होसियार ! कैदीबन्दीलाई सताउन थाल्यो छाला रोगले

होसियार ! कैदीबन्दीलाई सताउन थाल्यो छाला रोगले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, ४ भदौ । कञ्चनपुर कारागारका कैदीबन्दीलाई छालासम्बन्धी रोगले सताउन थालेको छ । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा अधिकांशमा दाद र लुतो लगायतको रोग देखा परेको हो । त्यस्ता रोगी कैदीबन्दीको सङ्ख्या १५० बढी रहेको जेलर मायाकुमारी थापा बस्नेतले जानकारीदिनुभयो । क्षमताभन्दा बढी कैदीबन्दीलाई राखिँदा व्यक्तिगत सरसफाइ गर्न नपाउँदा रोग फैलिएको हुनसक्ने उहाँले बताउनुभयो ।

“खानेपानी थाप्न, नुहाउन र शौचालय जानका लागि कैदीबन्दीले लाइनमा बस्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “सहजरुपमा कैदीबन्दीले व्यक्तिगत सरसफाइ गर्न पाउदैनन् । साबनु र ओढ्ने बिछ्याउने कपडासमेत साटासाट हुन्छ । सबै जनालाई एकै ठाउँमा राखिँदा छालासम्बन्धी रोगको सङ्क्रमण बढेको छ ।” कैदीबन्दीको सङ्ख्या उच्च हुँदा कारागारमा खुट्टा राख्ने ठाउँसमेत छैन । सुत्ने ठाउँका अभावमा धेरैले पालो पर्खनुपर्ने अवस्था छ । एकै ठाउँमा धेरै जना कैदीबन्दी सुत्ने भएकाले एकबाट अर्को गर्दै धेरै जनामा छालसम्बन्धी रोग सरेको उनीहरुको भनाइ छ ।

कारागार शाखामा एक स्वास्थ्यकर्मीसमेत कार्यरत छन् । प्राथमिक उपचार गर्ने व्यवस्था मात्रै कारागारमा छ । धेरैमा छालासम्बन्धी रोग देखिएपछि कैदीबन्दीले कारागारमै स्वास्थ्य शिविरको आयोजना गरी उपचारको व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । कारागारमा ७५ पुरुष र २० महिलालाई राख्ने क्षमता छ । हाल कारागारमा ४०६ पुरुष र २५ महिलालाई राखिएको छ । रासस

यो पनि –सवा लाख व्यक्ति दोस्रो मात्राको खोपको पर्खाइमा

झापा, ४ भदौ । कोभिड–१९ विरुद्धको पहिलो मात्रा लगाएका झापाका एक लाख १७ हजार ५९० व्यक्ति दोस्रो मात्राको पर्खाइमा छन् । सरकारले भारतबाट प्राप्त कोभिशिल्ड, चीनबाट प्राप्त भेरोसेल र अमेरिकाबाट प्राप्त जोनशन खोप लगाउँदै आएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चुडामणि लुइँटेलका अनुसार जिल्लामा हालसम्म एक लाख ८८ हजार ७४१ व्यक्तिले कोभिडविरुद्धका विभिन्न खोप लगाइसकेका छन् । सबैभन्दा बढी मात्रामा चीनबाट आएको भेरोसेल खोप लगाइएको छ । उहाँले ७७ हजार ४३७ ले भेरोसेल खोप लगाएको जानकारी दिनुभयो । त्यसमध्ये दुई मात्रा (पूर्ण खोप) लगाउने १३ हजार २१६ र एक मात्रा मात्र लगाउने ६४ हजार २२१ छन् ।

जिल्लामा ६२ हजार ११९ ले भारतबाट प्राप्त कोभिशिल्ड र ४९ हजार २८५ व्यक्तिले अमेरिकाबाट प्राप्त जोनशन खोप लगाएको छ । जोनशन खोप एक मात्रा लगाउँदा पूर्ण हुन्छ भने कोभिशिल्ड र भेरोसेल दुई मात्रा लगाउनैपर्ने हुन्छ । कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका ५३ हजार ३७६ ज्येष्ठ नागरिक दोस्रो मात्राको पर्खाइमा छन् । आठ हजार ७४३ जना फ्रन्टलाइनरले मात्र कोभिशिल्डको दुवै मात्रा लगाउन पाएका छन् ।

जापानबाट आएको अस्ट्राजेनिका खोप कोभिशिल्डसँग मिल्दो छ । कोभिशिल्डको एक डोज लगाएर दोस्रो डोजको पखाईमा बसेका ज्येष्ठ नागरिकलाई अस्ट्राजेनिका खोप लगाउने तयारी भइरहेको छ । त्यसका लागि जिल्लामा २४३ खोप केन्द्र सञ्चालन गरिएको लुइँटेलले बताउनुभयो ।

छानबिन प्रतिवेदन यसै साता आउने

बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाका फोकलपर्सन ओमबहादुर खड्कालाई २०० मात्रा भेरोसेल खोपसहित होटलमा भेटिएको विषयमा भइरहेको छानबिनको प्रतिवेदन यसै साता आउने भएको छ । जिल्ला खोप व्यवस्थापन समितिले सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा गत साउन १६ गते छानबिन समिति गठन गरेको थियो । रासस