कञ्चनपुरमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । केही सातायता यहाँका अस्पताल र स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने क्रम बढेको छ । यहाँस्थित महाकाली प्रादेशिक अस्पतालमा दैनिक १०० भन्दा बढी भाइरल ज्वरोका बिरामीको उपचारका लागि आउने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । “भाइरल ज्वरो बढे पनि कोरोना भने होइन”, डा श्रेष्ठले भन्नुभयो, “कोरोना सङ्क्रमित पाँच जनाको उपचार हँुदैछ ।”
त्यसैगरी महाकाली अस्पतालमा अक्सिजन हरेक वार्डमा पाइपलाइनबाट पु¥याउने गरी काम भइरहेको छ । ‘युएनओपियस’ नामक संस्थाको सहयोगमा यहाँ अक्सिजन प्लान्ट जडान गरिने अस्पतालले जनाएको छ । “उक्त संस्थाले प्लान्टको ८० प्रतिशत उपकरण मगाइसकेको खबर आएको छ”, उहाँले भन्नुभयो, “अहिले अस्पतालमा पाइपलाइन विस्तारको काम भइरहेको छ ।”
अस्पतालमा सङ्क्रमित भएर उपचारका लागि आउने र निको भएर घर फर्किने क्रम सामान्यरुपमा चलिरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका ग्रामीण भेगका स्वास्थ्य संस्थामा पनि भाइरल ज्वरोका बिरामी आउने क्रम बढेको छ । स्वास्थ्य कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीबाट बिरामीको तथ्याङ्क जिल्लामा आउन बाँकी रहेको जनाएको छ ।
यो पनि – स्वास्थ्य एकाइ एक महिनादेखि बन्द
हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–१ जैरमा कर्णाली प्रदेश सरकारको मातहतमा रहेको सामुदायिक स्वास्थ्य एकाइ एक महिनादेखि बन्द रहेको छ ।वडा नं १ छिडी नात्तामा रहेको उक्त सामुदायिक स्वास्थ्य एकाइ एक महिनादेखि बन्द हुँदा यहाँका नागरिक स्वास्थ्य सेवा पाउनबाट वञ्चित छन् । स्वास्थ्यकर्मी नहुँदा उक्त स्वास्थ्य संस्था बन्द हुँदा सेवाग्राहीले घण्टौँ पैदल हिँडेर स्वास्थ्य उपचारका लागि अन्यत्र उपचार गर्न जानुपरेको स्थानीयवासीको गुनासो छ ।
विसं २०७६ देखि स्वास्थ्य एकाइ सञ्चालनमा आएको थियो । यसअघि एकाइमा एक–एक अहेव, अनमी र कार्यालय सहयोगी गरी तीन जनाको दरबन्दी छ । गाउँमा रुघाखोकीका बिरामीको सङ्ख्या बढिरहेको छ । स्वास्थ्यकर्मी नहुँदा थप स्थानीयवासी समस्यामा परेका छन् । एकाइमा दैनिक १०–१२ सम्म बिरामी उपचारमा आउने गर्छन् ।
प्रतिक्रिया