दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) को १३औँ संस्करणमा नेपालले पहिलो खेल आयोजक माल्दिभ्ससँग खेल्ने भएको छ । नेपाल र माल्दिभ्सबीचको खेल आगामी असोज १५ गते माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा हुनेछ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ)ले आज साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको हो । नेपालले लिग चरणअन्तर्गत दोस्रो खेल असोज १७ गते श्रीलङ्कासित, असोज २२ गते तेस्रो खेल भारतसँग तथा चौथो खेल बङ्गलादेशसित असोज २४ गते खेल्ने तय भएको छ ।
पाँच राष्ट्र सहभागी साफ च्याम्पियनसिप असोज १५ देखि २७ गतेसम्म सञ्चालन हुनेछ । शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली फुटबल टोली हाल कास्कीको पोखरामा रहेको छ । उक्त टोलीलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण दिइरहनुभएको छ । बन्द प्रशिक्षणमा २८ खेलाडी रहनुभएको छ । साफ च्याम्पियनसिपअघि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । नेपालले काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यही भदौ १७ र २० गते भारतसित मैत्रीपूर्ण खेल खेल्ने एन्फाले जनाएको छ ।
बन्द प्रशिक्षणमा किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, अर्पण कार्की, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा, अभिषेक रिजाल र शिशिर लेखी रहनुभएको छ ।
यो पनि – झापामा ‘ड्रागन फ्रुट’ खेतीको लहर
झापा, २ भदौ (रासस) : गत वर्ष कोरोना महामारीले बन्दाबन्दी शुरु भएको बेला झापाली युवा नेता मनोज ताम्ली ड्रागन फ्रुटको बिरुवा रोप्दै हुनुहुन्थ्यो । सरकारी जागिरबाट निवृत्त आफ्ना बुवा रमेश ताम्लीले प्रोत्साहित गरेपछि उहाँले ड्रागन फ्रुटको खेतीबारे युट्युबबाटै खेती र प्रविधिको प्रशस्त जानकारी लिनुभयो । बन्दाबन्दीमा हात बाँधेर बस्नुभन्दा नयाँ पौरख गरौँ भन्ने हुटहुटीले उहाँ त्यसको खेती गर्ने आफ्नो गाउँको पहिलो किसान हुनुभयो । अहिले एक वर्षपछि उहाँको त्यही नौलो खेती आयआर्जनको माध्यमसँगै स्थानीय पर्यटकीय आकर्षणको थलो बन्न पुगेको छ ।
विद्यार्थी नेता ताम्ली अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य हुनुहुन्छ । उहाँले झापा गाउँपालिका–६ मा सञ्चालित समृद्धि एकीकृत कृषि तथा पशुपक्षी फार्ममा दुई कठ्ठा जग्गामा ड्रागन फ्रुटको खेती गर्नुभएको छ । दक्षिण झापाको दुर्गम गाउँमा गरिएको यो खेती स्थानीयका लागि अनौठो बनेको हुँदा हेर्ने र फल चाख्नेको दिनहुँ घुइँचो हुने गरेको छ । सञ्चालक ताम्लीका अनुसार एकैचोटी भीड प्रवेश नगरोस् भनेर घुम्न र हेर्न आउनेलाई पालो मिलाइने गरिएको छ ।