समान सुविधाका लागि पहल गर्न एमालेको माग

समान सुविधाका लागि पहल गर्न एमालेको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ साउन । नेकपा (एमाले) ले बेलायती सेनाबाट अवकाशप्राप्त भूतपूर्व गोर्खा सैनिकले बेलायती सहकर्मीसरह पेन्सनलगायत समान सुविधा पाउनुपर्ने माग राखेर लामो समयदेखि गर्दै आएको आन्दोलनप्रति गम्भीर भई समस्या समाधानका लागि बेलायत सरकारसँग अविलम्ब कूटनीतिक पहल गर्न माग गरेको छ ।

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीद्वारा आज जारी विज्ञप्तिमा बेलायती सेनामा कार्यरत रहेर वीरता, दुःखकष्ट र बलिदानको कीर्तिमान बनाएका भूपू गोर्खा सैनिकले उठाएको समानताको आवाज स्वाभाविक, जायज र मानवीय भएकाले पूर्ववर्ती सरकारले भूपू गोर्खा सैनिकका सरोकारलाई संवोधन गर्न बेलायती सरकारलाई बारम्बार आग्रह गरेको स्मरण गराइएको छ ।

समानताको सिद्धान्तलाई आधार मानेर तथा नेपाल र बेलायतबीचको २०० वर्षभन्दा पुरानो ऐतिहासिक सम्बन्धलाई ध्यानमा राखेर यस समस्याको समाधान गर्न बेलायत सरकारसँग अविलम्ब कूटनीतिक पहलका एमालेले सरकारको ध्यानाकर्षण गराएको हो । रासस

यो पनि – सङ्गठन पुनर्गठनतिर माओवादी केन्द्र

नेकपा विभाजनपछि पूर्ववत् दलको हैसियतमा फर्किएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तल्लो तहदेखि नै सङ्गठन पुनर्गठनमा लागेको छ । पार्टी केन्द्रले देशभरका वडा कमिटी पुनर्गठन गर्न गरेको निर्देशनानुसार यहाँ पनि वडा तहका सबै कमिटीले पूर्णता पाएका छन् । पचासी वटै वडामा नयाँ कमिटी बनेको माओवादी केन्द्रका जिल्ला सचिव ज्ञामनाथ गैरेले जानकारी दिनुभयो । एकतापछिको नेकपा छँदा एमाले र माओवादी केन्द्र समायोजित भएर केन्द्रदेखि वडासम्म पार्टी कमिटी गठन भएका थिए । त्यसबेला एउटा पार्टीबाट अध्यक्ष र अर्कोबाट सचिवमा चुनिएका थिए । वडामा पनि त्यही प्रकृतिको कमिटी क्रियाशील थियो ।

नेकपा विभाजनपछिको नयाँ स्थितिमा पार्टी सङ्गठनलाई व्यवस्थित गर्दै गति प्रदान गर्न पुनर्गठनमा जानुपरेको सचिव गैरेले बताउनुभयो । “नेकपाको नेतृत्वमा रहनुभएका साथी अहिलेको कमिटीमा पनि कायमै हुनुहुन्छ”, उहाँले भन्नुभयो, “रिक्त रहेका पदमा नयाँ साथीले जिम्मेवारी पाउनुभएको छ ।”सचिव गैरेले साङ्गाठनिक जग बलियो नभएसम्म पार्टी अगाडि बढ्न नसक्ने भन्दै त्यसका लागि गाउँ फर्किनुपर्ने बताउनुभयो । कमिटी पुनर्गठनका क्रममा अन्य दल परित्याग गरी आएकालाई पनि एकताबद्ध गरिएको माओवादी केन्द्रले जनाएको छ । वडामा बढीमा २९ सदस्यीय कमिटी बनाउन पाउने प्रावधान पार्टी केन्द्रले तोकेको छ ।

आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा वडा तहका कमिटी पुनर्गठनको प्रतिवेदन प्रस्तुत हुने जनाइएको छ । वडासँगै स्थानीय तह, जिल्ला, प्रदेश हुँदै केन्द्रीय तहसम्मको पार्टी सङ्गठनलाई पुनर्गठन गर्ने तयारीमा माओवादी केन्द्र छ । माओवादी केन्द्रको जैमिनी नगरपालिका–८ छिस्ती वडा कमिटीका अध्यक्ष प्रकाश पौडेलले पार्टीको जनाधार मजबुत पार्न तल्लो तहका कमिटी सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले पार्टी पुनःसंरचित हुँदा त्यसले गतिशीलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यो पनि – प्रशासकीय पूर्वाधारलाई पूर्णता दिँदै स्थानीय सरकार

