराउन निरन्तर लागिरहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । सङ्घका उद्योगतर्फका उपाध्यक्ष तथा खोप व्यवस्थापन उपसमितिका संयोजक पोखरेलले यसअघि नै उमेर समूहअन्तर्गत केही व्यवसायीले खोप लगाइसकेको जानकारी दिँदै प्रतिष्ठानमा अग्रमोर्चामा रहने कर्मचारीले पनि खोप पाएसँगै व्यावसायिक क्षेत्र केही ढुक्क हुने अवस्था सिर्जना भएको बताउनुभयो ।

यो पनि – कर्णालीमा एकैदिन ११५ जनामा कोरोना सङ्क्रमण पुष्टि

कर्णालीका १० वटै जिल्ला प्रशासन कार्यालयले नेपाल मास्क अभियानअन्तर्गत ‘तपाईँको मास्क खै ?’ कार्यक्रम अघि सारेका छन् । प्रहरी प्रशासनबाट दोस्रो लहरको कोरोना महामारी सामना गरिसकेका नागरिकलाई तेस्रो लहरबाट जोगिने अवस्थाका विषयमा समेत सचेतना जगाउने काम सुरु भएको छ । सचेतना कार्यक्रमका साथै मास्क नलगाउनेलाई कहीँ कारवाही त कतै मास्क वितरण कार्यक्रम गरिए पनि कोरोना सङ्क्रमण नियन्त्रण हुनसकेको छैन । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दैनिक काममा लाग्न निर्देशन दिए पनि कोही कसैले सावधानी नअपनाउँदा पछिल्लो एक सातामा सङ्क्रमण झनै उकालो लागेको छ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ११५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताललगायत प्रदेशका विभिन्न प्रयोगशालामा शनिबार १३६ जनाको पिसिआर परीक्षण गर्दा ७० र एन्टिजेन विधिबाट २२१ जनाको परीक्षण गर्दा ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा रविन खड्काले जानकारी दिनुभयो । “कोरोना सङ्क्रमण पुष्टि हुनेमा सुर्खेतका ३६, कालीकोटमा २५, रुकुमपश्चिमका १९, जुम्लाका १५, जाजरकोटका १२, दैलेखका पाँच र मुगुका दुई जना रहेका छन्”, निर्देशक डा खड्काले भन्नुभयो, “शनिबार ११५ थपिएसँगै कर्णालीमा ३१ हजार ८५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ८५ जना सङ्क्रमणमुक्त भएर घर फर्केका छन् ।”

उहाँका अनुसार प्रदेशभर कोरोना सङ्क्रमणमुक्त हुनेको कूल सङ्ख्या २९ हजार १०७ अर्थात् ९१ प्रतिशत पुगेको छ । हालसम्म कर्णालीमा एक लाख २४ हजार ५१९ जनाको आरटी पिसिआर र ४२ हजार ५६८ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ । हाल प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९७७ रहेको स्वास्थ्य सेवा निर्देशनालयले जननाएको छ ।

यो पनि – कोरोना सङ्क्रमित नभएका बैतडीका पालिकाका विद्यालय खुले

भारतसँग सीमा जोडिएको बैतडी जिल्लाका विद्यालय खुल्न थालेका छन् । कोरोनाका सक्रिय सङ्क्रमित शून्य रहेका स्थानीय तहहरुले विद्यालय सञ्चालन गरिरहेका हुन् । जिल्लाको मेलौली नगपालिकामा गत साउन १० गतेदेखि विद्यालय खुलेका हुन् भने शिवनाथ गाउँपालिकाले भदौ २ गते बुधबारदेखि विद्यालय पुनः सञ्चालन गर्ने जनाएको छ । यी दुवै स्थानीय तहमा हाल कोरोनाका सक्रिय सङ्क्रमित नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना महामारीका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा बालबालिकामा नकारात्मक प्रभाव परेकाले विद्यालय पुनः सञ्चालन गर्ने निर्णय भएको गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले बताउनुभयो । कोभिडको सङ्क्रमण कम हुँदै गएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा ल्याउने निर्णय भएको हो । शिवनाथमा हाल कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य छ । “शिक्षणका वैकल्पिक माध्यम पनि प्रभावकारी नभएकाले विद्यालय पुनः सञ्चालनको निर्णय भएको हो”, उहाँले भन्नुभयो, “भौतिकरूपमै कक्षाकोठामै पठनपाठन हुन्छ, स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइन्छन् । जोखिम हुनसक्ने भएकाले प्रत्येक विद्यालयमा मास्क र स्यानिटाइजरको व्यवस्थाका लागि रकम पठाइसकेका छौँ ।”

शिवनाथ गाउँपालिकामा ३५ वटा सामुदायिक विद्यालय छन् । शिवनाथ विद्यालय पुनः सञ्चालन गर्ने जिल्लाको दोस्रो स्थानीय तह बन्ने भएको छ । यसअघि जिल्लाको मेलौली नगरपालिकाले पनि साउन १० गतेदेखि विद्यालय सञ्चालनमा ल्याइसकेको छ । मेलौलीमा कोरोना जोखिम भएका क्षेत्रमा सामुदायिक कक्षा र टोल कक्षा सञ्चालन भइरहेका र जोखिम नभएका ठाउँमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन भइरहेका जनाइएको छ । मेलौलीमा ४६ वटा सामुदायिक विद्यालय छन् । जिल्लाको पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर मावि खोड्पेले टोल शिक्षण सिकाइ सञ्चालनमा ल्याएको छ । कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि विद्यालयको सेवा क्षेत्रमा रहेका टोलमा कक्षा सञ्चालन गरिएको जनाइएको छ ।

बैतडीका अन्य स्थानीय तहले पनि विद्यालय पुनः सञ्चालनको तयारी गरिरहेको शिक्षा विकास तथा समन्वय समिति बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “केन्द्र सरकारले स्थानीय सरकारलाई कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय पुनः सञ्चालन गर्नसक्ने अधिकार दिएको छ, सोहीअनुसार तयारी गरिरहेका हुन् ।”

जिल्लामा अहिले २८ सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा २० रहेका छन् । यस्तै पाटन नगरपालिकामा दुई, पुर्चौंडी नगरपालिकामा दुई, सिगास गाउँपालिकामा दुई, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकामा एक÷एक जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण बैतडीमा हालसम्म १८ जनाको मृत्यु भइसकेको छ ।