“बन्दाबन्दीको बेला खेती शुरु गरिहालियो, के कसो होला भन्ने मनमा डर थियो”, उहाँले भन्नुभयो, “अहिले फल पाक्न थालेपछि किनेर चाख्ने र हेर्ने मानिसको घुइँचो देख्दा आनन्द लाग्छ । अलि धेरै जग्गामा खेती गरेको भए पनि हुनेरहेछ जस्तो लाग्छ ।” पाकेका सबै फल स्थानीयवासीले नै किनेर लगिरहेका छन् । बजार खोज्न कतै जानु नपरेको उहाँले बताउनुभयो ।
आफ्नै जग्गा भएकाले उहाँलाई खेतीका लागि धेरै लगानी चाहिएन । मात्र रु पाँच लाखमा खेती शुरु गरेको बताउने उहाँले यसवर्ष थप दुई कठ्ठामा खेती विस्तार गरिसकेको जानकारी दिनुभयो । खेतीमा उहाँ आफैँ र परिवारका सदस्य खटिने गर्नुभएको छ । कामदार पनि बाहिरबाट राख्नुपरेको छैन ।स्थानीय पत्रकार केशव चापागाईंले युट्युब र टेलिभिजनमा मात्र देख्ने गरेको ड्रागन फ्रुट गाउँमै चाख्न पाइएकोमा खुशी व्यक्त गर्नुभयो । “कसरी फल्छ होला, स्वाद कस्तो होला भन्ने लाग्थ्यो”, उहाँले भन्नुभयो, “अहिले गाउँका अधिकांश मानिस हेर्न र चाख्न आउँदा सञ्चालकलाई बजारको अभाव भएन ।” राजनीतिमा लागेका युवाहरु कृषि उद्यममार्फत आयआर्जनतर्फ आकर्षित हुनु उदाहरणीय भएको उहाँको भनाइ छ ।
यो फल स्वाद र पोषक तत्वका दृष्टिले फलको राजा नै मानिन्छ । यसअघि ठूला होटल र घरानाको भान्सामा मात्र ड्रागन फु्रट पुग्थ्यो । अब ग्रामीण सर्वसाधारण यसको पारखी बनेका छन् । अरुभन्दा यो फल दामका हिसाबले महँगो छ । प्रतिकेजी रु ८०० मा फार्मबाटै बिक्री भइरहेको सञ्चालक ताम्लीले बताउनुभयो । विश्वव्यापी कोरोना महामारीका कारण अधिकांश युवा घरमै बसेर बेरोजगार बनेका बेला युवा नेता ताम्ली स्वरोजगारको नमूना बन्नुभएको छ । उहाँको पौरख देखेर अन्य युवाले कसैले कृषि र कसैले अन्य व्यवसायमा हात बढाउन थालेका छन् ।जोखिम मोलेर शुरु गरेको खेतीले वर्ष दिनमै आम्दानी दिन थालेपछि सञ्चालक ताम्लीमा हौसला बढेको छ । अब व्यावसायिकरूपमा खेती विस्तार गर्ने सोच बनाएको उहाँले बताउनुभयो । “नयाँ फल भएकाले यसको स्वाद चाख्न भन्दै स्थानीयवासीले नै सबै खरिद गरेर लैजान्छन्”, उहाँले भन्नुभयो, “टाढाबाट आउने व्यापारीलाई दिन नसकेर रित्तो हात फर्काउनुपरेको छ ।”
उहाँले खेती विस्तार गर्नका लागि थप १०० वटा पिलर बनाइसकेको र बिरुवाका लागि आफैँ नर्सरी राखेको बताउनुभयो । गत वर्ष उहाँको खेतीमा १५० वटा पिलर थिए । सिउँडीकै एउटा प्रजाति ड्रागन फु्रटको लहरा सिमेन्टको पिलरमा लहरिने र झुण्डिएर फल्ने गर्दछ । उहाँले ड्रागन फ्रुट खेतीका बारेमा प्राविधिक ज्ञान अहिले पनि युट्युब हेरेरै लिइरहेको बताउनुभयो । रोपेको एक वर्षमै फल फल्न थालेपछि परिवारमा खुशी छाएको ताम्ली बताउनुहुन्छ । “यति छिटो फल दिन्छ जस्तो लागेको थिएन । रोपेको एक वर्षमै फल्यो,” उहाँले खुशी व्यक्त गर्दै भन्नुभयो ।
