झापामा ‘ड्रागन फ्रुट’ खेतीको लहर

झापामा ‘ड्रागन फ्रुट’ खेतीको लहर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २ भदौ (रासस) : गत वर्ष कोरोना महामारीले बन्दाबन्दी शुरु भएको बेला झापाली युवा नेता मनोज ताम्ली ड्रागन फ्रुटको बिरुवा रोप्दै हुनुहुन्थ्यो । सरकारी जागिरबाट निवृत्त आफ्ना बुवा रमेश ताम्लीले प्रोत्साहित गरेपछि उहाँले ड्रागन फ्रुटको खेतीबारे युट्युबबाटै खेती र प्रविधिको प्रशस्त जानकारी लिनुभयो । बन्दाबन्दीमा हात बाँधेर बस्नुभन्दा नयाँ पौरख गरौँ भन्ने हुटहुटीले उहाँ त्यसको खेती गर्ने आफ्नो गाउँको पहिलो किसान हुनुभयो । अहिले एक वर्षपछि उहाँको त्यही नौलो खेती आयआर्जनको माध्यमसँगै स्थानीय पर्यटकीय आकर्षणको थलो बन्न पुगेको छ ।

विद्यार्थी नेता ताम्ली अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य हुनुहुन्छ । उहाँले झापा गाउँपालिका–६ मा सञ्चालित समृद्धि एकीकृत कृषि तथा पशुपक्षी फार्ममा दुई कठ्ठा जग्गामा ड्रागन फ्रुटको खेती गर्नुभएको छ । दक्षिण झापाको दुर्गम गाउँमा गरिएको यो खेती स्थानीयका लागि अनौठो बनेको हुँदा हेर्ने र फल चाख्नेको दिनहुँ घुइँचो हुने गरेको छ । सञ्चालक ताम्लीका अनुसार एकैचोटी भीड प्रवेश नगरोस् भनेर घुम्न र हेर्न आउनेलाई पालो मिलाइने गरिएको छ ।“बन्दाबन्दीको बेला खेती शुरु गरिहालियो, के कसो होला भन्ने मनमा डर थियो”, उहाँले भन्नुभयो, “अहिले फल पाक्न थालेपछि किनेर चाख्ने र हेर्ने मानिसको घुइँचो देख्दा आनन्द लाग्छ । अलि धेरै जग्गामा खेती गरेको भए पनि हुनेरहेछ जस्तो लाग्छ ।” पाकेका सबै फल स्थानीयवासीले नै किनेर लगिरहेका छन् । बजार खोज्न कतै जानु नपरेको उहाँले बताउनुभयो ।

मेचीनगर नगरपालिका वडा नं १० स्थित प्याराडाइस एग्रो फार्ममा अढाइ बिगाहा जग्गामा गरिएको ड्रागन फ्रुटको खेती । झापा, मेचीनगर, अर्जुनधारालगायतका पालिकामा यसको खेती लगाउने लहर चलेको छ । तस्वीर ः चन्द्रकला भण्डारी, रासस

आफ्नै जग्गा भएकाले उहाँलाई खेतीका लागि धेरै लगानी चाहिएन । मात्र रु पाँच लाखमा खेती शुरु गरेको बताउने उहाँले यसवर्ष थप दुई कठ्ठामा खेती विस्तार गरिसकेको जानकारी दिनुभयो । खेतीमा उहाँ आफैँ र परिवारका सदस्य खटिने गर्नुभएको छ । कामदार पनि बाहिरबाट राख्नुपरेको छैन ।स्थानीय पत्रकार केशव चापागाईंले युट्युब र टेलिभिजनमा मात्र देख्ने गरेको ड्रागन फ्रुट गाउँमै चाख्न पाइएकोमा खुशी व्यक्त गर्नुभयो । “कसरी फल्छ होला, स्वाद कस्तो होला भन्ने लाग्थ्यो”, उहाँले भन्नुभयो, “अहिले गाउँका अधिकांश मानिस हेर्न र चाख्न आउँदा सञ्चालकलाई बजारको अभाव भएन ।” राजनीतिमा लागेका युवाहरु कृषि उद्यममार्फत आयआर्जनतर्फ आकर्षित हुनु उदाहरणीय भएको उहाँको भनाइ छ ।

यो फल स्वाद र पोषक तत्वका दृष्टिले फलको राजा नै मानिन्छ । यसअघि ठूला होटल र घरानाको भान्सामा मात्र ड्रागन फु्रट पुग्थ्यो । अब ग्रामीण सर्वसाधारण यसको पारखी बनेका छन् । अरुभन्दा यो फल दामका हिसाबले महँगो छ । प्रतिकेजी रु ८०० मा फार्मबाटै बिक्री भइरहेको सञ्चालक ताम्लीले बताउनुभयो । विश्वव्यापी कोरोना महामारीका कारण अधिकांश युवा घरमै बसेर बेरोजगार बनेका बेला युवा नेता ताम्ली स्वरोजगारको नमूना बन्नुभएको छ । उहाँको पौरख देखेर अन्य युवाले कसैले कृषि र कसैले अन्य व्यवसायमा हात बढाउन थालेका छन् ।जोखिम मोलेर शुरु गरेको खेतीले वर्ष दिनमै आम्दानी दिन थालेपछि सञ्चालक ताम्लीमा हौसला बढेको छ । अब व्यावसायिकरूपमा खेती विस्तार गर्ने सोच बनाएको उहाँले बताउनुभयो । “नयाँ फल भएकाले यसको स्वाद चाख्न भन्दै स्थानीयवासीले नै सबै खरिद गरेर लैजान्छन्”, उहाँले भन्नुभयो, “टाढाबाट आउने व्यापारीलाई दिन नसकेर रित्तो हात फर्काउनुपरेको छ ।”

