अपहरणमा परेका दुई युवकलाई भारतबाट तीन दिनपछि उद्धार

अपहरणमा परेका दुई युवकलाई भारतबाट तीन दिनपछि उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ६ भदौ (रासस) ः अपहरणमा परेका दुई युवकलाई भारतबाट प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले भारतीय प्रहरीको सहयोगमा अपहरणको तीन दिनपछि उद्धार गरेर उनीहरुलाई नेपाल ल्याएको बताइएको छ । उद्धार गरिनेमा हेटौडा उपमहानगरपालिका–९ स्वागत टोलका २३ वर्षीय गोविन्द श्रेष्ठ र २२ वर्षीय पवन राना मगर रहेका छन् । दुबै जनालाई सकुसल उद्धार गरी आज परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार, उनीहरुलाई भदौ ३ गते राति साढे ९ बजे हेटौडा बसपार्कबाट तीन जना भारतीय नागरिकले अपहरण गरेका थिए । अपहरण गरेर उनीहरूलाई भारत लगेको खुलेपछि नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा शनिबार राति भारतको बिहार राज्यको मोतिहारीबाट अपहरण मुक्त गराएको प्रहरीले जनाएको छ । भारतीय प्रहरीले अपहरणमा संलग्न दुई जनालाई दुई थान हतियारसहित नियन्त्रणमा लिएको बताइएको छ ।

प्रहरी नायब उपरीक्षक रिमालले भन्नुभयो, “अपहरण मुक्त भएका दुवै युवक लागुऔषध प्रयोगकर्ता भएको खुलेको छ । अपहरण गर्नेहरु पनि चिनजानेकै हुन् । अपहरण भएको दिन उनीहरु सँगै बसेर कुराकानी भएको देखिएको छ ।” उहाँका अनुसार अपहरणकारीले उनीहरुसँग प्रतिव्यक्ति रु पाँच लाख भारतीय रुपैयाँ फिरौती माग गरेका थिए । फिरौती नपाए मिर्गाैला बेचिदिने भन्दै यातनासमेत दिने गरेको पाइएको प्रहरीले जनाएको छ । भारतीय प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा उनीहरुको उद्धार गरिएको उहाँको भनाइ छ । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि – दश महिने शिशु अपहरण गरी बेपत्ता पारेका अभियोगमा पक्राउ

कर्णाली, ६ भदौ (रासस) : जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–३ का २५ वर्षीय दानबहादुर रोकाय रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार यहाँस्थित एयरपोर्ट चोकबाट उनलाई पक्राउ गरेको हो । जिप्रका निरीक्षक कनकबहादुर शाहीले रोकायले शिशुलाई आफूले लिएको स्वीकार गरिसकेको जानकारी दिनुभयो । अपहरित शिशु भने अपरिचित मानिसलाई दिएकाले अहिले आफूसँग नभएको बयान उनीले दिएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।

जिप्रका जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जुम्ला हिमा–३ का १९ वर्षीया किशोरीले यही भदौ ३ गते रातिदेखि शिशु हराएको भनेर निवदेन दिएको जानकारी दिनुभयो । “घटना निकै गम्भीर र संवेदनशील छ”, उहाँले भन्नुभयो, “अनुसन्धानका क्रममा भएकाले अहिले नै यो हो भन्न सकिन्न । हामीले विभिन्न दृष्टिकोणबाट अनुसन्धान गरिरहेका छौँ ।”

नाटकीय ढङ्गबाट बच्चाको अपहरण

रोकायको अवैध सम्पर्कबाट शिशु जन्मेको बताइएको छ । किशोरीले गत कात्तिक महिनामा शिशुलाई जन्म दिएकी थिइन् । पीडित किशोरीका बुवा शक्तिबहादुर कठायतका अनुसार किशोरीले यस वर्ष राहदेव मावि मोफ्लाबाट माध्यमिक शिक्षा परीक्षा दिएकी थिइन् । उहाँले भन्नुभयो“ छोरीलाई गाउँपालिकामा तालिम दिन्छु भनेर झक्याएर दानबहादुरले जबर्जस्ती सम्बन्ध राख्यो । शिशु जन्मेपछि अपहरण समेत ग¥यो । न्याय माग्न जिल्ला प्रहरी कार्यालय जुम्ला पुगेका छौँ ।”

किशोरीले भन्नुभयो, “यही भदौ ३ गते घर नजिकै पसलमा बसिरहेको थिए । राति ९ः०० बजेतिर दानबहादुर त्यहाँ आएर मलाई भन्यो, “तिम्रो आमालेले बोलाउनुभएको छ । मैले आमाले किन बोलाउनुभयो भनेर हतपत्त शिशुलाई पसलकै ओछ्यानमा राखेर हिँडे । ऊ (दानबहादुर) मसँग आएन । पछि आमाले नातिलाई किन छोडेर आइस्, छिटो यही लिएर आइज भनेर म पसल जाँदा शिशु त्यहाँ देखिन । शिशु हराएपछि करायौँ । स्थानीय प्रहरीलाई गुहा¥यौँं । अहिलेसम्म शिशु भेटिएको छैन ।”

किशोरीले रोकायले नाटकीय तवरबाट आफ्नो शिशुलाई अपहरण गरेको आरोप रोकायमाथि लगाएकी छिन् । उहाँले भन्नुभयो , “मलाई झुक्याएर नाटकीय ढङ्गले शिशुको अपहरण गरियो ।”

किशोरीले दोषीमाथि कारवाही गरी आफ्नो शिशु सम्पर्कमा ल्याइदिन र आफूलाई न्याय दिन सरकारसँग आग्रह गरेकी छिन् । आरोपित युवा पक्राउ परिसकेकाले थप अनुसन्धानका लागि आज सम्बन्धित जुम्ला पठाइने सुर्खेत प्रहरीले जनाएको छ ।