पाँचथर, ३१ साउन । यहाँका स्थानीय तहहरुले आ–आफ्ना प्रशासकीय पूर्वाधारलाई पूर्णता दिँदै लगेका छन् । अधिकांश स्थानीय तहले प्रशासकीय भवनलगायत संरचना तथा वडा कार्यालय निर्माण पूरा गर्दै लगेका छन् । केहीले भने चालु आर्थिक वर्ष २०७८÷७९ मा निर्माण सम्पन्न गर्न बजेटको प्रबन्ध गरेका छन् । पाँचथरमा आठवटै स्थानीय तहले चालु आवको नीति तथा कार्यक्रममा प्रशासकीय भवन निर्माणलाई प्राथमिकतामा राखेका छन् । कतिपय स्थानीय तहले भने चालु आवमा पालिका र वडाका कार्यालय भवन निर्माण पूरा गर्दैछन् ।

फिदिम नगरपालिकाले बहुवर्षीय ठेक्कामार्फत विगत चार वर्षदेखि प्रशासकीय भवन निर्माण गर्दै आएको छ । भवनका दुई तला प्रयोगमा आइसकेका छन् । भाडाको घरमा रहेको नगरपालिकाको कार्यालय गत वर्ष नै आफ्नै कार्यालयमा सरेको छ । भवनको बाँकी दुई तला चालु आवमा सम्पन्न गर्ने लक्ष्यका साथ बजेट छुट्यााई काम भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको वडा नं ८ बाहेक बाँकी १३ वटै वडाका कार्यालय भवन चालु आवमा निर्माण सम्पन्न गर्ने नगरपालिकाले लक्ष्य लिएको उपप्रमुख उर्मिला प्रधानले जानकारी दिनुभयो । निर्माणको सुरुआत नभएका वडा नं १, ४ लगायतका वडा कार्यालय भवनसमेत चालु आवमा सम्पन्न गर्न बजेटको प्रबन्ध गरिएको छ ।

उत्तरी याङ्वरक गाउँपालिकाले तीनतले प्रशासकीय भवन १४ महिनाअघि निर्माण थालेको थियो । चालु आवमा पहिलो तला ढलान गरी सञ्चालनमा ल्याउन प्रयासरत रहेको गाउँपालिका उपाध्यक्ष कमलकुमारी योङहाङको भनाइ छ । याङवरकले रु पाँच करोड ४१ लाख ४३ हजारको लागतमा भवन निर्माणको ठेक्का सम्झौता गरेको छ । गत वर्षको जेठ २९ मा भएको ठेक्का सम्झौताअनुसार तीन वर्षभित्र निर्माण सम्पन्न हुनुपर्छ । यद्यपि कोभिड–१९ सङ्क्रमणको महामारीका कारण यहाँको भवन निर्माण प्रभावित बनेको हो । प्रशासकीय भवन निर्माणका विषयमा अदालतमा मुद्दा परेपछि निर्माण समयमा सुरु गर्न नसक्दा आफ्नै कार्यकालमा भवन निर्माण पूरा गर्न नसकिएको उपाध्यक्ष योङहाङले बताउनुभयो । याङवरकका छ वटा वडामध्ये वडा नं २ र ५ को भवन निर्माण अन्तिम चरणमा पुगेको छ । बाँकी वडा कार्यालयले आफ्नै पक्की भवनबाट सेवा दिँदै आएका छन् ।

दक्षिणी मिक्लाजुङ र तुम्बेवा गाउँपालिकाले प्रशासकीय भवन निर्माणलाई पूर्णतातर्फ लगेका छन् । मिक्लाजुङको भवन मिक्लाजुङ–४ रवि तथा तुम्बेवाको तुम्बेवा–३ मौवामा निर्माणाधीन छन् । कुनै जटिलता नआए यी गाउँपालिकाले चालु आवबाटै प्रशासकीय भवन तथा अधिकांश वडाका भवनबाट सेवा सञ्चालन गर्नेछन् । दुवै गाउँपालिकाले सङ्घ र प्रदेश सरकारसँग लागत साझेदारीमा प्रशासकीय भवन निर्माण गरिरहेका छन् ।