उहाँले खेती विस्तार गर्नका लागि थप १०० वटा पिलर बनाइसकेको र बिरुवाका लागि आफैँ नर्सरी राखेको बताउनुभयो । गत वर्ष उहाँको खेतीमा १५० वटा पिलर थिए । सिउँडीकै एउटा प्रजाति ड्रागन फु्रटको लहरा सिमेन्टको पिलरमा लहरिने र झुण्डिएर फल्ने गर्दछ । उहाँले ड्रागन फ्रुट खेतीका बारेमा प्राविधिक ज्ञान अहिले पनि युट्युब हेरेरै लिइरहेको बताउनुभयो । रोपेको एक वर्षमै फल फल्न थालेपछि परिवारमा खुशी छाएको ताम्ली बताउनुहुन्छ । “यति छिटो फल दिन्छ जस्तो लागेको थिएन । रोपेको एक वर्षमै फल्यो,” उहाँले खुशी व्यक्त गर्दै भन्नुभयो ।

झापामा यसको खेतीप्रति पछिल्लो समय आकर्षण बढेको पाइएको छ । मेचीनगर–१० स्थित नागरडुब्बामा १५ कठ्ठा जग्गामा भावना अधिकारीले पाराडाइस एग्रो फार्म स्थापना गरेर ड्रागन फ्रुटको खेती शुरु गर्नुभएको छ । भारतको हैदराबादबाट हाइब्रिड जातको बिरुवा ल्याएर उहाँले खेती गर्नुभएको हो । ड्रागन फ्रुटका लागि सिमेन्टको पिलर बनाउँदा र बिरुवा लगाउँदासम्म रु ३० लाख खर्च भइसकेको अधिकारीले बताउनुभयो । उन्नत जातको ड्रागन फ्रुटको बिरुवा लगाएको आठ महिनादेखि फल लाग्न शुरु हुन्छ । जेठ महिनादेखि फल लाग्न शुरु हुने र कात्तिकसम्म फल्ने गर्छ । उहाँले आगामी वर्षदेखि फार्ममा ड्रागन फु्रट फल्ने बताउनुभयो । सो फार्ममा १० जनाले रोजगारी पाइरहेका छन् ।

झापाको अर्जुनधारा, मेचीनगर, बिर्तामोड, गौरादह र बुद्धशान्तिका विभिन्न भागमा ड्रागन फ्रुटको व्यावसायिक खेती शुरु भएको छ । काठमाडौँको गोल्यान एग्रोले झापा–७ मा व्यावसायिकरूपमा अढाई बिघा जमीनमा ड्रागन फ्रुटकोखेती गत वर्षदेखि शुरु गरेको छ । मेचीनगर–९ खुट्टिडाँगीका डिल्ली उप्रेती र अर्जुनधारा–९ का दीनानाथ शिवाकोटीले ड्रागन फ्रुटको नर्सरी शुरु गर्नुभएको छ । डिएन्डडी बायो प्लानटेक फार्म सञ्चालन गरिरहनुभएका उप्रेतीले गत वर्षदेखि ड्रागन फु्रटको ४० हजार बिरुवा उत्पादन गरिसकेको बताउनुभयो । इलाम, मोरङ, खोटाङलगायत जिल्लाबाट बिरुवा किन्न किसान आउने गरेको उहाँले बताउनुभयो ।

त्यसैगरी अर्जुनधाराका शिवाकोटीको नर्सरीमा हाल तीन हजार ५०० बिरुवा छन् । “गत वर्ष भारतको कोलकाताबाट बिरुवा ल्याएर यसको नर्सरी शुरु गरेको थिएँ”, उहाँले भन्नुभयो, “अहिले एउटै किसानले दुई हजारदेखि तीन हजारसम्म बिरुवा अर्डर गर्नुहुन्छ । माग धान्नै गाह्रो भयो ।” उहाँकै नर्सरीबाट बिरुवा ल्याएर बिर्तामोड–९ गरामनीका मोहन उप्रेती र जेपी पाण्डेले ड्रागन फ्रुटको व्यावसायिक खेती शुरु गर्नुभएको छ ।

सिउँडी प्रजातिको यो फल रोपिएको एक वर्षदेखि निरन्तर २५ वर्षसम्म फलिरहने कृषि ज्ञान केन्द्रका प्राविधिक शालिकराम भट्टराईले बताउनुभयो । उहाँले जिल्लाका विभिन्न स्थानमा घरको कौसीदेखि व्यावसायिकरूपमा यसको खेती गर्नेको सङ्ख्या बढिरहे पनि यकिन तथ्याङ्क भने नभएको बताउनुभयो । ड्रागन फ्रुट उष्ण मनसुनी हावापानी भएको माटोमा फस्टाउने र अन्य बालीको तुलनामा खेती गर्न पनि सजिलो हुने उहाँको भनाइ छ । एउटा सिमेन्टको पिलरमा चार वटा बिरुवा रोपिने हुँदा प्रत्येक वर्ष २० देखि ३० केजीसम्म फल दिनसक्ने उहाँले बताउनुभयो ।