काठमाडौँ, ४ भदौ (रासस) : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शहीद स्मारक सी डिभिजन लिग फुटबलको छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । एन्फाले आज सातदोबाटोमा कार्यक्रम आयोजना गरी खेल तालिका सार्वजनिक गरेको हो ।
यही भदौ १० गतेदेखि काठमाडौँ उपत्यकामा सुरु हुने छनोट प्रतियोगिताको उद्घाटन खेलमा समूह ए का सताक्षीधाम युवा क्लब र च्याम्पियन ब्वाइज फुटबल क्लब भिड्ने छन् । त्यही दिन अर्को खेल एफसीएस एस र गोदावरी युनाइटेडबीच हुनेछ । सी डिभिजन लिगमा देशभरबाट ७८ क्लबको सहभागिता रहने एन्फाले जनाएको छ । उक्त लिग आगामी कात्तिक ८ गतेसम्म चल्ने छ । एन्फाले सहभागी ७८ क्लबलाई २६ समूहमा विभाजन गरेको छ । प्रत्येक समूहमा तीन वटा क्लबलाई समावेश गरिएको छ । प्रत्येक क्लबले समूह चरणमा दुई खेल खेल्ने छन् ।
समूहको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछ । दोस्रो चरण र नक आउट चरणलाई तीन समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता क्लब सी डिभिजन लिगमा छनोट हुनेछन् । एन्फा लिग संयोजक विज्ञानराज शर्माले छनोटमा क्लबको सहभागिता उल्लेख्य रहेको बताउनुभयो । उहाँले अर्को वर्षदेखि पायक पर्ने प्रदेशमा नै छनोट खेल खेलाउने जानकारी दिनुभयो । छनोट प्रतियोगितामा बागमती प्रदेशका ६१, प्रदेश १ का सात र अन्य पाँच प्रदेशका दुई÷दुई क्लब रहेका छन् ।
यो पनि – श्रीलङ्का टापुमा सप्तकोसी नदीले कटान गरेको विषयमा अध्ययन गर्न समिति गठन
इनरुवा, ४ भदौ (रासस) : जिल्ला प्रशासन कार्यालय सुनसरीले केही दिन अगाडि सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित श्रीलङ्का टापुमा गरेको कटानको विषयमा यथार्थ बुझ्नका लागि समिति गठन गरेको छ । सुनसरी मोरङ सिँचाइ आयोजना प्रमुखको अध्यक्षतामा चार सदस्यीय समिति गठन गरिएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । समितिमा जलस्रोत डिभिजन कार्यालय इनरुवा, भूआर्जन कार्यालयका पदाधिकारी सदस्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।
समितिले सम्बन्धित नगरपालिकासँगको समन्वयमा स्थलगत अध्ययन गरेर छिटोभन्दा छिटो प्रतिवेदन तयार गरी जिल्ला प्रशासन कार्यालय सुनसरीमा बुझाउने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । केही दिन अगाडि मात्र सप्तकोसी नदीमा आएको बाढीले सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ को श्रीलङ्का टापुमा तीव्र कटान गरेको थियो । नगरपालिकाको समन्वयमा समितिले अध्ययन गरी क्षतिपूर्ति र नियन्त्रणका लागि प्रक्रिया अघि बढाउने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । भारतले पश्चिमतर्फ तटबन्ध निर्माण नगर्दा यस क्षेत्रमा बाढीले बर्सेनि हजारौँ बिघा जमिन कटान गरेको स्थानीयवासीले बताएका छन् ।
प्रतिक्रिया