पहिरोले चार जनाको निधन

पहिरोले चार जनाको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गएरातिको अविरल वर्षाका कारण पहिराले घर पुरिँदा एकै परिवारका चार जनाको निधन भएको छ । निधन हुनेमा रसुवा जिल्ला नौकुण्ड गाउँपालिका– ५ कोलडाँडा निवासी ३२ वर्षीया कमला गलान, ११ वर्षीया सोफीका गलान, आठ वर्षीया सुकमाया गलान र सात वर्षीय आशीष गलान रहेको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताउनुभयो ।

राति करिब ३ बजे घरभन्दा ५० मिटरमाथिबाट पहिरोसँगै झरेको लेदोले घर पुरिँदा सुतिरहेका अवस्थामा चारै जनाको घटनास्थलमै निधन भएको थियो ।
सो घटनामा परी गम्भीर घाइते भएका घरमूली श्यामबहादुर गलानलाई उपचारार्थ काठमाडौँस्थित ट्रमा सेन्टर पु¥याइएको प्रहरीले जनाएको छ । घरभित्र सुतेका श्रीमती, छोरा, छोरी सबै पुरिएको र बाहिर सुतेका श्याम गलान घाइते अवस्थामा भेटिएका थिए । उनको छाती तथा गर्धनमा गम्भीर चोट लागेको अचेत अवस्थामा उद्धार भएको र शारीरिक अवस्था गम्भीर रहेको बताइएको छ ।

घटनास्थल सदरमुकाम धुञ्चेबाट करिब ५० किलोमिटर दक्षिणमा रहेको छ । शव परीक्षणका लागि नुवाकोटस्थित त्रिशूली अस्पताल पठाइएको छ । आज बिहानैदेखि स्थानीय बासिन्दा, नेपाल प्रहरी, नेपाली सेना विष्णु दलगण र सशस्त्र प्रहरीसमेतको खोज उद्धार टोलीको अथक मेहनतबाट अपराह्न चारै जनाको शव फेला परेको थियो ।
गत हिउँदमा गलानको घरमाथि सडक निर्माण भएको र वर्षासँगै सोही सडकमा बगेको भलपानीको असरले पहिरो जाँदा एकै घरका परिवारले ज्यान गुमाउनुपरेको स्थानीय बासिन्दाको भनाइ छ । थप अनुसन्धान प्रहरीले गरिरहेको छ ।

यो पनि -पहिरोले घर पुरिदा चार बेपत्ता

घरमाथिबाट आएको पहिराका कारण दक्षिणी रसुवाको कोलडाँडा भन्ने स्थानमा एक घर पुरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डेका अनुसार भारी वर्षासँगैको पहिराले नौकुण्ड गाउँपालिका–५ कोलडाँडा भन्ने स्थानमा गए राति श्यामबहादुर गलानको घर पुरिँदा चार जना बेपत्ता भएका छन् ।

गलान भने घाइते अवस्थामा भेट्टिएकाले उपचारार्थ नुवाकोटको त्रिशूली अस्पताल पठाइएको छ । सदरमुकाम धुञ्चेबाट करिब ५० किलोमिटर दक्षिण दूरी पर ठूलोभोर्ले र धुसेनी गाउँको बिच भागमा उक्त घटना भएको हो । बेपत्ता रहेकाको खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल घटनास्थलमा पठाइसकिएको तथा घटनाको विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताउनुभयो ।

यो पनि – पहिरामा परेर मृत्यु

नुवाकोटको बेलकोटगढी नगरपालिका–५ लामाचउरमा पहिरो जाँदा आज बिहान एक व्यक्तिको निधन भएको छ । घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बिहान २ः३० बजेको समयमा घरको करेसामा पहिरो पन्छाउने क्रममा थप खसेको र त्यसमा पुरिएर ज्यान गुमाएका लामिछानेको शव परीक्षणका लागि त्रिशूली अस्पतालमा ल्याउन लागिएको छ । पहिराले घरसमेत जोखिममा परेको बताइएको छ ।