झापामा यसको खेतीप्रति पछिल्लो समय आकर्षण बढेको पाइएको छ । मेचीनगर–१० स्थित नागरडुब्बामा १५ कठ्ठा जग्गामा भावना अधिकारीले पाराडाइस एग्रो फार्म स्थापना गरेर ड्रागन फ्रुटको खेती शुरु गर्नुभएको छ । भारतको हैदराबादबाट हाइब्रिड जातको बिरुवा ल्याएर उहाँले खेती गर्नुभएको हो । ड्रागन फ्रुटका लागि सिमेन्टको पिलर बनाउँदा र बिरुवा लगाउँदासम्म रु ३० लाख खर्च भइसकेको अधिकारीले बताउनुभयो । उन्नत जातको ड्रागन फ्रुटको बिरुवा लगाएको आठ महिनादेखि फल लाग्न शुरु हुन्छ । जेठ महिनादेखि फल लाग्न शुरु हुने र कात्तिकसम्म फल्ने गर्छ । उहाँले आगामी वर्षदेखि फार्ममा ड्रागन फु्रट फल्ने बताउनुभयो । सो फार्ममा १० जनाले रोजगारी पाइरहेका छन् ।
झापाको अर्जुनधारा, मेचीनगर, बिर्तामोड, गौरादह र बुद्धशान्तिका विभिन्न भागमा ड्रागन फ्रुटको व्यावसायिक खेती शुरु भएको छ । काठमाडौँको गोल्यान एग्रोले झापा–७ मा व्यावसायिकरूपमा अढाई बिघा जमीनमा ड्रागन फ्रुटकोखेती गत वर्षदेखि शुरु गरेको छ । मेचीनगर–९ खुट्टिडाँगीका डिल्ली उप्रेती र अर्जुनधारा–९ का दीनानाथ शिवाकोटीले ड्रागन फ्रुटको नर्सरी शुरु गर्नुभएको छ । डिएन्डडी बायो प्लानटेक फार्म सञ्चालन गरिरहनुभएका उप्रेतीले गत वर्षदेखि ड्रागन फु्रटको ४० हजार बिरुवा उत्पादन गरिसकेको बताउनुभयो । इलाम, मोरङ, खोटाङलगायत जिल्लाबाट बिरुवा किन्न किसान आउने गरेको उहाँले बताउनुभयो ।
त्यसैगरी अर्जुनधाराका शिवाकोटीको नर्सरीमा हाल तीन हजार ५०० बिरुवा छन् । “गत वर्ष भारतको कोलकाताबाट बिरुवा ल्याएर यसको नर्सरी शुरु गरेको थिएँ”, उहाँले भन्नुभयो, “अहिले एउटै किसानले दुई हजारदेखि तीन हजारसम्म बिरुवा अर्डर गर्नुहुन्छ । माग धान्नै गाह्रो भयो ।” उहाँकै नर्सरीबाट बिरुवा ल्याएर बिर्तामोड–९ गरामनीका मोहन उप्रेती र जेपी पाण्डेले ड्रागन फ्रुटको व्यावसायिक खेती शुरु गर्नुभएको छ ।
सिउँडी प्रजातिको यो फल रोपिएको एक वर्षदेखि निरन्तर २५ वर्षसम्म फलिरहने कृषि ज्ञान केन्द्रका प्राविधिक शालिकराम भट्टराईले बताउनुभयो । उहाँले जिल्लाका विभिन्न स्थानमा घरको कौसीदेखि व्यावसायिकरूपमा यसको खेती गर्नेको सङ्ख्या बढिरहे पनि यकिन तथ्याङ्क भने नभएको बताउनुभयो । ड्रागन फ्रुट उष्ण मनसुनी हावापानी भएको माटोमा फस्टाउने र अन्य बालीको तुलनामा खेती गर्न पनि सजिलो हुने उहाँको भनाइ छ । एउटा सिमेन्टको पिलरमा चार वटा बिरुवा रोपिने हुँदा प्रत्येक वर्ष २० देखि ३० केजीसम्म फल दिनसक्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया