झापामा सवा लाख व्यक्ति दोस्रो मात्राको खोपको पर्खाइमा

झापामा सवा लाख व्यक्ति दोस्रो मात्राको खोपको पर्खाइमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोभिड–१९ विरुद्धको पहिलो मात्रा लगाएका झापाका एक लाख १७ हजार ५९० व्यक्ति दोस्रो मात्राको पर्खाइमा छन् । सरकारले भारतबाट प्राप्त कोभिशिल्ड, चीनबाट प्राप्त भेरोसेल र अमेरिकाबाट प्राप्त जोनशन खोप लगाउँदै आएको छ । जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चुडामणि लुइँटेलका अनुसार जिल्लामा हालसम्म एक लाख ८८ हजार ७४१ व्यक्तिले कोभिडविरुद्धका विभिन्न खोप लगाइसकेका छन् । सबैभन्दा बढी मात्रामा चीनबाट आएको भेरोसेल खोप लगाइएको छ । उहाँले ७७ हजार ४३७ ले भेरोसेल खोप लगाएको जानकारी दिनुभयो । त्यसमध्ये दुई मात्रा (पूर्ण खोप) लगाउने १३ हजार २१६ र एक मात्रा मात्र लगाउने ६४ हजार २२१ छन् ।

जिल्लामा ६२ हजार ११९ ले भारतबाट प्राप्त कोभिशिल्ड र ४९ हजार २८५ व्यक्तिले अमेरिकाबाट प्राप्त जोनशन खोप लगाएको छ । जोनशन खोप एक मात्रा लगाउँदा पूर्ण हुन्छ भने कोभिशिल्ड र भेरोसेल दुई मात्रा लगाउनैपर्ने हुन्छ । कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका ५३ हजार ३७६ ज्येष्ठ नागरिक दोस्रो मात्राको पर्खाइमा छन् । आठ हजार ७४३ जना फ्रन्टलाइनरले मात्र कोभिशिल्डको दुवै मात्रा लगाउन पाएका छन् ।जापानबाट आएको अस्ट्राजेनिका खोप कोभिशिल्डसँग मिल्दो छ । कोभिशिल्डको एक डोज लगाएर दोस्रो डोजको पखाईमा बसेका ज्येष्ठ नागरिकलाई अस्ट्राजेनिका खोप लगाउने तयारी भइरहेको छ । त्यसका लागि जिल्लामा २४३ खोप केन्द्र सञ्चालन गरिएको लुइँटेलले बताउनुभयो ।

छानबिन प्रतिवेदन यसै साता आउने

बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाका फोकलपर्सन ओमबहादुर खड्कालाई २०० मात्रा भेरोसेल खोपसहित होटलमा भेटिएको विषयमा भइरहेको छानबिनको प्रतिवेदन यसै साता आउने भएको छ । जिल्ला खोप व्यवस्थापन समितिले सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा गत साउन १६ गते छानबिन समिति गठन गरेको थियो ।

यो पनि – अफगानिस्तानमा रहेकालाई सम्पर्कमा आउन आग्रह

जिल्ला प्रशासन कार्यालय सुर्खेतले अफगानिस्तानमा रहेका नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । प्रशासनले कामको सिलसिलामा अफगानिस्तान पुगेका जिल्लाका नागरिकलाई एक हप्ताभित्र सम्पर्कमा आउन अनुरोध गरेको हो । नेपाली नागरिकको सुरक्षित उद्धार गर्ने नेपाल सरकारको निर्णयानुसार सुर्खेत घर भई अफगानिस्तान पुुगेका नागरिकलाई नेपाल फिर्ता हुन चाहेमा परिवारमार्फत छिट्टै सम्पर्क गर्न सूचना जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो ।

“सुर्खेतबाट औपचारिक तथा अनौपचारिक माध्यमबाट अफगानिस्तान गएका व्यक्तिको उद्धारका लागि हामीले विवरण सङ्कलन कार्य सुरु गरेका छौँ”, सहायक प्रजिअ महतले भन्नुभयोे, “यसका लागि अफगानिस्तानमा रहेका व्यक्तिका परिवारले प्रशासनमा आएर विस्तृत विवरण उपलब्ध गराउनुपर्नेछ ।” उहाँका अनुसार अफगानिस्तानमा रहेका व्यक्तिका परिवारले यही भदौ १० गतेसम्म विस्तृत विवरण टिपाउन भनेर सूचना प्रकाशन गरिएको छ ।