माओवादी स्थायी समिति : कार्यविभाजन र राष्ट्रिय सम्मेलनको तयारीमा केन्द्रित

माओवादी स्थायी समिति : कार्यविभाजन र राष्ट्रिय सम्मेलनको तयारीमा केन्द्रित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ भदौ (रासस) : नेकपा(माओवादी केन्द्र) ले पार्टी नेताहरूको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायतका विषयमा छलफल गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले पार्टीको वडा तहसम्मको सङ्गठन विस्तार गर्दै चुस्त दुरुस्त सङ्गठन बनाउने र त्यसका लागि कुन नेतालाई के ककस्तो जिम्मेवारी दिने विषयमा छलफल गरेको हो । हालै सम्पन्न केन्द्रीय समितिको बैठकको दिशा निर्देशअनुसार पार्टीलाई व्यवस्थित रूपमा अगाडि बढाउने गरी छलफल केन्द्रित गरिएको माओवादीले जनाएको छ ।

माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलनको आयोजना गर्ने घोषणा गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार राष्ट्रिय सम्मेलनको तयारी तथा अन्य साङ्गठनिक विषयमा आजको बैठक केन्द्रित थियो । केन्द्रीय समितिको निर्णयअनुसार पार्टीका केन्द्रीय, प्रदेश र स्थानीय तहमा रहेको रिक्त पदमा परिपूर्ति गर्ने वा नगर्ने सन्दर्भमा विचार विमर्श भएको बताइएको छ । बैठक आइतबार पुनः बस्नेछ । केन्द्रीय समितिमा प्रस्ताव गरिएको अन्तरिम विधान अनुसार पार्टीका सबै संरचनामा ३५ प्रतिशत महिलाको प्रतिनिधित्व गराइनेछ । युवाको प्रतिनिधित्वलाई पनि सुनिश्चित गरिएको छ भने दलित समुदायलाई पनि विशेष सम्बोधन गरिएको छ ।

यो पनि – सरकारले जनताको अपेक्षाबमोजिम काम गर्छ : सहमहामन्त्री डा महत

काठमाडौँ, ५ भदौ (रासस) : नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेसको नेतृत्वको वर्तमान सरकारले जनताको अपेक्षाबमोजिम काम गर्ने बताउनुभएको छ । ज्येष्ठ कांग्रेस सङ्घद्वारा आज यहाँ आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उहाँले भन्नुभयो, “यो अरु कसैले भन्ने गरेजस्तो परमादेशबाट नभएर जनमतबाट निर्मित सरकार हो, जनताले चाहेको सरकार भएकाले जनअपेक्षाबमोजिम नै काम गर्नेछ ।”

सहमहामन्त्री डा महतले अघिल्लो कम्युनिष्ट सरकारले बाटो नबिराएरको भए, चुनावका बेलामा जनतासँग गरेका वाचाअनुसार काम गरेको भए तथा देशमा सुशासन र कानुनीराजको सुनिश्चितता गरेको भए अहिले नै कांग्रेस सत्तामा आउने थिएन भन्नुभयो ।

देशमा भ्रष्टाचार र अनियमितता बढेको तथा नागरिक महामारीको मारमा परेका बेला पनि सत्ताका लागि कम्युनिष्ट पार्टीहरुबीच भएका लुछाचुँडीले जनतामा निराशा छाएर यो सरकारलाई विकल्पका रूपमा रोजेका उहाँको तर्क थियो । त्यसैले पनि यो सरकारले जनताको चाहनाबमोजिम काम गर्नुपर्ने भन्दै सीमित साधन र स्रोतका बाबजुद पनि यो सरकारले आगामी दिनका चुनौतीहरुलाई सामना गर्दै अघि बढ्ने र जनताका पक्षमा काम गर्ने बताउनुभयो ।

कुनै पनि राजनीतिक दलले आफू सत्तामा पुगेपछि अब कहिल्यै तल ओर्लिन पर्दैन भन्नेजस्ता अहंकार पाल्ने गरेकाले समय समयमा नेपालको राजनीतिमा दुर्घटना हुने गरेका दृष्टान्त पेश गर्दै यसअघिको सरकारमा पनि त्यस्तै अहंकार देखिएको र जसका कारण नेपाली नागरिकले कम्युनिष्ट सरकारलाई पाँच वर्षका लागि दिएको जनादेश तीन वर्षमै दुर्घटनामा परेको उहाँले बताउनुभयो ।

उहाँले ज्येष्ठ नागरिक देशका अनुभव र प्रेरणाका खानी भएकाले उहाँहरुको सुझाव र दिशानिर्देशानुसार काम गर्दा देशको विकास हुने र समाज पनि समृद्ध बन्ने बताउनुभयो । ज्येष्ठ नागरिकको सम्मान गर्ने र उहाँहरुले देखाएको सही बाटोको अनुशरण गर्ने समाज नै समृद्ध बन्ने उहाँले बताउनुभयो ।