होमस्टे सेवा प्रभावकारी बनाउन खोज्दै गाउँले

होमस्टे सेवा प्रभावकारी बनाउन खोज्दै गाउँले

26
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, ५ भदौ (रासस) : सप्तरीको पहिलो र प्रदेश नं २ को दोस्रो घरबास (होमस्टे) रहेको कञ्चनरूप नगरपालिकामा पर्यटन विकाससम्बन्धी आधारभूत तालिम आज सम्पन्न भएको छ । स्थानीयवासीलाई होमस्टे सञ्चालन र विभिन्न किसिमका परिकार बनाउन सहयोग पु¥याउने उद्देश्यले दिइएको चारदिने तालिम सम्पन्न भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तारागाउँ विकास समिति मध्यबानेश्वर काठमाडौँद्वारा दिइएको तालिममा ३५ जनाको सहभागिता रहेको थियो ।

होमस्टेका लागि अपनाउनुपर्ने मापदण्ड, पाहुनालाई स्वागत गर्ने तरिका, स्थानीय उत्पादित वस्तुका परिकार, अग्र्यानिक खाना, बासको व्यवस्था, नेपाली र थारू संस्कृति, आधुनिक परिकारका बारेमा तालिम प्रदान गरिएको प्रमुख प्रशिक्षक लीलाप्रसाद तिमिल्सिनाले बताउनुभयो । तालिममा टङ्कप्रसाद चापागाईँ, मनोज बस्नेत, रामप्रसाद कँडेलले छुट्टाछुट्टै विषयमा तालिम दिनुभयो ।

कञ्चनरूप नगरपालिका–६ जमुवामा पर्यटकका लागि आठवटा होमस्टे सञ्चालनमा छ । यहाँ आउनेहरूका लागि विसं २०७५ वैशाखदेखि खाना र बासको व्यवस्था रहेको छ । जैविक विविधतासँगै पारिवारिक वातावरणमा ग्रामीण जीवनशैलीको स्वाद चाख्न होमस्टे आउने पर्यटकलाई कसरी स्वागत तथा सत्कार गर्ने, उनीहरूलाई कस्ता परिकार खुवाउने र होमस्टेको सरसफाइ कसरी गर्नेलगायतका विषयवस्तुको तालिम पाएर होमस्टेले प्रदान गर्ने सेवा थप प्रभावकारी बन्ने पूर्वपिप्रा धरमपुर घोघनपुर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बच्चुलाल चौधरीले विश्वास व्यक्त गर्नुभयो ।

तालिम समापनका अवसरमा प्रमाणपत्र वितरण गर्नुहुँदै कञ्चनरूप नगरपालिका प्रमुख वसन्तकुमार मिश्रले पर्यटनको अभिन्न अङ्ग मानिने होमस्टेको माध्यमबाट प्राकृतिक र सांस्कृतिकरूपले सम्पन्न जमुवामा ढलानको सडक निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो । ग्रामीण क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्दै स्थानीय जनतालाई पर्यटन व्यवसायमा सहभागी गराई जीवनस्तरमा समेत ठुलो सुधार ल्याउन नगरपालिकाले बजेट विनियोजन गर्ने उहाँले बताउनुभयो ।

ग्रामीण पर्यटनमा रमाउने पर्यटकलाई सुलभ, सरल र सहज वातावरणमा स्थानीय परिकार, कला, संस्कृति पस्किँदै आफ्नो कला, संस्कृति, रीतिरिवाज र इतिहासका बारेमा नयाँ पुस्तालाई सिकाउनुपर्ने नगरप्रमुख मिश्रले बताउनुभयो ।

आत्मनिर्भर बनाई स्वदेशमै आयआर्जन गर्न र सक्षम बनाउन तालिमले ठूलो सहयोग पुगेको प्रशिक्षार्थीहरू महेन्द्र चौधरी र हीराकुमार बिसीले बताउनुभयो । उहाँहरूले तालिममा सिकेको सीप र ज्ञानलाई पालना र अभ्यास गर्दै होमस्टेलाई नमूना बनाउने दृढता व्यक्त गर्नुभयो ।

थारू सामुदायिक होमस्टे र थारू सङ्ग्राहलयको स्थापना, निर्माण र विकासमा योगदान पु¥याएको भन्दै कोशी टप्पु वन्यजन्तु आरक्षका तत्कालीन प्रमुख संरक्षण अधिकृत रामदेव चौधरी, डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोषकुमार झा, आइडिएस नेपालका टिमलिडर छोटेलाल चौधरी, जैविक विविधता संरक्षणविज्ञ नन्दलाल माझी र पत्रकार मनोहर पोखरेललाई कार्यक्रममा सम्मानित गरियो ।

होमस्टेका अध्यक्ष विष्णुदेव चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा सप्तरी जिल्लाभरि सर्वोत्कृष्ट नगरपालिका घोषित भएकामा नगरप्रमुख मिश्र र प्रमुख प्रशासकीय अधिकत नवराज खड्कालाई सम्मान गरिएको थियो । थारू सामुदायिक होमस्टे र पूर्वपिप्रा धरमपुर घोघनपुर मध्यवर्ती उपभोक्ता समितिले उहाँहरूलाई सम्मान प्रदान गरेको हो ।

स्थानीय थारू अगुवाहरुले समुदायको ऐतिहासिक रहनसहन, रीतिरिवाज, कला, संस्कृति र जनजीवनलाई जीवन्त राख्न तथा जमुवालाई पर्यटकीय केन्द्र बनाउने उद्देश्यले ०७५ वैशाखमा थारू सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका हुन् । सोही ठाउँमा २०७७ कात्तिकमा थारू सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण भएको छ ।

आफ्नो कला, संस्कृति, भाषा, वेषभूषा अमूल्य सम्पत्ति भएको र यसको संरक्षणमा आफैँ लाग्नुपर्छ भन्ने सोचले होमस्टेपछि थारू सांस्कृतिक सङ्ग्राहलय सञ्चालनको तयारी भइरहेको होमस्टेका अध्यक्ष विष्णुदेव चौधरीले बताउनुभयो ।

होमस्टे क्षेत्र नजिकै अर्ना, हात्ती, साइबेरियन चराहरू पाइने कोशीटप्पु वन्यजन्तु आरक्ष, चन्द्रशम्सेर राणाले बनाएको नेपालकै जेठो चन्द्र नहर, प्रसिद्ध धार्मिकस्थल चतरा र बराह क्षेत्र, त्रियुगा र सप्तकोशी नदी, सामुदायिक वन, चुरे क्षेत्र, कमल दहलगायत प्रसिद्ध धार्मिकस्थल रहेकाले होमस्टे र सङ्ग्रहालयलाई आयआर्जनको आधार बनाएर सांस्कृतिक हबका रूपमा विकास गर्न खोजिएको बच्चुलाल चौधरी बताउनुहुन्छ ।