जिल्लाको फाल्गुनन्दमा गत आवमा प्रशासकीय भवन निर्माणका लागि गाउँपालिकाको वडा नं ५ मा निःशुल्क जग्गा प्राप्त भएको छ । प्रशासकीय भवनसहित अन्य सार्वजनिक संरचना निर्माणका लागि गत आवमा मात्रै ६० रोपनीभन्दा बढी जग्गा प्राप्त भएकाले चालु आवमा प्रशासकीय भवन निर्माणको सुरुआत हुने गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । सङ्घ तथा प्रदेश सरकारसँग लागत साझेदारी गरी निर्माण थालिने कुरुम्बाङले बताउनुभयो । विसं २०७४ असारमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको काम थालेको छोटो समयमै निधन हुँदा यहाँ गाउँपालिकाको केन्द्र निर्धारणको विवादसमेत समाधान हुनसकेको थिएन । गत वर्षको उपनिर्वाचनबाट कुरुम्बाङ अध्यक्ष चुनिएपछि भौतिक संरचना निर्माणका प्रक्रियाले गति लिएका छन् ।

जिल्लाको हिलिहाङ गाउँपालिकाले गत आवमा मात्रै प्रशासकीय भवन निर्माण गर्ने जग्गा प्राप्त गरेको छ । गत आवमा भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरी माटो परीक्षण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । सङ्घ र प्रदेश सरकारसँग थप अनुदानका लागि प्रस्ताव गर्दै हिलिहाङले प्रशासकीय भवन निर्माणका लागि रु दुई करोड बजेट छुट्यााएको छ । हिलिहाङले वडा नं १ र ५ को वडा कार्यालय भवन निर्माणका लागि समपूरक अनुदान प्राप्त भएको जनाएको छ ।

वडा नं २, ३, ६ र ७ का भवन निर्माणका लागि चालु आवमा जग्गा प्राप्ति गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । वडा नं ४ को भवनमा भने अहिले गाउँपालिकाको कार्यालय रहेकाले गाउँपालिकाले नयाँ भवन निर्माण गरेपछि वडा कार्यालय आफ्नै भवन साविक पञ्चमी गाविसको कार्यालयमा सर्नेछ । यो गाउँपालिकाले एक वडा एक सामुदायिक भवनको नीतिअनुसार भवन निर्माण गर्दै आएको छ ।

कुम्मायक गाउँपालिकाले कुम्मायक–१ रानीगाउँ टोलमा जग्गा प्राप्त गरी चालु आवबाट निर्माण थाल्ने भएको छ । यस्तै सबै वडामा कार्यालय निर्माण र पाँचवटै वडामा सभाहल निर्माणलाई क्रमशः सम्पन्न गर्ने विषयलाई चालु आवको नीति तथा कार्यक्रममा समेटेको छ । उत्तरी फालेलुङले गत आवबाट गाउँपालिकाको प्रशासकीय भवन निर्माण थालेको थियो । गत वर्ष असोज २७ गते फालेलुङ–३ थोक्लिम्बामा गाउँपालिकाको प्रशासकीय भवन निर्माणको शिलान्यास भएको थियो । हालसम्म पहिलो तला ढलान सम्पन्न भएको छ । चालु आवमा निर्माणलाई निरन्तरता दिन गाउँपालिकाले रु एक करोड २४ लाख बजेट छुट्याएको छ । यहाँ तीन वर्षे ठेक्का सम्झौता गरी तीनतले प्रशासकीय भवन बन्न लागेको हो । यस गाउँपालिकामा वडा नं ५, ६, ७ र ८ का वटा वडा कार्यालय भवन जनप्रतिनिधि निर्वाचित भएपछि निर्माण पूरा भई सञ्चालनमा आएका छन् । भवन निर्माण बाँकी रहेका चारवटा वडामा दुई महिनाभित्रै भवन निर्माण पूरा भई सञ्चालनमा आउने प्रमुख प्रशासकीय अधिकृत विनोद चौहानले जानकारी दिनुभयो ।

चालु आवमा स्थानीय तहको प्रथम निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल पूरा हुने भएकाले समेत सबै स्थानीय तहले भवनसहित प्रशासकीय पूर्वाधार निर्माणमा जोड दिएका हुन् । तीन तहको सङ्घीय संरचनालाई संस्थागत गर्न गाउँपालिकालाई संस्थागत गर्नुपर्ने भएकाले विशेष महत्वका साथ भौतिक संरचना निर्माण थालिएको जिल्लाको याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरे बताउनुहुन्छ ।