काम नगर्ने ठेकेदारविरुद्ध स्थानीयवासी आन्दोलित

काम नगर्ने ठेकेदारविरुद्ध स्थानीयवासी आन्दोलित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तीन वर्षअघि गाडिएका विद्युत्का पोलहरु लथालिङ्ग बनाई काम नगर्ने ठेकेदारलाई कारबाहीको माग गर्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । भेरी नगरपालिका–२ कोटखोलाबाट कुशे गाउँपालिका–५ पाँचकाटियासम्म गाडिएका विद्युत्का पोलहरु लथालिङ्ग भएको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् । भेरी नगरपालिका–२ र कुशे गाउँपालिका पाँचकाटिया बजार व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर थापाको संयोजकत्वको टोलीले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटालाई ज्ञापनपत्र बुझाउँदै सात दिनभित्र काम सुरु नगरे कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

ठेक्का लिने तर काम नगर्ने परिपाटी मौलाइरहेको बेला यहाँका नागरिकहरु दिक्क भएर आन्दोलन गर्न बाध्य भएको सङ्घर्ष समितिका संयोजक थापाले बताउनुभयो । केही पोलहरु गाडिएको छ भने केही बीच बाटोमै छाड्दा ठाउँठाउँमा गएको पहिराले पोलहरु पुरिएको अवस्थामा रहेको थापाले बताउनुभयो ।

आर्थिक वर्ष २०७५÷७६ मा प्रदेश विद्युत् प्राधिकरणले गरेको ठेक्कामा त्रिपुरेश्वरी जय दुर्गे जेभी काठमाडौँ यो रुटमा लाइन विस्तारका लागि ठेक्का लिएको थियो । लिएको ठेक्का बीचमै छोडेर सम्पर्कमा नरहेको उक्त जेभीका इन्जिनीयर नारायण लम्सालसँग हामीले सम्पर्क गर्दा विवादका कारण ढिला भएको बताउनुभयो । उहाँले भन्नुभयो, “रूख काट्नुपर्ने र स्थानीयवासीले विवाद गर्दा कामले गति लिन नसकेको हो, अब वर्षा सकिएपछि तुरुन्तै काम गर्नेछौँ ।”

त्यस्तै उक्त जेभीले भेरी नगरपालिका–१ कालेगाउँदेखि रिम्नासम्मको ठेक्का लिएर बीचमै छाडेको छ । कालेगाउँबाट बाहुनथाना जोड्ने प्रसारण लाइनसमेत अलपत्र बनाएको छ । मटेलादेखि भेर्रेसम्म जोड्ने कामको लाइनसमेत काफलचौरसम्म लिएर अलपत्र परेको पाइएको छ । वर्षा सकिनेबित्तिकै काम सुरु हुने र सो काम तीन महिनाभित्र सकिने इञ्जिनीयर लम्सालले बताउनुभयो । तीन वर्षसम्म काम किन हुन सकेन भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, “सडक निर्माण तथा विवादले गर्दा काम हुन नसकेको अहिले सबै कुरा सल्टिएको छ, अब काम हुन्छ ।”

त्यस्तै पाँचकाटियाँदेखि कुशेसम्म जोड्ने लाइनसमेत विस्तार हुन सकेको छैन । जिल्ला समन्वय समितिका सदस्य तथा नेपाली कांग्रेसका नेता तेजविक्रम शाहले लिएको ठेक्काको काम नहुँदा तीन वर्षदेखि सो कामसमेत अवरुद्ध भएको छ । नलगाड नगरपालिकाबाट बारेकोट गाउँपालिका जोड्ने लाइनमा समेत शाहले काम नगर्दा बीचमै अलपत्र परेको छ ।

पहुँचको भरमा ठेक्का लिने र बीचमै छोड्ने तरिकाले गर्दा सर्वसाधारणले समयमै विद्युत् बाल्न नसकेका हुन् । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले काम नगर्ने ठेकेदारलाई तुरुन्तै कारबाही हुने बताउनुभयो । उहाँले भन्नुभयो, “ठेक्का लिने तर बीचैमा छोड्ने तरिका राम्रो भएन, मलाई पनि ज्ञापनपत्र बुझाएको छ, काम नगर्नेलाई कारबाही गरिनुपर्छ मैले नि त्यही सिफारिस गर्छु ।”

पश्चिमको शिवालय र जुनिचाँदे गाउँपालिकामा विद्युतीकरण गर्नका लागि खोलिएको ठेक्काको कामसमेत निर्माण व्यवसायी शान्तबहादुर बस्नेतले नगर्दा पश्चिममा विद्युतीकरणको कामसमेत अवरुद्ध हुँदै आएको छ । उता विद्युत् प्राधिकरण जाजरकोटका प्रमुख विशाल लामिछानेले निर्माणको जिम्मा लिएका ठेकेदारलाई जति बोलाए पनि सम्पर्कमा नआएको बताउनुभयो । उहाँले भन्नुभयो, “बोलाउँदा आज आउँछु, भोलि आउँछु भन्दै दिन कटाइरहनुभएको छ । सबै नभएको काम प्रदेशको ठेक्कावालाहरुकै रहेको छ, जो तीन वर्ष क्रस भइसकेको छ ।”

तोकिएको समयमा काम भइदिएको भए जिल्लाभरि अहिलेसम्म ७० प्रतिशत विद्युतीकरण हुने प्रमुख लामिछानेले बताउनुभयो । जाजरकोटमा अहिले ३३ केभी प्रसारण लाइनको विद्युत् पुनः सञ्चालन अवस्थामा रहेको छ । कुदु स्टेशनसम्म ३३ केभी र अन्य ठाउँमा ११ केभी प्रसारणलाइन चालु अवस्थामा रहेको छ । मुख्य ठाउँकै काम नहुँदा बाँकी कामको ठेक्का खोल्न नसकेको उहाँको भनाइ छ ।